१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ श्रावण २१ बुधबार १५:१८:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हिले–लेगुवा सडकखण्ड बेहाल अवस्थामा, ठेकेदारको लापरबाहीले यस्तो भएको स्थानीयको आरोप

Read Time : > 1 मिनेट
२०७७ श्रावण २१ बुधबार १५:१८:००

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत हिले–लेगुवा सडकखण्ड निर्माण कार्य निर्माण व्यवसायीको लापरबाहीको कारण ढिलो भएको जनाइएको छ ।

पाख्रिबासबाट निर्वाचित भएका स्थानीय जनप्रतिनिधिहरूसहितको भेलामार्फत पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभाका सदस्य राजेन्द्र राईले निर्माण कम्पनीको चरम लापरबाहीका कारण सडक निर्माण कार्य ढिलो भई नागरिकहरूले दुःख पाएको बताएका छन् ।

उनले पटक–पटक सडक निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीसँग काम छिटो सक्न छलफलमा बसेको भए पनि काम नभएको र ठेकेदार भागेको भन्दै अब यो टेन्डर तोडेर अर्को टेन्डर आह्वानको विकल्प नरहेको पनि सांसद राईले बताए ।

जिल्ला समन्वय समितिका संयोजक टंकबहादुर चुवानले जनताको आधारभूत सेवा लिन पाउने अधिकारलाई राज्यले प्रत्याभूत हुने गरी सेवा दिनुपर्ने बताए । 

कामको जिम्मा लिएका संस्था वा व्यक्तिले कानुनअनुसार काम गर्नुपर्ने र यदि नभए राज्यले कारबाही गर्ने बताए ।

यता पाख्रिबास नगरपालिकाका प्रमुख वृषबहादुर राईले आफूहरूले पटक–पटक सडक निर्माणको काम सक्न पहल गरे पनि काम नभएर जनताले सास्ती  खेप्नुपरेको भन्दै विधि र प्रक्रिया पुऱ्याएर अर्को टेन्डर आह्वान गर्न आवश्यक रहेको बताए । 

अहिले नगरले यो सडक निर्माणको जिम्मा पाएको कम्पनीसँग व्याकुलोडर नभएको हुँदा नगरले उपलब्ध गराएर सहयोग गरिरहेको पनि बताए । 

हिले–पञ्चे र पञ्चे–लेगुवा २६ किलोमिटर सडक निर्माणको काम कञ्चनजंघा कन्स्ट्रक्सन र निर्माण व्यवसायी रौताहा सन्तोषी बिरुवाले २०७५ साल फागुन २२ मा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । 

उक्त सडकको काम अहिलेसम्म ६५ प्रतिशत मात्र भएको जनाइएको छ । 

उक्त सडकको हिले–पञ्चे १३ किलोमिटर निर्माणका लागि ३८ करोड २३ लाख रुपैयाँ र पञ्चे–लेगुवा १३ किलोमिटर लागि ३८ करोड २ लाख रुपैयाँमा सम्झौता भएको भए पनि ती निर्माण कम्पनीले अहिलेसम्म क्रमशः २८ करोड २८ लाख रुपैयाँ र १८ करोड ६७ लाख भुक्तानी लिइसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

निर्माण सम्पन्न नहुँदा हिलाम्मे सडकका कारण हिले–पाख्रिबास सडक करिब पाँच किलोमिटर सडक पार गर्न पनि घन्टाैँ लाग्ने गरेको ड्राइभरहरूले जनाएका छन् ।