मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २१ बुधबार १४:०५:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

खेलकुद क्षेत्र लयमा फर्कने प्रयासमा : टेबलटेनिसको अभ्यास थालियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २१ बुधबार १४:०५:००

सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै अहिले खेलकुद गतिविधि बिस्तारै लयमा फर्कन थालेको छ । 

विश्वकप फुटबल छनोटका लागि खेलाडीलाई क्वारेन्टाइनमा राखिसकिएको छ भने ब्याडमिन्टनले तोकिएको मापदण्डलाई पूरा गरेर निरन्तर अभ्यास गरिरहेको छ । 

बुधबारबाट टेबलटेनिसले पनि समूहसमूहमा खेलाडीलाई अभ्यास गराउन थालेको छ ।

करिब चार महिना लामो लकडाउनका कारण घरेलु अभ्यासमा खुम्चिएका टेबलटेनिस खेलाडी बुधबारबाट अभ्यासमा फर्किएका छन् । 

कोरोना महामारीका कारण गत चैत ११ गतेबाट जारी भएको लकडाउनका कारण सम्पूर्ण खेलकुद गतिविधिहरू ठप्प भएका थिए । 

बुधबारबाट लैनचैरस्थित टेबलटेनिस कोर्टमा टेबलटेनिसको अभ्यास सुरु भएको छ । 

नेपाल टेबलटेनिस संघले खेलाडीलाई समूहसमूहमा विभाजन गरी अभ्यास थालेको नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले बताए । 

अहिले १६ जना खेलाडीका लागि अभ्यास सुरु गरिएको उनले बताए । 

बुधबारबाट सुचारु भएको अभ्यासमा पहिलो दिन थोरै मात्र खेलाडी अभ्यासमा देखिएका थिए । 

यद्यपि उपस्थित खेलाडी खुसी देखिए । फिटनेस र अभ्यासको आवश्यकता ठानेका खेलाडी, संघले गरेको निर्णयमा खुसी त छँदै छन् संघले चालेको कदममा उत्साहित पनि थिए । 

विश्व नै कोरोनासँग जुधिरहेका वेला स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खेलाडी अभ्यासमा फर्किन पाउँदा खुसी देखिन्थे ।

लामो समयपछि फेरि अभ्यासमा फर्कन पाउँदा खुसी लागेको खेलाडी सोनु थापामगरले बताए । 

खेलकुद क्षेत्र ठप्पप्रायः भइरहेको अवस्थामा नेपाल टेबलटेनिस संघले खेलाडीलाई अभ्यासमा बोलाएको पहिलो दिन केही खेलाडीले अभ्यास गरेका थिए । 

महामारीले नराम्रोसँग असर पारेको खेलकुदमा सावधानी अपनाउँदै खेलाडीलाई प्रशिक्षण सुरु गरिएको टेबलटेनिस संघका मुख्य प्रशिक्षक सञ्जीव ढुंगेलले बताए । 

राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएका आवश्यक स्वास्थ्य सामग्रीको सहयोगमा खेलाडीहरूको ज्वराे नाप्ने, स्यानिटाइजर प्रयोग गरेर अहिले केही सीमित खेलाडीका लागि अभ्यास सुरु भएको उनले बताए । 

ब्याडमिन्टन, कराते, फुटबलबाहेक अन्य खेलले अहिलेको अवस्थामा अभ्यास थाल्ने शुभसाइत कुरिरहेका छन् । 

क्रिकेटका केही खेलाडीले आफूअनुकूल कीर्तिपुरमा अभ्यास गरिरहेका छन् भने केही समूहगतका खेलले भदौ पहिलो साताको समय पर्खिरहेका छन् । 

तर, काठमाडौं उपत्यकामा पछिल्ला दिनयता बढेको संक्रमणले थप अन्योल भने थपेको छ ।