१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
श्रवण थापा सर्लाही
२०७७ श्रावण २१ बुधबार १३:२६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

हावाहुरीसहितको वर्षाका कारण जिल्लामा विद्युत् सेवा ठप्प

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ श्रावण २१ बुधबार १३:२६:००

मंगलबार राति आएको हावाहुरीसहितको पानीका कारण जिल्लाको सम्पूर्ण विद्युत् सेवा अवरुद्ध भएको छ । 

राति हावाहुरीसहित परेको पानीले ठाउँठाउँमा रूख ढलेका कारण मुख्य लाइन नै बन्द भएको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधीरकुमार रायले बताए ।

सर्लाहीमा ल्याइएको ३३ हजार केभीको प्रसारणलाइनमा रूख ढलेको कारण मर्मतको काम भइरहेको प्रमुख रायले बताए । 

‘रौतहटस्थित सवस्टेसनबाट लामो जंगलको बाटो हुँदै विद्युत् ल्याइएको छ,’ उनले भने, ‘राति आएको हावाहुरी र पानीले ठाउँठाउँमा रूख तारमा परेकोले विद्युत् अवरुद्ध भएको हो ।’

रातिदेखि नै मर्मतको लागि प्राविधिकहरू खटिसकेकाे जिल्ला विद्युत् प्राधिकरण मलंगवाले जनाएको छ । 

हावाहुरीले धेरै स्थानमा क्षति गरेकोले मर्मतका लागि समय लाग्न सक्ने प्राधिकरण शाखा कार्यलय बरहथवाले जनाएको छ । 

कमजोर संरचना र कम क्षमताको विद्युत् प्रसारण लाइनका कारण जिल्लामा सामान्य हावा तथा पानीको कारणसमेत लामो समय विद्युत् अवरुद्ध हुने गरेको छ । 

मंगलबारबाट तराईको जिल्लामा बढेको तापक्रमका कारण आकुल– व्याकुल बनेका जिल्लावासी विद्युत् अवरुद्ध बनेपछि थप समस्यामा परेका छन् । 

जिल्लामा गएरातिबाट विद्युत् बन्द भएपछि ठाउँठाउँमा मोबाइल फोनको नेटवर्कमा समेत समस्या आउन थालेको छ । 

रिपिटर टावरहरूमा रहेका ब्याट्री ब्याकअप नभएको र चार्जको लागि लाइनसमेत नभएका कारण मोबाइल फोनमा नेटवर्क नआउने, आए पनि स्पष्ट कुरा हुन नसक्ने समस्या देखिएको नेपाल टेलिकम मलंगवा कार्यलयले जनाएको छ ।

विद्युत अवरुद्ध भएका कारण मोबाइल फोन चार्ज गर्नसमेत नपाएका सर्लाहीको बागमती नगरपालिका–११ निवासी रमेश काफ्लेले बताए । 

आफन्तसँग फोन सम्पर्क गर्नसमेत  समस्या भएको काफ्लेले गुनासो गरे । 

जिल्लामा सामान्य समयमा समेत अनधिकृत रूपमा विद्युत् कटौती हुने तथा पटकपटक विद्युत् आउने–जाने गर्ने गरेको कारण जिल्लावासी आजित भएका छन् । 

यसरी छिनछिनमा विद्युत् आउने–जाने गरेका कारण अनलाइन कक्षा लिने गरेका विद्यार्थीहरू ठूलो मारमा परेका छन् ।