मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ १८ शुक्रबार ०६:२८:००
Read Time : < 1 मिनेट
खेलकुद

सन्दीप जोरा टी–२० मा अर्धशतक बनाउने संसारकै कान्छा ब्याट्सम्यान

नेपाली क्रिकेटरको अर्को विश्वकीर्तिमान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १८ शुक्रबार ०६:२८:००

नेपालका युवा खेलाडी सन्दीप जोराले टी–२० मा अर्धशतक बनाउने विश्वकै कान्छा ब्याट्सम्यानको रेकर्ड बनाएका छन् । उनले टी–२० डेब्युमै विश्वकीर्तिमान कायम गरेका हुन् । यसअघि यो कीर्तिमान क्यानडाका हिरल पटेलको नाममा थियो । 

बिहीबार युएईविरुद्धको पहिलो टी–२० मा सन्दीपले ५३ रनको नटआउट इनिङ खेले । उनले १७ वर्ष १ सय ३ दिन उमेरमा अर्धशतक बनाए । उनले दुबईस्थित आइसिसी एकेडेमी मैदानमा ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरे । सन् २०१० मा आयरल्यान्डविरुद्ध अर्धशतकीय विश्वकीर्तिमान बनाउँदा हिरल १८ वर्ष १ सय ७७ दिनका थिए । 

डेब्युमै अर्धशतक बनाउनेमा भने सन्दीप विश्वको २०औँ ब्याट्सम्यानको सूचीमा परेका छन् । व्यक्तिगत धेरै रन बनाउने सूचीको १९औँ स्थानमा रहे । सन्दीपको अर्धशतकीय इनिङका बाबजुद नेपाल पहिलो खेलमा २१ रनले पराजित भयो । 

धनगढी स्थायी घर भएका सन्दीपले यू–१९ उमेर समूहबाट राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । उनले यू–१९ राष्ट्रिय टोलीबाट आधिकारिक रूपमा तीन खेल खेलेका छन् । उमेर समूहमा भने उनले यू–१९ एसिया कपमा युएईविरुद्ध डेब्यु गरेका थिए । सो खेलमा ७४ बलमा ६ चौका र दुई छक्काको मद्दतमा ६७ रनको योगदान दिएका थिए । 

घरेलु टी–२० लिगमा प्रभाव जमाएका सन्दीप तेस्रो संस्करणको धनगढी प्रिमियर लिगकै महँगा खेलाडीमध्ये पर्छन् । उनलाई सिवाइसी अत्तरियाले दुई लाख ३० हजारमा अनुबन्ध गरेको छ ।