१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ श्रावण २१ बुधबार १२:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१३ घन्टामा प्रहरीबाट उद्धार युवतीको कथा : उर्लँदो भेलले बगायो, तर डुबाएन 

Read Time : > 1 मिनेट
२०७७ श्रावण २१ बुधबार १२:४९:००

भरतपुर– ४ रामघाटको नारायणीनदी बीचको भागमा एक युवती निकै चर्को स्वरमा चिच्याइरहेकी थिइन् । मलाई बचाऊ, मलाई बचाऊ। उनको चिच्याहट सुनरे मर्निङवाकमा हिँडेकाहरू एकैछिन रोकिए । आवाज आएको ठाउँतिर आँखा तन्काए । उर्लंदो नारायणीनदीको टापुमा पहेँलो लुगा लगाएकी युवती देखिइन् । 

टापुको वरपर दुवैतर्फ ठूलो भेल बगिरहेकै थियो । तत्काल वडा प्रहरी कार्यालय नारायणगढमा खबर भयो । प्रहरीले डुंगा लिएर गयो । नदीको बीचभाग टापु (जहाँ बालुवा थुप्रेको छ) त्यहीँबाट ती २२ वर्षीया युवतीको उद्धार भयो । 

उद्वार गरिएकी महिला अरू कोही नभएर सोमबार साँझ ६:३० बजे नारायणी पुलबाट हामफाल्ने भएकाे उनको सकुशल उद्धारपछि प्रहरीले युवतीसँग बयान लिने क्रममा खुल्याे ।  

यो अपत्यारिलो घटना थियो । पुलबाट हामफालेका मानिसहरू तत्काल प्रहरी वा स्थानीयले उद्धार गरेकाबाहेक कोही पनि जीवित भेटिएका छैनन् । तर, यी युवती त्यस्तो पात्र हुन् जो हामफालेको ठाउँबाट ३ किलोमिटर तल भरतपुर– ४ रामघाटमा सकुशल नदीको बीचभाग (टापु)मा उत्रिइन् ।

प्रहरीसँगको कुराकानीमा उनले आफूलाई पौडनसमेत नआउने बताएकी छिन् । केही तलसम्म पनि नदीले नडुबाएपछि ज्यानको माया लाग्यो र अनि हातखुटा चालेर उत्रने प्रयास गर्दा धेरै तल टापु भएको ठाउँमा पुगेको भनी युवतीले प्रहरीकोमा जानकारी गराएकी छिन् । उनले जामाजस्तो लुगा लगाएकी थिइन् । पातलो ज्यानकी ती युवतीलाई पोलिस्टरको कपडा भएकाले पानीमा तैरन सहज भएको प्रहरीको बुझाइ छ ।

मंगलबार परिवारकै जिम्मामा उनलाई पठाइएको छ । व्यक्तिको गोपनीयताका कारण नाम भने सार्वजनिक गरिएको छैन । ती युवती श्रीमानको साथमा सोमबार नारायणगढ बजार आएकी थिइन् । साँझ ६ बजेको समयमा उनीहरू घरतर्फ फर्किए । उनले नारायणी पुलमा पुगेपछि श्रीमानलाई अघि लगाइन् । श्रीमान् अघिअघि उनी पछिपछि हिँड्दै थिइन् । 

त्यत्तिकैमा कसैले ऊ मान्छे हामफाल्यो भनेर चिच्याए । फर्केर हेर्दा आफ्नै श्रीमती भएको थाहा पाएपछि श्रीमान अत्तालिए । उनले तत्कालै गैँडाकोट प्रहरीमा खबर गरे । झमक्क साँझ परिसकेको थियो । अँध्यारोमा नभेटिएला भन्ने ठानेर खोजीमा चासो भएन । 

नारायणीबाट हामफालेर आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा छ । केही दिनअघि एक युवतीको जिउँदै उद्धार भएको थियो । यस ठाउँबाट हाम फालेर हुने आत्महत्या रोकथामका लागि छलफल पनि भएको छ, तर काम हुन सकेको छैन ।