मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २१ बुधबार ११:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अघि बढे सहयोगी हात : अशक्त मञ्जुको जीवनमा पलायो आशाको दियो

Read Time : > 1 मिनेट
२०७७ श्रावण २१ बुधबार ११:४३:००

अशक्त मञ्जुकुमारी ठाकुरको जीवनमा आशाको दियो बलेको छ । 

दुवै खुट्टा नचलेर विगत चार वर्षदेखि ओछ्यानमै ढलेकी मञ्जुको समाचार विभिन्न सञ्चारमाध्यममा आएपछि उनका लागि सहयोगको ढोका खोल्ने माध्यम बन्यो । 

उनको नचल्ने दुवै खुट्टाको उपचारका लागि झापाको बिर्तामोडस्थित बिएमसी अस्पतालले सहयोगी हात अगाडि बढाएको छ भने राधा माधव समिति नेपालले उनलाई पछि थप सहयोग गर्ने प्रतिबद्धतासहित केही महिना खान पुग्ने खाद्यान्न र ह्विलचेयरको समेत जोहो गरिदिएको छ ।

बिएमसी अस्पताल लग्नुपूर्व मञ्जुको पिसिआर जाँच गर्न ओरेक नेपालको पहलमा जिल्ला स्वास्थ्य कार्यालयको स्वाब संकलन टोली उनको घरमै मंगलबार पुगेको थियो भने सोही वेला राधा माधव समिति नेपालका प्रदेश संयोजक माधवप्रसाद दाहाल र उनका पदाधिकारीहरू तथा एसएसपी किशोरकुमार दाहालसमेतले मञ्जुलाई भेटेर उनको शीघ्र स्वास्थ्यलाभका कामना गरेका थिए । 

उक्त समिति मञ्जुको उपचारमै समेत सहयोग गर्न आइपुगेकोमा पहिले नै बिएमसी अस्पतालले प्रतिबद्धता जनाइसकेको थियो । 

मञ्जुको पिसिआर रिपोर्ट आउनासाथ ओरेक नेपालकी जिल्ला कार्यक्रम अधिकृत लीला दियालीले ओरेककै यातायात खर्चमा उनलाई अस्पताल पुऱ्याउने छिन् ।

को हुन मञ्जु
जलेश्वर नगरपालिका– १२ नैन्ही घर भएकी मञ्जु चार वर्ष पहिले गाउँकै विद्यालयमा कक्षा ६ मा पढ्थिन् । 

साथीसंगीहरूसँग विद्यालय जाने, घर आएपछि आमालाई सहयोग गर्ने र बाँकी समय खेल्ने उनको दैनिकी थियो । 

बुबाले दुईवटा बिहे गरेर अधिकांश समय कान्छी आमासँग अर्कै घरमा बिताउने र मञ्जु तथा उनको दाजुसमेतको हेरचाहमा ध्यान नदिँदा मञ्जु आमाकै प्रिय थिइन् ।

तर अकस्मात् उनको जीवनमा दुःखको पहाड खस्न पुग्यो । 

दीपावलीको समयमा घर लिप्न आमालाई सहयोग हुन्छ भनेर साथीहरूसँग माटो ल्याउन घरबाहिर गइन्, तर माटो निकाल्ने क्रममा ढिस्को नै उनीमाथि खस्यो । 

माटोमा दबिएकी मञ्जुलाई स्थानीयले जसोतसो निकालेर ज्यान जोगाइदिए, तर उनको त्यही वेलादेखि दुवै खुट्टा नै नचल्ने भए । 

बुबाले समेतले बेवास्ता गर्दै मञ्जुको उपचार नगराई घरमै थन्क्याइदिए । त्यही वेलादेखि थलिएकी मञ्जु अझै ओछ्यानबाट उठ्न सकेकी छैनन् ।

मञ्जु भन्छिन्, ‘म उठ्न चाहन्छु, आफ्नै खुट्टामा हिँड्न चाहन्छु, दाजु–भाउजूको बच्चालाई खेलाउन चाहन्छु, तर म अशक्त भएँ, बरु मरेको भए यो दुःख हुने थिएन । तर मर्न पनि सकिनँ र बाँच्न पनि सकिनँ । पढ्ने इच्छा हुँदाहुँदै पढ्न त यस्तो हालतमा झनै सकिनँ ।’ 

मंगलबार उनको पिसिआर परीक्षणको साथै उनलाई प्रहरीको एसएसपीजस्तो ठूलो अधिकारी र खाद्यान्न ल्याइदिएको संस्था पुग्दा रहरलाग्दो आँखाले हेर्दैै थिइन् । 

अब उनमा आशा पलाएको छ  । पहिलाकै जस्तै चुस्तदुरुस्त शारीरिक अवस्था नभए पनि अहिलेको अवस्थामा सुधार आउनेमा उनी आशावादी छिन् ।