मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २१ बुधबार ०९:२९:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मोटोपनाको समस्या र समाधान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २१ बुधबार ०९:२९:००

लामो समयसम्म लकडाउनका कारण निष्क्रिय भएर बस्दा मानिसमा मोटोपना बढिरहेको तथ्यांक सार्वजनिक हुन थालेको छ । लकडाउनका कारण बढ्दै गएको बेरोजगारीका कारण हुने आर्थिक समस्या र यसले जीवनशैलीमा पार्ने प्रभावले स्वास्थ्यमा समस्या निम्त्याइरहेको छ ।

सामान्य जीवनशैली अपनाइरहेका व्यक्तिमा मोटोपनाजस्ता समस्या बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मोटोपना प्रत्येक दशक विश्वव्यापी रूपमा तीन गुणा बढिरहेको छ । वयष्कहरूमा अत्यधिक तौल बढ्दै जानुले शरीरमा बोसो जम्मा हुने गर्छ, जुन विभिन्न स्वास्थ्य समस्याको कारक बन्ने गर्छ । 

विश्व स्वास्थ्य संगठनको एक रिपोर्टअनुसार सन् २०१६ मा विश्वभरिमा १ दशमलव ९ विलियन व्यक्तिमा बढी तौलको समस्या थियो । ६ सय ५० मिलियन मानिसमा गम्भीर खालको मोटोपनाको समस्या थियो । पछिल्लो समय विश्वमा मोटोपनाका कारण मर्नेको संख्या प्रत्येक वर्ष वृद्धि भइरहेको पाइन्छ । जबकि २०१९ मा सार्वजनिक गरिएको तथ्यांकअनुसार पाँच वर्षमुनिका करिब ३८ मिलियन बालबालिका मोटोपनाको समस्या झेलिरहेका छन् । मोटोपनाको समस्या अझै बढ्ने अनुमान गरिएको छ ।

सामान्यतः व्यायाम, जिम र अन्य तौल सन्तुलनमा राख्न आवश्यक शारीरिक क्रियाकलाप लामो समय ठप्प रहँदा मोटोपनाको समस्या बढेको पाइएको छ । स्वस्थ रहन उचाइसँग तौल मेल खान आवश्यक हुन्छ ।

मोटोपनाको समस्या बढ्दै जाँदा हृदयरोग, मधुमेहजस्ता दीर्घरोगको जोखिम बढेर जान्छ । मोटोपनाको समस्या भएका बिरामीमा अन्य रोगको जोखिम बढी हुने भएकाले सामान्य स्वास्थ्य समस्या व्यवस्थापन पनि चुनौतीपूर्ण हुने गर्छ । लकडाउनले निम्त्याएको शारीरिक निष्क्रियताले शरीरमा मेटाबोलिजमको मात्रा बढाउँछ ।

यो समयमा स्वस्थ व्यक्तिमा समेत मोटोपनाको जोखिम तुलनात्मक रूपमा बढी हुन्छ । डब्लुएचओका अनुसार खानपानबाट उत्पादित क्यालोरी ऊर्जामा खपत नहुनु मोटोपनाको प्राथमिक कारक हो । सहरी जीवनशैली र फ्याट, चिनीयुक्त खानपानको अत्यधिक प्रयोग र शारीरिक व्यायामको कमीका कारण मोटोपनाको समस्या देखिने गर्छ ।

कसरी नियन्त्रण गर्ने ?

संक्रामक रोग र दीर्घकालीन रोगबाट बच्न सन्तुलित आहार अति आवश्यक हुन्छ । सन्तुलित खानपानले प्रतिरोधी क्षमता बढाउनुका साथै तौल व्यवस्थापनसमेत गर्छ । आवश्यक मात्रामा भिटामिन, फाइबर, प्रोटिन र एन्टिअक्सिडेन्टयुक्त खाद्यवस्तु खानपानमा समावेश गर्नुपर्छ । शरीरलाई हाइड्रेट राख्नुपर्छ । शरीरलाई दैनिक कम्तीमा तीन लिटर पानी आवश्यक हुन्छ ।

मानसिक स्वास्थ्यसमेत शारीरिक समस्याको कारक हुने गर्छ । तसर्थ, सकारात्मक सोचको विकास गर्नुपर्छ । मस्तिष्क सक्रिय राख्न पनि व्यस्त रहन आवश्यक छ । खुला ठाउँमा काम गर्नुको विकल्प नहँुदा घरमै बसेर पनि सामान्य एक्सरसाइज गर्नुपर्छ । घरमै बस्दा कम्तीमा आधा घन्टा व्यायाम गर्नुपर्छ । स्वास्थ्यविज्ञहरूले योगलाई व्यायामको विकल्पको रूपमा हेर्ने गरेका छन् ।