१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण २१ बुधबार ०९:०३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

स्क्रब टाइफसलाई बेवास्ता नगरौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण २१ बुधबार ०९:०३:००

केही समययता स्क्रब टाइफसका विरामी अस्पताल आउन थालेका छन् । सामान्यतः साउन र भदौमा स्क्रब टाइफस देखिने गर्छ । यसको लक्षण कोभिडसँग मिल्ने भएकाले धेरै मानिसले यस्ता भाइरस इन्फेक्सनबारे बेवास्ता गरिरहेको पाइन्छ । वर्षायाममा ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता भाइरल संक्रमणका लक्षण देखिन्छन् । यस्ता लक्षण कोभिडको हो कि भनेर शंका गर्ने गरेका छन् । तर स्क्रब टाइफसले सिभियर निमोनिया जस्ता जटिल समस्या निम्त्याउने भएकाले समयमै उपचार गर्नु आवश्यक हुन्छ । 

स्क्रब टाइफस चिगर माइटको टोकाइबाट हुने गर्छ । चिगर माइटमा हुने ‘ओरेन्टिया सुसुगामोसी’ नामक ब्याक्टेरिया मानव शरीरमा प्रवेश गरेपछि संक्रमण हुने गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार एसियामा स्क्रब टाइफसका कारण हुने मृत्युदर करिब ३० प्रतिशत हुने गरेको पाइन्छ, जुन पछिल्लो समय महामारीको रूपमा फैलिएको कोभिडको मृत्युदरभन्दा धेरै गुणा बढी हो । 

चिगर माइटको टोकाइबाट घाउ हुने गर्छ, जुन विशेषगरी हात र खुट्टाको औलाको बीचमा हुन्छ । यसको संक्रमणपछि विस्तारै ज्वरो आउने, टाउको दुख्ने, मांशपेसी दुख्ने, श्वासप्रश्वासमा समस्या आउने र निमोनिया हुने जस्ता लक्षण देखिन्छन् । समयमै उपचार नगरेमा ग्रन्थीहरू सुन्निने, मानसिक परिवर्तन आउने, भ्रम हुने जस्ता गम्भीर समस्या देखिने र मृत्यु हुने जोखिम रहन्छ । स्क्रब टाइफस ग्रामीण क्षेत्रमा बढी फैलिन्छ । 

रोकथाम र उपचार

स्क्रब टाइफसका लक्षण अन्य भाइरल संक्रमणसँग मिल्ने भएकाले यस्ता लक्षण देखिएमा समयमै चेकजाँच गर्नुपर्ने हुन्छ । सबै व्यक्तिमा टोकाइको घाउ नहुने वा याद नरहने भएकाले कोभिड र स्क्रब टाइफसबारे अलमल हुने सम्भावना रहन्छ । तसर्थ, ज्वरो आउने वा टाइफाइड देखिने सबै लक्षण कोभिड नहुन पनि सक्छन् । वर्षायाममा अन्य संक्रमण फैलिने र कोभिडभन्दा झन् जोखिमपूर्ण हुने भएकाले समयमै चेकजाँच गर्नुपर्ने हुन्छ । 

स्क्रब टाइफसको उपचार एन्टिबायोयिटकको प्रयोगबाट गर्न सकिन्छ । उच्च ज्वरो आएका व्यक्तिमा एन्टिबायोटिकको प्रयोगले कम्तीमा ४८ घन्टाभित्र ज्वरो कम गर्न सकिन्छ । यो एन्टिबायोटिक जुनसुकै उमेर समूहमा प्रयोग गर्न मिल्ने भएकाले समयमा उपचारबाट निको पार्न सकिन्छ ।