१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ श्रावण २१ बुधबार ०७:११:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

लेबनानको बेरुतमा शक्तिशाली विस्फोट : कम्तीमा ७० को मृत्यु, चार हजारभन्दा बढी घाइते

Read Time : > 1 मिनेट
२०७७ श्रावण २१ बुधबार ०७:११:००

मंगलबार साँझ लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा ७० जनाको ज्यान गएको छ । विस्फोटमा परी चार हजारभन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ । 

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियाे तथा तस्बिरहरूमा धुवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखाइएकाे छ । त्यहाँका अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्।

राष्ट्रपति मिसेल आउनले आफ्नो ट्विटमा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रूपमा राखिनु नै विस्फोटको कारण रहेकाे बताएका छन् । 

राष्ट्रपति मिसेलले विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको बताएका छन् । अमोनियम नाइट्रेट विस्फोटन हुन सक्ने गुण भएको रासायिक पदार्थ हो।

घाइतेहरूले अस्पताल भरिएका छन् भने कैयौँ भवन ध्वस्त भएका छन्। प्रधानमन्त्री हासान डियाबले उक्त घटनालाई विपत्तिको संज्ञा दिँदै दोषीहरूलाई जवाफदेही बनाइनुपर्ने बताएका छन्। उनले पनि उक्त गोदामबारे चर्चा गरेका छन्, जुन सन् २०१४ देखि त्यहाँ रहेको बताइएको छ। 

स्थानीय सञ्चारमाध्यमहरूले मानिसहरू भग्नावशेषमा च्यापिए धेरैकाे संख्यामा हताहती भएकाे हुन सक्ने आशंका गरेका छन् । ती सञ्चारमाध्यमका अनुसार विस्फोटको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो।

सन् २००५ मा भएको पूर्वप्रधानमन्त्री रफिक हरिरीको हत्याको मुद्दामा फैसला आउनु केही समयअगाडि उक्त विस्फोट भएको बताइएकाे छ । यही शुक्रबार उनको मुद्दामा फैसला हुँदै थियो । राष्ट्रसंघीय न्यायाधीकरणले हरिरीको कारबम हमलामा भएको हत्याको घटनाका चार दाेषीको सुनुवाइपश्चात् फैसला सुनाउन लागेको थियो।

प्रधानमन्त्री हासानले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन् । पछिल्लो समय लेबनानमा राजनीतिक अस्थिरता देखिएको छ। सन् १९७५ देखि ११९० सम्म गृहयुद्ध चलेको थियो। त्यसपछिका दिनमा पनि सरकारले आर्थिक संकट व्यवस्थापन गर्न नसकेको भन्दै सरकारविरोधी विशाल प्रदर्शन हुँदै आएका छन् । 

तस्बिर : बिबिसी डककमबाट