१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नरजन तामाङ काठमाडौं
२०७७ श्रावण २१ बुधबार ०४:०५:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

हिमालतिर उक्लँदै कालाजार, मलेरिया र डेंगु

चुरेफेदीभन्दा तल्लो क्षेत्रमा लाग्ने रोगहरू मानिसको आउजाउ बाक्लिँदा र जलवायु परिवर्तनका कारण पहाड हुँदै हिमालसम्म

Read Time : > 5 मिनेट
२०७७ श्रावण २१ बुधबार ०४:०५:००

– डेंगु, कालाजार, मलेरिया, स्क्रब टाइफसजस्ता रोग कहाँ–कहाँ पुगेका छन् भन्ने अध्ययन आवश्यक भइसकेको विज्ञ बताउँछन् । सरकारले अलग्गै संयन्त्र बनाएर यसमा काम गर्नुपर्ने उनीहरूको सुझाब छ ।

– ‘भेक्टर डिजिजका कारक मानिएका लामखुट्टे र भुसुना बाँच्न सक्ने वातावरण पहाड र हिमालसम्म तयार हुँदै गएको छ । सरकारले तिनलाई तराईमै व्यवस्थापन गर्न सक्नुपर्थ्यो।’

... ...  ... 

हिमाली जिल्ला हुम्लामा ०७५/७६ मा १४ र ०७६/७७ मा आठजनामा मलेरिया देखियो । अदानचुली, सर्केगाड, ताजाकोट र चंखेली गाउँपालिकामा स्थानीय स्तरमै मलेरिया देखिएको हो । किनकि, बिरामी जिल्लाबाहिर गएकै थिएनन् । स्वास्थ्य कार्यालयका फोकल पर्सन भक्ति फडेराका अनुसार काठमाडौं टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली ती गाउँपालिकामा पुगेर स्थलगत अध्ययन गरिसकेको छ । अदानचुलीमा त तीन वर्षअघि एकजनामा कालाजार पुष्टि भएको छ । विगतमा गर्मी क्षेत्रमा मात्र देखिने मलेरिया र कालाजार हिमाली भेगसम्मै पुग्न थालेको यो पछिल्लो उदाहरण हो ।

हुम्लासँग सीमा जोडिएको जुम्लामा पनि गत वैशाख तेस्रो साता मलेरियाका बिरामी फेला परे । चन्दननाथ नगरपालिका–१० बोहरा गाउँका उनको ट्राभल हिस्ट्री भने बर्दियाबाट जुम्ला गएको थियो । ज्वरो नियन्त्रणमा नआएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा जँचाउँदा मलेरिया पुष्टि भयो । जुम्लामा मलेरियाका बिरामी भेटिएको यो पहिलोपटक हो । त्यसयता जुम्लाका २० वटा स्वास्थ्य चौकीमा २५/२५ थान आरडिटी किट वितरण गरेर ज्वरोका बिरामीलाई मलेरिया र कालाजारको दृष्टिबाट पनि परीक्षण गर्न थालिएको छ ।

अनौठो परिवर्तन

जनस्वास्थ्य विज्ञ तथा महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीका अनुसार विगतमा कालाजार समुद्री सतहबाट ६ सय फिटभन्दा माथि देखिँदैनथ्यो । तर, आव ०६८/६९ मा करिब एक हजार तीन सय मिटर उचाइस्थित ओखलढुंगाको मानेभञ्ज्याङमा पहिलोपटक कालाजार देखियो । त्यसपछि नै हो, लामखुट्टे, भुसुनालगायत रोगाणुवाहक किराबाट सर्ने रोग (भेक्टर बर्न डिजिज)हरू माथिल्लो भेगतिर उक्लिन थालेको पुष्टि भएको पनि ।

हाल स्वास्थ्य कार्यालय, सुनसरी प्रमुख रहेका सागर प्रसाईंका अनुसार मानेभञ्ज्याङमा देखिएको कालाजार स्थानीय स्तरकै संक्रमण रहेको अध्ययनबाट पुष्टि भएको छ । ‘कालाजार गराउने भुसुना गाउँमै भेटिएका थिए,’ उनी भन्छन् ।

हुम्लाका सर्केगाड करिब एक हजार ६ सय, अदानचुली करिब दुई हजार, ताजाकोट करिब एक हजार नौ सय र चंखेली करिब एक हजार सात सय मिटर उचाइमा पर्छन् । यस्तै, जुम्लाका मलेरियाका बिरामी करिब दुई हजार पाँच सय मिटर उचाइका बासिन्दा हुन् ।

सोलुखुम्बु र दुई हजार ७७ मिटर उचाइस्थित दोलखाको लामाबगरमा आव ०७१/७२ मा जापानिज इन्सेफ्लाइटिस देखिएको थियो । त्यसयता यी रोगविरुद्ध पहाडी क्षेत्रमा पनि खोप दिएर नियन्त्रण प्रयास थालिएको मरासिनी बताउँछन् ।

डेंगु चुरे फेदीसम्म मात्र हुने रोग मानिँदै आएको थियो । मलेरिया भने एक हजार मिटरसम्म हुन्थ्यो । यस्तै, स्क्रब टाइफस भने मुसा पाइने तीन हजार मिटरसम्ममा हुने गर्छ । यो पनि त्यसभन्दा माथि चढिसकेको चिकित्सकहरूको भनाइ छ ।

त्यसो त, पहाडी भेगमा मलेरिया देखिने लामै इतिहास छ । ०२७ सालमा पहिलोपटक मुगुका तीन सयभन्दा बढीमा मलेरिया देखिएको थियो । कर्णाली नदीवारिपारिका बस्ती मलेरिया प्रभावित बनेका थिए ।

पाँचथरमा जिल्ला स्वास्थ्य प्रमुख छँदा ०६२ मा डा. गुणराज लोहनीलाई पनि मलेरिया भयो । ‘सदरमुकाम फिदिममा पनि मलेरिया हुने गर्छ, जसलाई इन्डेमिक (स्थानीय) भनिन्छ,’ उनी भन्छन्, ‘नदीकिनारका बस्तीमा मलेरिया लाग्छ ।’ हाल स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख रहेका डा. लोहनीको भनाइमा जलवायु परिवर्तन र सहरीकरणका कारण यस्ता रोग पहाड र हिमाली भेगतिर देखिन थालेका हुन् । उनका अनुसार गोरखामा पनि दरौँदी नदीकिनारमा मलेरियाका बिरामी भेटिने गर्छन् ।

लामो समय पाँचथरमा बिताएका जनस्वास्थ्य अधिकृत उमेश मेहताका अनुसार पहाडी भेगमा अधिकांश केस ‘इम्पोर्टेड’ हुन् । ‘तराई र भारतबाट आएका मानिसमा मलेरिया देखिने गर्छ,’ उनी भन्छन्, ‘पाँचथरका फिदिम, थर्पुलगायत गर्मी क्षेत्रमा पनि डेंगुका बिरामी भेटिन थालेका छन् ।’

डेंगु, कालाजार, मलेरिया, स्क्रब टाइफसजस्ता रोग कहाँ–कहाँ पुगेका छन् भन्ने अध्ययन आवश्यक भइसकेको मरासिनी बताउँछन् । भन्छन्, ‘सरकारले अलग्गै संयन्त्र बनाएर यसमा काम गर्नुपर्छ ।’ उनको सरकारलाई सुझाब छ– जलवायु परिवर्तनको नाममा विनियोजन हुने बजेट स्वास्थ्य क्षेत्रमा पनि छुट्याऔँ ।

तथ्यांकमा भेक्टर डिजिज

.. ...  ... 

यस्ता छन् लक्षण

डेंगु : लामखुट्टेको टोकाइबाट लाग्नेमध्ये डेंगु सबैभन्दा घातक हो । यो एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । डेंगु भएमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्ने हुन्छ ।

मलेरिया : मलेरिया एनाफिलिज नामक लामखुट्टेबाट सर्छ । मलेरियाको मुख्य कारण ‘प्यारासाइट प्लास्मोडियम’लाई पनि मानिन्छ । पाँच वर्षमुनिका बालबालिका, गर्भवती र दीर्घरोगी मलेरियाको जोखिम समूह हुन् । टाउको दुख्नु, बान्ता आउनु, ज्वरो आउनु यसका प्रमुख लक्षण हुन् ।

कालाजार :कालाजार रोग सार्ने भुसुना माटोको घर भएको स्थानमा राम्ररी हुर्किन्छन् । पोथी भुसुनाले मानिसको रगत चुस्छ र एकअर्कामा सार्छ । कालाजार हल्का ज्वरो, कमजोरी र भोकको कमीले हुन्छ र सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजोको समस्या, छाला कालो हुनु, पेट फुल्नु, कमजोरीका लक्षण देखिन्छन् ।

स्क्रब टाइफस : संक्रमित व्यक्तिलाई अत्यधिक ज्वरो आउने, सास फेर्न गाह्रो हुने, बेस्सरी टाउको दुख्ने, शरीरबाट पसिना आउने, विभिन्न अंगमा स–साना बिमिरा देखिने, हल्का आँखा रातो हुने स्क्रब टाइफसका लक्षण हुन् । पाँचदेखि १४ दिनभित्र यसका लक्षण देखिन्छन् ।

... ...  ... 

सरकारी लक्ष्यलाई चुनौती

तराईबाट पहाड र हिमालतिर सर्दै गर्दा यस्ता रोग निवारण गर्ने सरकारी लक्ष्यमा चुनौती थपिएको छ । मलेरिया सन् २०२२ सम्म शून्यमा झार्ने सरकारी लक्ष्य छ । कालाजार त सन् २०२० अन्तिमसम्ममा निवारण गर्ने लक्ष्य थियो ।

तर, सात महिनायता ३५ जिल्लाका एक सय नौ जनामा कालाजार देखिएको छ । यस्तै, ३७ जिल्लाका एक सय ३२ जनामा डेंगु पुष्टि भएको छ । वर्षदिनयता ४९ जिल्लाका ६ सय २८ जनामा मलेरिया पाइएको छ । भोजपुर, खोटाङ, ओखलढुंगा, काठमाडौं, मकवानपुर, रामेछाप, सिन्धुली, दोलखा, काभ्रे, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, प्युठान, दैलेख, हुम्ला, जुम्ला, कालिकोट, सुर्खेत, अछाम, बैतडी, बाजुरा, डडेल्धुरा र दार्चुलालगायत पहाडी र हिमाली जिल्लासम्म यी रोग फैलिएका छन् ।

भेक्टर बर्न डिजिजहरू आव ०७०/७१ यता हिमाली भेगसम्म पुग्न थालेको सरकारी तथ्यांक छ । हुम्ला, मुगु, डोल्पा, कालिकोटमा ०७०/७१ देखि हो, कालाजार देखिन थालेको । ०७४/७५ यता डेंगु ६८ वटा जिल्लामा पुगेको छ । ‘पहाडी र हिमाली क्षेत्रमा पनि भेक्टर बर्न डिजिजका लागि वातावरण बन्न थालेको छ,’ स्वास्थ्य निर्देशनालय कर्णालीका फोकल पर्सन श्याम आचार्य भन्छन् ।

‘रोजगारीको खोजीमा भारत आउजाउ गर्ने कर्णालीका युवा ती रोगको संवाहक बनेको उनको भनाइ छ । उनका अनुसार कालिकोट, सुर्खेत र दैलेखमा पनि यस वर्ष कालाजारका बिरामी फेला परेका छन् । २० देखि ३० डिग्री तापक्रम कालाजारका लागि उपयुक्त हुने विज्ञहरू बताउँछन् ।

कीटजन्य रोग चिसो क्षेत्रतिर सर्न थाल्नुमा वातावरण प्रदूषण र जलवायु परिवर्तनसँग विज्ञहरूले जोडेर हेरिरहेका छन् । भेक्टर बर्न डिजिजहरू पहाड र हिमालतिर सर्नुमा ती भेगमा बढ्दो वातावरण प्रदूषण पनि कारक रहेको डा. केदारनरसिंह केसी बताउँछन् । भन्छन्, ‘यसको कारक मानिएका लामखुट्टे र भुसुना बाँच्न सक्ने वातावरण तयार हुँदै गएको छ ।’

क्वारेन्टाइनमा मलेरिया

कोभिड–१९ को शंकामा क्वारेन्टाइन र आइसोलेसनमा बसेका ४३ जनामा मलेरिया देखिएको छ । तीमध्ये बाग्लुङका १, स्याङ्जाका २, अछामका २, डोटीका १, डडेल्धुरामा १ र बैतडीमा १ गरी पहाडी जिल्लाका ८ जना छन् । अन्य बिरामी कञ्चनपुर, बाँके र कैलालीका हुन् । ‘कोभिड–१९ सँगै डेंगु, मलेरिया र कालाजारका बिरामी देखिएका छन्,’ सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोला भन्छन् ।

कोभिड–१९ सुरु भएको गत पुसयता कालिकोट, ओखलढुंगा, मुगु, काठमाडौं र हुम्लामा कालाजारका ३३ बिरामी फेला परेका छन् । पुसयता नै काठमाडौं, अछाम र भोजपुरमा डेंगुका नौ बिरामी भेटिएका छन् । एक वर्षयता देशभर भेटिएका मलेरियाका सात सय २४ बिरामीमध्ये अछामका ३४, काठमाडौंका १८, सुर्खेतका १७, कालिकोटका १२, हुम्लाका १०, बाजुराका ११, दैलेखका ८, मुगुका २ र जुम्लाका एकजना छन् ।

कोभिड–१९ सँग मिल्दोजुल्दो स्क्रब टाइफस

स्क्रब टाइफस र कोभिड–१९ का लक्षण मिल्दोजुल्दो छन् । दुवैमा निमोनियाको जटिलता देखिन्छ । चिकित्सकका अनुसार कलेजो, मस्तिष्क र फोक्सो स्क्रब टाइफसको संक्रमण हुन्छ । त्यसैले अहिले चिकित्सकले उच्च ज्वरोका बिरामीलाई स्क्रब टाइफससमेत परीक्षण गराउन थालेका छन् । स्क्रब टाइफसको लक्षण डेंगु, मलेरियासँग पनि मिल्दोजुल्दो हुन्छ ।

यो मुसामा लाग्ने किर्नाजस्तो देखिने माइटको टोकाइबाट मानिसमा सर्छ । ‘ओरेन्सिया सुसुगामुसी’ नामक ब्याक्टेरिया यी किरामा पाइन्छ । ०७६सम्म स्क्रब टाइफस ६३ जिल्लामा पुगेको छ । धादिङ, पाल्पा, रूपन्देही, काठमाडौं, चितवन, गुल्मी, अर्घाखाँची, ललितपुर, मकवानपुरलगायत जिल्लामा यसको संक्रमण बढी छ । यस वर्ष पनि काठमाडौंलगायत जिल्लामा देखिन थालेको चिकित्सकहरू बताउँछन् । सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यसका बिरामी बढी देखिने महिना साउन र भदौ हुन् ।