मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवराज मैनाली काठमाडौं
२०७७ श्रावण २० मंगलबार २०:४८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नक्कली भान्जा खडा गरी मिर्गाैला प्रत्यारोपण : उजुरीकर्ता नै अभियुक्त बने

Read Time : > 2 मिनेट
नवराज मैनाली, काठमाडौं
२०७७ श्रावण २० मंगलबार २०:४८:००

नक्कली भान्जा खडा गरी मिर्गाैला प्रत्यारोपण गरेको घटनामा उजुरकर्ता नै अभियुक्त बनेका छन् । जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नै परिवर्तन गरी ‘पीडित’लाई  नै अभियुक्त बनाएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले मानव शरीरको अंग प्रत्यारोपण ऐन, २०५५ अनुसार सोमबार जिल्ला अदालतमा २० जनालाई मुद्दा दायर गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन मुद्दा चलाउन सिफारिस गरेकोमा सरकारी वकिल कार्यालयले मुद्दा परिवर्तन गरेपछि जाहेरीवाला नै अभियुक्त बनेका हुन् । चिकित्सक, वकिल, प्रहरी तथा वडाध्यक्ष पक्राउ परेको यो घटनामा चिकित्सक, कर्मचारी र वडाध्यक्षलाई मतियारका रूपमा मात्र प्रस्तुत गरिएको छ । 

गत वर्ष जेठमा चितवनको कलेज अफ मेडिकल साइन्समा भएको मिर्गाैला प्रत्यारोपणमा नक्कली नाता गरी मिर्गाैला प्रत्यारोपण भएको खुलेको थियो । प्रहरीले सुरुमा पीडित सन्तोष राईको जाहेरी लिएर घटनाको अनुसन्धान गरेको थियो । अहिले उनलाई नै पक्राउ गरी प्रतिवादी बनाइएको छ । उनले जानी–जानी आफ्नो अंग बिक्री गरेकाले प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरकी जिल्ला न्यायाधिवक्ता मोना सिंहले बताइन् । ‘मिर्गाैलादातालाई झुक्याएको होइन, सबै कुरा थाहा भएर मिर्गाैला बेचेको देखिन्छ, १० लाखमा डिल भएकोमा एक लाख ३३ हजार नपाएपछि उनले उजुरी गरेको देखियो,’ सिंह भन्छिन्, ‘झुक्याएको अवस्था नभएकाले हामीले मुद्दा परिवर्तन गरी उनलाई पनि प्रतिवादी बनाएका हौँ ।’  मानव शरीरको अंग प्रत्यारोपण ऐनअनुसार थोरै मात्र सजाय हुन्छ । मानव बेचबिखनमा १० वर्षसम्म कैद सजाय हुनेमा मानव शरीरको अंग प्रत्यारोपणसम्बन्धी ऐनमा पाँच वर्षसम्म मात्र सजाय हुन्छ । 

सरकारी वकिल कार्यालयको निर्णयमा  मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी असन्तुष्ट छ । पर्याप्त प्रमाण भए पनि दबाबको भरमा मुद्दा परिवर्तन गरिएको स्रोत बताउँछ । यसअघि गत निदान अस्पतालमा यसरी नक्कली नाता खडा गरी भएको घटनामा मानव बेचबिखन मुद्दा नै चलेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले ललितपुरले नै गत वर्ष यस्तै घटनामा मानव बेचबिखन मुद्दा चलाएको थियो । तर, घटनाअनुसार अपराध प्रकृति फरक हुने भएकाले अहिले अर्काे मुद्दा चलाइएको जिल्ला न्यायाधिवक्ता सिंहको भनाइ छ ।  

मिर्गाैलादातालाई पक्राउ गरेपछि मिर्गाैला ग्रहणकर्ता र उनको परिवारलाई भने पक्राउ नगरी फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । ललितपुरमा विष्णुगोपाल बतासको गत वर्ष चितवनको कलेज अफ मेडिकल साइन्समा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । बतास र उनको परिवारका सदस्य फरार छन् । १३ जना भने प्रहरी हिरासतमै छन् । 

प्रत्यारोपणमा संलग्न चिकित्सकहरू राकेशकुमार बर्मा, डा. सुप्रभात श्रेष्ठ र डा. बालकृष्ण   कालाखेती, कानुनी सल्लाहकार रमेश काफ्ले र जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकाल तथा वडा अध्यक्ष श्रीगोपाल महर्जन, जिल्ला प्रशासन कार्यालय  ललितपुरका कार्यालय सहायक राजकुमार केसी तथा पूर्वखरिदार नवराज केसीलाई मतियार बनाइएको छ । 

उनको भान्जा रिजनवीर जोशीको नाममा कागजपत्र बनाएर राईको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । विदेशमा रहेका जोशीलाई समेत मुद्दा दायर गर्न लागिएको छ । चलखेलका आधारमा नाता प्रमाणित गरेको भन्दै ललितपुर महानगरपालिका– ३ का वडाध्यक्ष श्रीगोपाल महर्जनलाई समेत पक्राउ गरिएको छ । यो घटनामा दुई प्रहरी तथा जिल्ला प्रशासन कार्यालय चितवनका अधिकृत रामचन्द्र ढकालसमेत थुनामा छन् । वडाध्यक्ष, चिकित्सक, अस्पतालका कानुनी सल्लाहकार तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई मतियारका रूपमा मात्र अभियोग गरेर मुद्दा दायर गरिएको छ । प्रहरीको अनुसन्धानमा अस्पतालको मिलेमतोसमेत खुलेको थियो । तर, उनीहरूको प्रत्यक्ष मिलेमतो नदेखिएको भन्दै मतियार मात्र बनाइएको छ ।    

यो मुद्दाले मानव अंग बेचबिखनका घटना बढाउन सक्ने प्रहरी अधिकारी बताउँछन् । ‘अब आफैँ फसिन्छ भनेर पीडित कसैले उजुरी दिँदैनन्,’ एक प्रहरी अधिकारी भन्छन्, ‘केही व्यक्तिलाई जोगाउन सरकारी वकिल कार्यालयबाट गलत नजिर राखिएको छ ।’ मानव अंग बेचबिखनमा धेरैजसो आर्थिक समस्यामा परेका व्यक्तिहरूलाई झुक्याएर तथा प्रलोभनमा पारेर अंग निकाल्ने गरिएको छ । उजुरी गर्दा उनीहरूलाई नै अभियुक्त बनाइएपछि उजुरी दिनेहरू निरुत्साहित हुने र अवैध प्रत्यारोपण बढ्ने प्रहरी अधिकारीको चिन्ता छ ।