मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २० मंगलबार १८:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोनाले छेकेन गोसाइँकुण्ड जाने तीर्थालुलाई, एक हजारले गरे दर्शन 

Read Time : < 1 मिनेट
२०७७ श्रावण २० मंगलबार १८:४०:००

विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबीच पनि रसुवाको तीर्थस्थल गोसाइँकुण्ड दर्शनका लागि तीर्थालुहरू गोसाइँकुण्ड पुगेका छन्  । सरकारले लकडाउन हटाए पनि धार्मिक स्थल, मेला, सभा–सम्मेलन, गोष्ठी सञ्चालन भने खुला गरेको छैन । तर, हरेक वर्ष जनैपूर्णिमामा लाग्ने मेला भर्न यस वर्ष पनि तीर्थालुहरू गोसाइँकुण्ड पुगेका हुन् । 

गोसाइँकुण्ड क्षेत्र विकास समितिले यो वर्ष गोसाइँकुण्ड मेला सञ्चालन नगर्ने निर्णय गरेको थियो । तर, धार्मिक आस्थाका अगाडि यो निर्देशन पालना भएन । जिल्ला प्रवेशमा कडाइ, कोरोना संक्रमण जोखिमको बाबजुत पनि तीर्थालुको आवागमन नरोकिएको होटेल तथा पर्यटन व्यवसायी संघ रसुवाका अध्यक्ष निशान गजुरेलले बताए । उनले भने, ‘स्वाभाविक रूपमै विगतका वर्षहरूमा जस्तो तीर्थालु आएनन्, तर लुकिछिपी गोसाइँकुण्ड पुग्ने पनि धेरै छन् ।’ रसुवासहित छिमेकी जिल्लाहरू नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काठमाडौंबाट तीर्थयात्राकै लागि गोसाइँकुण्ड आएको उनले बताए । 

यो वर्ष नागपञ्चमी (९ साउन) देखि १९ साउन (जनैपूर्णिमा) मेला लागेको थियो । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार स्थानीय र बाहिरी जिल्लाको गरी करिब एक हजारले मेला भरेका छन् । तीर्थयात्रीबाट आठ हजार दुई सय ७० रुपैयाँ भेटी संकलन भएको डिएमले बताए । 

गोसाइँकुण्ड क्षेत्र विकास समितिले सामाजिक दूरी कायम गर्न भन्दै दुईजना कर्मचारी, प्राथमिक उपचारका लागि आवश्यक पर्ने औषधिसहित गोसाइँकुण्डमा खटाएको थियो । गोसाइँकुण्ड दर्शनका लागि केही तीर्थालु सवारी पास लिएर पनि आएका थिए । यसैगरी नियमित पूजाआजा गर्न हरेक वर्ष आइरहेका गोरखनाथ बाबाको टोली, शिव तान्त्रिक समूह, सेनाको पुजारी, स्थानीय लामाझाँक्रीलगायत गोसाइँकुण्ड पुगेका थिए । गोसाइँकुण्ड जाने यात्रुहरूको सहजताका लागि मेला अवधिभर घट्टेखोलादेखि गोसाइँकुण्डसम्म १९ वटा होटेल सञ्चालनमा रहेका छन् ।