मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण २० मंगलबार १८:०४:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार र भान्सेमा समेत कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ श्रावण २० मंगलबार १८:०४:००

कैलालीको कैलारी गाउँपालिका– १ स्थित दीपेन्द्र माविको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका तीनजनामा कोरोना संक्रमण देखिएको छ । क्वारेन्टाइनको ल्याबमा काम गर्ने एक स्वास्थ्यकर्मी, खाना पकाउने भान्से र चौकीदारमा समेत कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

कैलारी गाउँपालिकाका स्वास्थ्य संयोजक वीरेन्द्र सापकोटाले तीनैजनाको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरेर स्वाब संकलन गर्न लागिएको बताए । संक्रमित स्वास्थ्यकर्मी घारमा समेत गएको खुलेको छ । उनको सम्पर्कमा केही स्थानीय व्यक्ति पनि आएका बुझिएको सापकोटाले बताए ।

क्वारेन्टाइनको आइसोलेसनमा राखिएका संक्रमित भने निको भएर घर फर्किसकेका छन् । तर, कार्यरत कर्मचारी परीक्षण गर्दा तीनजनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितलाई दीपेन्द्र माविकै आइसोलेसनमा राखिएको स्वास्थ्य संयोजक सापकोटाले जानकारी दिए । 

कैलारी गाउँपालिकामा मंगलबार सातजनामा कोरोना सङ्क्रमण पुष्टि उनले बताए । संक्रमितमध्ये चारजनाको ‘ट्राभल हिस्ट्री’ अन्यत्र काम गरेर आएको बुझिएको छ । कैलालीमा मंगलबार मात्रै २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलारीका सात र गोदावरी नगरपालिकाका १४ जनामा संक्रमण पुष्टि भएको हो । गोदावरीमा आठमहिने शिशु, पाँच वर्षका दुई र सात वर्षका एकजनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । 

योसँगै कैलालीमा संक्रमितको संख्या एक हजार दुई सय ९३ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कैलाली देशभरमै सबैभन्दा बढी संक्रमित देखिएको जिल्लामध्ये पर्छ । धनगढी र अत्तरियामा केही दिनयता संक्रमण तीव्र बनेको छ ।