मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस काठमाडौँ
२०७७ श्रावण २० मंगलबार ०७:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज गाईजात्रा पर्व मनाइँदै, भिडभाड कम गर्न सरकारकाे आह्वान    

Read Time : > 1 मिनेट
रासस काठमाडौँ
२०७७ श्रावण २० मंगलबार ०७:४९:००

गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदै छ । आजका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।     
     
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।     
     
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भिडभाड कम गर्न सरकारले आह्वान गरेको छ । कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ ।     
     
भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।     
     
गाईजात्रामा विकृतिविरुद्ध हास्यव्यङ्ग्य     
     
व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै वि.सं. २०१७ पुस १ गतेको शाही ‘कु’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । संस्कृतिविद् सत्यमोहन जोशीले वि.सं. २०३३ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले महोत्सवका रुपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको बताउँछन् ।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसंगति उजागर गरिन्छ । सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढंगले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ । पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अंक प्रकाशित गरिन्छ ।     

गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगन्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ । गाईजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।