Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ श्रावण २० मंगलबार ०९:५५:००
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

भदौदेखि विदेशी पर्यटकलाई नेपाल खुला, पाँच दिन क्वारेन्टाइनमा बसे पुग्ने, उडान अनुमति माग्दै विमान कम्पनी

Read Time : > 3 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ श्रावण २० मंगलबार ०९:५५:००

१२ एयरलाइन्स कम्पनीले सोमबारसम्म एक सय ५८ उडानका लागि आवेदन दिएका छन्, सबैभन्दा धेरै नेपाल वायुसेवा निगमद्वारा सातामा ५७ उडान अनुमति माग

विदेशी पर्यटकहरू नेपालले जारी गरेको स्वास्थ्य मापदण्डसहित भदौ १ देखि नेपाल भ्रमणमा आउन पाउने भएका छन् । सरकारको पाँच महिनापछि अन्तर्राष्ट्रिय र आन्तरिक उडान खुला गर्ने निर्णयसँगै पर्यटन मन्त्रालय मापदण्ड बनाउन जुटेको हो । गृह मन्त्रालयले भिसाको विषयमा अझै राय नदिएकाले रोकिएको र मंगलबारसम्म यो विषय पनि टुंगिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताए । 

पर्यटकलाई यसअघि बनाइएको १४ दिनको क्वारेन्टाइनको व्यवस्था घटाएर पाँच दिन बनाइएको छ । विदेशबाट आउँदा पिसिआरको रिपोर्ट ल्याउने र यता पनि परीक्षण गर्ने भएकाले पाँच दिन मात्रै क्वारेन्टाइनमा राख्न स्वास्थ्य मन्त्रालयले सहमति दिएको सहसचिव आचार्यले जानकारी दिए । यता गृह मन्त्रालयले अनअराइभल भिसाका सम्बन्धमा निर्णयका लागि सिसिएमसी पठाएको छ । अनअराइभल भिसा नदिने सरकारले यसअघि नै निर्णय गरेको छ । तर, अनअराइभल भिसा नदिए पर्यटक नआउने भएकाले हटाउनुपर्ने पर्यटनको राय छ । मापदण्डमा विदेशी पर्यटकले नेपाल आएपछि पिसिआर परीक्षणमा लाग्ने शुल्क आफैँ व्यहोर्नुपर्नेछ । यता होटेल, रेस्टुरेन्ट तथा अन्य क्षेत्रलाई समेत प्रोटोकल तय गरिसकेर १५ साउनदेखि तयारी थालिसकेका छन् ।

‘उडानका लागि धेरै माग आएकाले दैनिक १२ देखि १५ मात्रै उडान हुने गरी स्वीकृत गर्नेसमेत आचार्यले बताए । ‘मंगलबारसम्म एयरलाइन्सहरूको उडानतालिका तथा अन्य मापदण्डहरू स्वीकृत गरिनेछ,’ आचार्यले भने ।  

अन्तर्राष्ट्रिय १२ एयरलाइन्सले सातामा एक सय ५८ उडान मागे

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग १२ एयरलाइन्सले सोमबारसम्म एक सय ५८ उडानका लागि आवेदन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । ‘आवेदन आउनेक्रम जारी छ, सबैको आएपछि कसलाई कति दिने हेरेर अनुमति दिनेछौँ,’ क्षत्रीले भने । सबैभन्दा धेरै नेपाल वायुसेवा निगमले सातामा ५७ उडानका लागि आवेदन दिएको छ । जसमा दिल्लीमा दैनिक २ सहित सातामा १४, बैंग्लोर ३, मुम्बई ७, ग्वान्जाओ ३, कुवेत ७, दोहा ७, क्वालालम्पुर ७, नारित ३, बैंकक ३ र हङकङ ३ गरी ५७ उडानको अनुमति माग गरेको छ । त्यसैगरी, हिमालयले सातामा २१ उडानको अनुमति माग गरेको छ । टर्किसले सातामा १ मात्रै उडानका लागि आवेदन माग गरेको छ । सलाम एयरले ७, इन्डिगोले ७, चाइना साउदनले १, एयर चाइनाले १, जजिरा एयरले २, फ्लाई दुबई ७, मलेसियन एयरलाइन्स ५, मालिन्दो एयरले १४ र एयर अरेबियाले ३५ वटा माग गरेको छ । 

आन्तरिकतर्फ दैनिक ४८ उडान हुने 

नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा आन्तरिकतर्फ ४८ उडान स्वीकृत गरेको जनाएको छ । विगतमा २ सयभन्दा बढी आन्तरिक उडान हुने गथ्र्यो । नियामक निकाय प्राधिकरणले सुगम क्षेत्र अर्थात् ट्रंक रुटमा ३९ उडान स्वीकृत गरेको छ भने दुर्गम क्षेत्रमा ९ वटा उडान स्वीकृति दिएको छ । प्राधिकरणले एक सातापछि पुनः उडानहरू थप्दै जाने योजना बनाएको छ । निजी वायुसेवा कम्पनीहरू ट्रंक रुटमा बुद्ध एयरले १८ वटा, यती एयरले ११ वटा, श्री एयरले ८ वटा र सिम्रिक एयरले २ वटा उडान गर्ने तय गरेका छन् । यस्तै, दुर्गम क्षेत्रमा तारा, सीता र समिट एयरले ३–३ वटा उडानको अनुमति पाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको आन्तरिक टर्मिनल भवनले १ घन्टामा ४ सय ५० यात्रुको व्यवस्थापन गर्न सक्छ । विमानस्थलले अहिले त्यसको ५० प्रतिशत सेवा दिने तयारी गरेको छ ।  

पर्यटकलाई १४ दिन क्वारेन्टाइन व्यावहारिक छैन : पर्यटन बोर्ड

नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने विषय व्यावहारिक नभएको भन्दै सच्याउन माग गरेको छ । बोर्डका प्रमुख कार्यकारी निर्देशक (सिइओ) धनञ्जय रेग्मीले तीनदेखि पाँच दिन राख्ने र पिसिआर परीक्षण गर्नुपर्ने बताए । ‘नेपाल आउने पर्यटक भनेको दुई सातादेखि तीन साताका लागि हो, दुई साता क्वारेन्टाइनमा राखेमा कोही पनि घुम्न आउँदैनन्,’ रेग्मीले भने । 

नेपाल पर्यटन बोर्डले आन्तरिक पर्यटकलाई सम्बन्धित जिल्लामा भ्रमणका लागि खुला गर्ने प्रस्ताव गरेको छ । बोर्डले शनिबारदेखि काठमाडौं उपत्यकासहित देशभर हाइकिङ, साइक्लिङ तथा अन्य गन्तव्यहरू खुलाएर सहज बनाउँदै जाने प्रस्ताव गरेको हो । पर्यटन क्षेत्रलाई गतिशील बनाउनका लागि आन्तरिक पर्यटनबाट सुरु गर्नुको विकल्प नभएको सिइओ रेग्मी बताउँछन् । स्वास्थ्य प्रोटोकल अपनाएर होटेल र रेस्टुरेन्ट सञ्चालनमा आइसकेकाले पनि आन्तरिक पर्यटक खुलाउँदै जान लागेको रेग्मीले बताए । 

विश्वका ४० प्रतिशत गन्तव्य खुले, युरोपका ४१ देशमा गतिविधि सुरु 

कोभिड–१९ का कारण संसारभर बन्द रहेको पर्यटन क्षेत्र ४० प्रतिशत खुला भएको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय संगठन (युएनडब्लुटिओ)ले जनाएको छ । केही समयसम्म शतप्रतिशत बन्द रहेको पर्यटन गतिविधि संसारका ४० प्रतिशत देशले खुला गरेको युएनडब्लुटिओले जनाएको छ । संगठनका अनुसार अन्य देश तथा गन्तव्यहरू पनि खुलाउने तयारीमा रहेको जनाएको छ । गत जुलाई १९ सम्म २२ प्रतिशत गन्तव्य मात्रै खुला भएकोमा गत जुन ३० सम्ममा ४० प्रतिशत खुलेको संगठनले प्रतिवेदनमा उल्लेख गरेको छ । 

संगठनले गरेको अध्ययनअनुसार ८७ मुलुक (गन्तव्य)मा कुनै न कुनै रूपबाट अब विदेशी नागरिकले यात्राको अनुमति पाउने गरी खुला भएका छन् । त्यसमध्ये चारवटा मुलुक पूर्ण रूपमा खुला भएको घोषणा गरिएका छन् । ८३ मुलुकले भने सर्तसहित पर्यटक आवागमन खुला गरेका छन् । यात्रा प्रतिबन्ध हटाउने मुलुकमा अधिकांश युरोपका देश छन् । अन्य १ सय १५ देशमा भने अझै विदेशी नागरिकलाई प्रतिबन्ध कायम नै रहेको छ । 

स्वास्थ्यलाई ध्यानमा राख्दै यात्रामाथिको प्रतिबन्ध हट्दै जान थालेको युएनडब्लुटिओका महासचिव जुरब पोलोलिकासविल्लीले बताएका छन् । संगठनका अनुसार पर्यटनमा आधारित अर्थतन्त्र रहेका साना मुलुकहरूले क्रमशः यात्रा प्रतिबन्ध खुकुलो बनाएका छन् । युरोपका ४१ देशले पर्यटन गतिविधिलाई खुलाएका छन् । नेपाललले पनि भदौ १ देखि अन्तर्राष्ट्रिय सीमानाका खुलाउँदै उडानसमेत खुलाउने निर्णय गरेको छ । विश्वभर पर्यटन क्षेत्रले पाँच महिनायता ३ सय २० बिलियन डलर आम्दानी गुमाएको समेत संगठनले जनाएको छ ।  

पर्यटन क्षेत्रबाट पाँच महिनामा ५० अर्ब गुम्यो

पर्यटन क्षेत्रले पाँच महिनामा ५० अर्ब आम्दानी गुमाएको अनुमान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले असारमा गरेको प्रक्षेपणअनुसार साउन पहिलो सातासम्म ४१ अर्ब गुमाउने अनुमान गरेको थियो । मन्त्रालयले आगामी सिजनसम्म ५० अर्ब गुम्ने अनुमानसमेत गरेको थियो । 

सरकारको बजेट तथा कार्यक्रममा पर्यटन क्षेत्रका कर्मचारी तथा पुनर्कर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरिएको थियो भने होटेलका लागि भ्याट दाखिला गर्ने समयसीमा चार महिना बढाइएको थियो ।    

मन्त्रालयले लकडाउन सकिएपछिको एक महिना अवधिसम्म जहाज पार्किङ शुल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट, इजाजत तथा नवीकरण दस्तुरमा ५० प्रतिशत छुटका लागि सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषद्ले लागू गर्नेबारे निर्णय गरिसकेको छैन । तर, व्यवसायीले भने आगामी सिजनको अन्त्यसम्म पनि पर्यटक नआउने भएकाले डेढ खर्ब आम्दानी गुम्ने बताउँदै आएका छन् । नेपाल पर्यटन बोर्डले समेत कोभिड–१९ का कारण पर्यटन क्षेत्रले १ खर्ब ५० अर्ब गुमाउने प्रक्षेपण यसअघि नै गरिसकेको छ । होटेल, एयरलाइन्स, टुर एन्ड ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायत सम्पूर्ण क्षेत्र कोभिड–१९ का कारण पछिल्लो पाँच महिनायता ठप्प छ ।