मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ श्रावण १९ सोमबार १२:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचथरमा पहिरोबाट वृद्धको मृत्यु, विद्युत् आयोजना ठप्प, खानेपानी अवरुद्ध

Read Time : > 1 मिनेट
२०७७ श्रावण १९ सोमबार १२:२३:००

पाँचथर सदरमुकाम फिदिम बजार आएर घर फर्कँदै गरेका फिदिम नगरपालिका– ११ सेजेपाका ८२ वर्षीय हरिप्रसाद श्रेष्ठको मृत्यु भएको छ । 

आइतबार बेलुका आफन्तकोमा वास बसेर बिहान घर जान भनी हिँडेका उनको सेजेवा भिरमा झरेको ढुंगाले लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको पाँचथर प्रहरी प्रमुख सिद्धराज न्यौपानेले जानकारी दिए । 

‘श्रेष्ठको टाउकोमा चोट देखिन्छ । टोपीसमेत काटिएको अवस्थामा छ,’ उनले भने, ‘घटनाको अवस्था हेर्दा माथिबाट ढुंगा झरेर लागेको हुन सक्ने देखिन्छ ।’

घटनाका विषयमा थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । श्रेष्ठको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइँदै छ । 

सेजेपा क्षेत्रमा गएरातिको पानीले बाढी आउँदा विद्युत् आयोजनामा पनि क्षति भएको छ । सेजेपा क्षेत्रमा सञ्चालनमा रहेका तीनवटा आयोजनाको विद्युत् उत्पादन रातिदेखि नै बन्द भएको छ । 

फेमे खोला साना जलविद्युत् आयोजना, बिके हाइड्रोपावरका दुई आयोजना गरी तीनवटा आयोजनामा क्षति पुऱ्याएको फेमे खोला साना जलविद्युत् आयोजनाका श्याम अधिकारीले जानकारी दिए । 

क्षति भएका आयोजनामध्ये फेमे खोला साना जलविद्युत् आयोजना नाै सय ९८ किलोवाट र बिके हाइड्रोपावरका एक सय ५० र २ सय ४० किलोवाट उत्पादन बन्द भएको उनले जानकारी दिए । 

फेमे खोला आसपास लगाइएको धानबालीमा समेत बाढीले क्षति पुऱ्याएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी छ ।

क्षतिको यकिन विवरण आइनसकेको भए पनि आयोजनाका लागि निर्माण भएका करिब ७० मिटर पाइपलाइन, कज्वेलगायतका संरचना बगाएको छ । 

त्यसैगरी गएरातिको वर्षाले पहिरो खस्दा फिदिममा वितरण भइरहेको खानेपानी बन्द भएको छ ।

फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले व्यवस्थापन गर्दै आएको रानीटार लुङरुपा मुहान सोमबार बिहानबाट बन्द भएको हो । 

इन्टेक आसपास रहेको पाइप पहिरोले बगाएको छ । 

पाइप मर्मतको कार्य सुरु भइसकेकाले मर्मत सकेर पानी वितरण पुनः सुरु गर्ने प्रयास भइरहेको उपभोक्ता समितिले जनाएको छ ।