आइतबारको छलफलमा कुनै सहमति नजुटेपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनाल सोमबार पनि बिहानैबाट छलफलमा जुटेका छन् ।
बिहान ९:३० बजेदेखि सुरु भएको छलफल लामो समयदेखि पार्टीभित्रको गतिरोध अन्त्य गर्ने विषयमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ।
आइतबार ओली, प्रचण्ड र खनालबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब तीन घन्टा लामाे छलफल भएको थियो । छलफलमा विवाद समाधानका लागि सहमति सचिवालय, स्थायी कमिटी र महाधिवेशनमध्ये कहाँबाट खोज्ने भन्नेबारे कुनै सहमति हुन सकेन । हिजाेकाे छलफलमा सोमबार पुनः बसेर विवादका विषयमा छलफल गर्ने सहमति भएको थियो ।
१३ साउनमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले एकतर्फी रूपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डले २८ जना सदस्यसहित बैठक राखेका थिए । निरन्तर छलफल, संवाद गर्दै आएकाे उनीहरूबीच त्यसयता संवादकाे शृंखला टुटेकाे थियाे ।
आन्तरिक विवाद चर्किँदै गएपछि १० असारदेखि सुरु भएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित छ ।