Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ श्रावण १९ सोमबार ०७:५९:००
Read Time : > 5 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

हास्यव्यंग्य होइन खिसीट्युरी

Read Time : > 5 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ श्रावण १९ सोमबार ०७:५९:००

नेपाली कला क्षेत्रमा हास्यव्यंग्यको इतिहास निकै पुरानो मानिन्छ । तीसको दशकदेखि हास्यव्यंग्य मनोरञ्जनको एउटा सशक्त विधा बनेर आएको छ । यो क्षेत्रमा काम गर्ने सयौँ कलाकार छन् । एक दशकदेखि त हास्यव्यंग्य क्षेत्रले सिनेमा उद्योगलाई नै नेतृत्व गरिरहेको कलाकारहरू बताउँछन् । सानो र ठूलो पर्दामा धेरै लोकप्रिय हुनेमा हास्यकलाकार नै बढी छन् । तर, लामो इतिहास बोकेको नेपाली हास्यव्यंग्य क्षेत्र अहिलेसम्म गम्भीर बन्न सकेको छैन । सधैँ हल्काफुल्का विषयवस्तुमै अल्झिरहेको छ ।

कुनै पनि समुदायको संवेदनामाथि प्रहार गर्नु, शारीरिक अवस्थालाई लिएर होच्याउनु नेपाली हास्यव्यंग्यको नौलो परिचय होइन । कुनै महिलाको वस्त्रमाथि प्रश्न गरेर हाँसोको खुराक बनाइदिन्छ, नेपाली हास्यव्यंग्यले । पछिल्लो समय झनै ठूलो खुराक बनेको छ, मधेस । सिनेमा, हास्य टेलिसिरियल वा प्रहसनमा मधेसी समुदायमाथि मजाक गर्दा आफू हिट होइन्छ भन्ने कलाकारमा भ्रम देखिन्छ ।

कुनै पनि समुदायको संवेदनामाथि प्रहार गर्नु, शारीरिक अवस्थालाई लिएर होच्याउनु नेपाली हास्यव्यंग्यको नौलो परिचय होइन । 

केही समयअघि कलाकार सन्दीप क्षेत्री विवादमा तानिए । मधेसी गेटअपमा चलाएको उनको कार्यक्रमले सिंगो मधेसी समुदायको आत्मसम्मानमा ठेस पुगेको आरोप लाग्यो । सन्दीपले यस विषयमा माफीसमेत मागिसकेका छन् । प्रदेश २ सरकारले मधेसी समुदायलाई होच्याएको भन्दै तीनवटा कार्यक्रम बन्द गर्न संघीय सरकारसँग माग गरिसकेको छ । जसमा ‘कोरोना बिर्साउन गफगाफ’, ‘ह्वाट द फ्लप’ र ‘जोगिन्दर बोले प्रणामजी’ रहेको छ ।
...
अहिलेको स्थिति आउनुमा मुख्य रूपमा सत्ताले स्थापित गरेको भाष्यलाई कारक मान्छन्, लेखक युग पाठक । ‘त्यस्ता भाष्य निर्माण हुनुमा प्रभुत्वशाली लिंग, मान्छेले कुनै समुदाय, फरक शारीरिक बनावट भएका मान्छेमाथि एक किसिमको भाष्य निर्माण गरेका हुन्छन् । त्यो उनीहरूका लागि हाँसीमजाक गर्ने खुराक हो,’ पाठक भन्छन्, ‘शारीरिक रूपमा एक किसिमको अवस्थालाई मान्छेले स्वीकार गरेका हुन्छन् र अलिकति फरक हुनेबित्तिकै उनीहरूका लागि हाँसोको पात्र बनिदिन्छन् । किनभने, उनीहरू त्यो समाजले निर्माण गरेको सौन्दर्यको धरातलभित्र पर्दैनन् ।’

बढीजसो मधेसीकै अवतारमा देखिने गर्छन्, कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ । उनकै कार्यक्रम हो, ‘जोगिन्दर बोले प्रणामजी’ । कतिपय अवस्थामा उनको कार्यक्रममा पनि मधेसीलाई मजाकको विषय बनाइएको हुन्छ । तर, यस्ता विषयमा क्रमिक रूपमा सुधार गर्दै लगेको उनको भनाइ छ । ‘मैले त्यसरी खासै उडाएको छैन । तर, पछिल्लो समय त्यस्ता विषयमा निकै सुधार भएको देख्छु । मैले पनि आफ्नो ठाउँबाट मिहिनेत गरेको छु । अरू कलाकार पनि गम्भीर हुँदै गएका हुन् कि भन्ने लाग्छ,’ उनी भन्छन् ।

केही समयअघि सामाजिक सञ्जालमा सरकारी नम्बर प्लेटको मोटरसाइकलको पछाडि बस्ने एक महिलाले ढाड देखाएको तस्बिर भाइरल बन्यो । त्यही ढाड देखिनु नै उनी भाइरल हुने कारण बनिदियो । उनलाई उडाइयो । यसको विरुद्ध केही महिला अधिकारकर्मी उत्रिए । केहीले त ढाडको तस्बिर राखेर कपडा लगाउनुमा व्यक्तिगत स्वतन्त्रता र छनोटको वकालत गरे । यसलाई पुरुषवादी सत्ताले निर्माण गरेको भाष्यको उपज ठान्छन्, पाठक । र, यस्तै विषय नै नेपाली कमेडीको केन्द्रीय विषय हुने पाठकको जिकिर छ ।

सत्ताले सधैँ एकल सौन्दर्य स्थापित गर्ने र यसले विविधतालाई अस्वीकार गर्ने उनको भनाइ छ । ‘एउटा तथाकथित अवस्था भएको मान्छेले सत्ताले निर्माण गरेको सौन्दर्य चेतनालाई जस्ताको तस्तै सापटी लिएर आफ्नो सौन्दर्यमाथिको चेतना निर्माण गरेको छ,’ पाठक भन्छन्, ‘अर्कातिर फरक चेतना भएकाले जिस्काउन, होच्याउन हुँदैन भनेर त थाहा पायो । तर, उसले दया देखाउन थाल्यो ।’ यी दुवै पक्ष खराब भएको पाठक बताउँछन् । 
...

पुरानोदेखि नयाँ पुस्ताका हास्यकलाकार सँगसँगै क्रियाशील छन् । तर, सामाजिक, राजनीतिक चेतसहित आफ्नो प्रस्तुति दिनेको संख्या भने असाध्यै न्यून छ । हाँसोको चाहना, हाँसोको आवश्यकता मानिसका लागि प्राकृतिक चिज हो । तर, हास्यव्यंग्यलाई आत्मप्रचार र जीविकोपार्जनका रूपमा मात्र लिने हो भने उसको भविष्य क्षणिक भएर जाने गजुरेल बताउँछन् । यदि लामो यात्राका लागि निस्कने हो भने कलासँगै समाज, देश, राजनीति सबैतिरको गहिरो बुझाइ आवश्यक देख्छन्, उनी । ‘जसरी पत्रकारितामा सम्पादकीयले आफ्नो पत्रिकाको विचारबारे बोल्छ, त्यसरी नै आफ्नो विचार हुनुपर्छ कलाकारको पनि । साथमा सेल्फ एडिट पनि गर्नुपर्छ । आफ्नो प्रस्तुतिको सम्पादक आफैँ हुनुपर्छ,’ गजुरेल भन्छन्, ‘भीडमा चर्चित हुन मात्र आउने हो भने केही भन्न सकिँदैन । तर, यो बुझ्नुपर्छ कि चर्चित हुनु र लोकप्रिय हुनु बिल्कुल फरक विषय हो ।’

यस वर्ष सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’ र मनोज गजुरेलको गाईजात्रा भिडियो आउँदै छ । तर, कट्टेल दम्पती अहिले चितवनमै रंगशाला निर्माणमा व्यस्त छन् । लगभग अबको १८ महिनामा रंगशाला निर्माण भइसक्नेछ । पछिल्लो समय कलाकारितालाई कम र रंगशालालाई बढी ध्यान दिइरहेका कट्टेल भन्छन्, ‘अहिलेका लागि रंगशालामै व्यस्त छु । त्यसपछि कलाकारितामै फर्कने हो । र, समाजका हरेक विसंगतिविरुद्ध कलाकारितामार्फत अझै मजाले प्रश्न गर्ने हो ।’ 

हास्यकलाकार अर्जुन घिमिरे ‘पाँडे’ लकडाउन सुरु भएपछि कलाकारितामा त्यति सक्रिय छैनन् । यसबीचमा उनी कलाकारिताकै विषयमा अध्ययन गरिरहेका छन् । यो क्षेत्रलाई एकदमै हल्का रूपमा लिइएको उनको बुझाइ छ । ‘कमेडी क्षेत्रमा अध्ययन नै नगरी आउनेको संख्या धेरै छ । बरु दर्शक हामीभन्दा बढी चेतसहितका छन् । भोलिपल्टै सेलेब्रिटी भइहाल्ने सोचले यस क्षेत्रमा मान्छेहरू आए,’ घिमिरे भन्छन्, ‘हाम्रो क्षेत्रमा प्राज्ञिक बहस आवश्यक छ । नत्र विषयवस्तुको सामान्य ज्ञानसमेत नराखी प्रस्तुतिहरू जसरी दिइन्छ, यस्तो पाराले यस क्षेत्रलाई झनै कमसल बनाएर जान्छ ।’ 

हास्यव्यंग्यको नाममा अधिकांश कलाकारले अन्य समुदायप्रति ठेस पु-याउने गरेका उदाहरण प्रशस्तै छन् । तर, कुनै पनि समुदायको कुरा भन्न त्यही समुदायको मान्छे आएर पनि भन्न सक्छन् । र, अन्य समुदायको मान्छेले भनिरहन आवश्यक नहुने तर्क राख्छन्, आख्यानकार राजन मुकारुङ ।

एउटा समुदायको कलाकारले अर्को समुदायको कुराभन्दा जातीय हिसाबले ठेस पुग्न सक्नेमा सचेत हुनुपर्ने उनी बताउँछन् । ‘कुनै एउटा समुदायप्रति फरक समुदायको कलाकारले प्रस्तुति दिइरहेका छन् । यसो गर्दा त्यो जाति, समुदाय, संस्कृतिमाथि ठेस पुग्न सक्छ,’ उनी भन्छन्, ‘यसो हुनुमा राज्यको लामो परम्परा र कथनबाट उम्कन नसकेकाले हो । जातीय, लैंगिक, शारीरिक अवस्था कमजोर भएकालाई रमाइलोको पात्र बनाइन्छ । राज्यले हाँसोको पात्र हो भनेर किटान गरिदिएकाले यस्तो अवस्था आएको हो । यो राज्यले नागरिकमाथि गरेको उपहास हो ।’ 

यो वर्ष भर्चुअल गाईजात्रा

१५ साउनबाटै यो वर्षको गाईजात्रा सुरु भइसकेको छ, जुन २३ गतेसम्म चल्नेछ । यसपटक भने गाईजात्रा भर्चुअल भएको छ । युट्युब र टेलिभिजनबाट गाईजात्राका भिडियो आइरहेका छन् । तर, दर्शकको अघि गर्नु र दर्शकविना गर्नुमा धेरै फरक अनुभूति हुने बताउँछन्, हास्यकलाकार मनोज गजुरेल ।

यस्तो परिस्थितिमा आफूहरूले भर्चुअल्ली भए पनि दर्शकलाई उत्साह र हौसला प्रदान गर्न गाईजात्रा गरेको बताउँछन्, उनी । तर, पछिल्लो समय समाज, राजनीतिप्रति चेतना बोकेर आएका नयाँ पुस्ताका कलाकारलाई मूलधारका मिडियाले ठाउँ नदिएकोप्रति उनको गुनासो छ । भन्छन्, ‘अन्य धेरै कलाकार मिडियामा त आइरहेका छन्, तर उनीहरूमा समाज, राजनीतिप्रति चेतना नै देखिन्न । चेतना भएकाले ठाउँ पाएका छैनन् ।’

कमेडी भनेको हाँसीमजाकै हो । त्यसपछि सन्देशको कुरो आइहाल्छ । र, त्यही ख्याल गर्नुपर्ने कुरा कुनै वर्ग, जात, धर्मप्रति संवेदनशीलता । उनीहरूको भावना, विचारमाथि ख्यालठट्टा नगर्न पनि सकिन्छ । तर, आफूले हास्यव्यंग्यको एक प्रतिनिधिको रूपमा बोल्नुपर्दा आफूहरू यी तिनै विषयमा गम्भीर नभएको बताउँछन्, गजुरेल । राम्रो प्रस्तुति नहुँदा मान्छेले विकल्पको रूपमा जे आइरहेको छ, त्यही हेर्नुपर्ने बाध्यकारी अवस्थाले हैरान बनाएको उनको बुझाइ छ ।

‘हास्यव्यंग्य उद्देश्यसहितको कला हो । हँसाउन मात्र सोचियो भने त्यो क्षणिक आत्मरञ्जन हो । हास्यव्यंग्य त मनोरञ्जनात्मक शैलीमा जनतालाई सुसूचित गराउने काम पनि हो,’ गजुरेल भन्छन्, ‘तर, कुनै पनि विषयलाई गम्भीर रूपमा नबुझी सतही पारामा बुझेर प्रस्तुतिहरू आइरहेका छन् । यस क्षेत्रलाई ठट्टाको रूपमा मात्र लिइएको छ । यो बुझाइ गलत हो ।’

पहिलाको गाईजात्रा द्विअर्थी शब्द र महिलाको विषयमा केन्द्रित हुन्थ्यो । त्यसपछि मधेसी आउँथे । हँसाउनका लागि सबै प्रहसन यही विषयवरिपरि घुमिरहेका हुन्थे । भलै अहिले अलि कम हुँदै गएको देखिन्छ । नत्र भद्दा मजाक नै गाईजात्राको विषयवस्तु थियो भन्दा फरक नपर्ला ।

यसरी प्रहसन आउनुमा कलाकारहरूको आत्मसमीक्षाकै कमी देख्छन्, पाठक । उनीहरूले प्रश्नको सामना नगर्नु र दर्शक पनि त्यही किसिमको रमाइलोमा अभ्यस्त हुनु मुख्य समस्या रहेको उनको बुझाइ छ । ‘अब मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको कामप्रति कसले प्रश्न गर्ने ? यसरी प्रश्न नगर्ने बानी हामीले राजनीतिबाट सिकेका हौँ । केपी ओली, प्रचण्डलाई कतिले प्रश्न गरिरहेका छन् ?,’ पाठक भन्छन्, ‘कसैले प्रश्न गर्दैन भने उनीहरू कसरी परिष्कृत हुन्छन् ? प्रश्न नगर्दा हामी मात्र पोखरी हुन्छौँ, जसको गति हुँदैन, जो प्रदूषित पनि हुँदै जान्छ ।’