Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सागर चन्द काठमाडाैं
२०७७ श्रावण १९ सोमबार ०५:५८:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

‘इनफ इज इनफ’ अभियन्ता र सरकारबीच वार्ता : उपप्रधानमन्त्रीले भने, ‘माग पूरा हुन्छन्, अनशन तोड्नूस’

Read Time : > 1 मिनेट
सागर चन्द, काठमाडाैं
२०७७ श्रावण १९ सोमबार ०५:५८:००

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ नियन्त्रणमा भएका कमजोरी सच्याउने र माग पूरा गर्ने भन्दै अनशन तोड्न आह्वान गरेका छन् । उनले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन पनि अनुरोध गरेका छन् ।

अभियानका अभियन्तासँग आइतबार सिंहदरबारमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सामग्री खरिदमा कमजोरी भएको स्विकारे । ‘अचानक लकडाउन गर्नुपर्ने अवस्था आयो । देशभर क्वारेन्टाइनजस्ता संरचना तयार गर्नुपरेको थियो । जिटुजीबाट स्वास्थ्य सामग्री खरिद गर्न खोज्दा पनि नसकिएको हुँदा सरकारका तर्फबाट कमी–कमजोरी भएको उहाँले स्विकार्नुभयो,’ रक्षामन्त्रीसँगको भेटपछि अभियन्ता आलोक सुवेदीले भने । 

भारतबाट लाखौँको संख्यामा नेपाली आएपछि व्यवस्थापन गर्न कठिनाइ भएको उपप्रधानमन्त्रीको भनाइ थियो । उपप्रधानमन्त्री पोखरेलले संघीय सरकारले नचाहँदा-नचाहँदै पनि प्रदेश र स्थायी सरकारबाट गल्ती भएकोसमेत बताएको अभियन्ता आलोकको भनाइ थियो ।

छलफलमा उपप्रधानमन्त्री पोखरेलले सरकारले प्रभावकारी काम गर्दै गएको भन्दै अनशन फिर्ता लिन आग्रह गरे । उनले माग पूरा गर्ने आश्वासन दिँदै अनशन तोड्न आग्रह गरेको अभियन्ता सुवेदीले बताए । ‘तपाईंहरूले उठाएका मागहरू पूरा गर्छौँ । यस विषयमा हामी स्वास्थ्य मन्त्रालयसँग समेत आन्तरिक छलफल गर्छौँ । अनशन तोड्नुप¥यो,’ उपप्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सुवेदीले बताए । 

वार्तामा सहभागी प्राध्यापक तथा जनस्वास्थ्यविज्ञ बिन्जावाला श्रेष्ठले मन्त्री सकारात्मक रूपमा प्रस्तुत भएको र माग पूरा गर्ने आश्वासन दिएको बताए । 

शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र आइतबार उपप्रधानमन्त्री पोखेरलसँगको छलफल सकारात्मक भए पनि अभियन्ताले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । यसअघि पनि १२ दिनको अनशनपछि भएको सम्झौता पूरा नभएकै कारण अनशन बस्नुपरेको बताउँदै अभियन्ता आलोकले भने, ‘छलफल सकारात्मक हुन्छ । यसअघि सहमति नै भएको हो । आश्वासनभन्दा पनि माग पूरा भएपछि मात्रै आन्दोलन रोक्छौँ ।’

१८ असारमा अनशनकारी युवालाई भेट्न अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूका माग पूरा गर्ने वाचा गरेका थिए । त्यसपछि ‘इनफ इज इनफ’ अभियान र सरकारबीच २३ असारमा सहमति भएको थियो । तर, सहमतिअनुसार माग पूरा नभएको भन्दै अनशन बसेका युवाहरू शुक्रबारदेखि शान्तिपूर्ण आन्दोलनमा छन् । कोभिड–१९ को सबल व्यवस्थापनको मागसहित १४ बुँदे माग राखेर इनफ इज इनफका अभियन्ता ईः १६ दिनदेखि आमरण अनशनमा छन् । 

अनशनकारीसँग कांग्रेस नेता पौडेलले भने- माग पूरा नभए संघर्षमा उत्रन्छौँ

वसन्तपुर दरबार स्क्वायरमा अनशनरत अभियन्ता ईःलाई भेट्न आइतबार कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला र दिलेन्द्रप्रसाद बडू पुगेका छन् ।

नेता पौडेलले सरकारले युवाहरूका माग तुरुन्तै सम्बोधन नगरे आफूहरू पनि संघर्षमा उत्रिने चेतावनी दिए । पौडेलले भने, ‘संसद् बन्द छ । हामीले पनि जनस्वास्थ्यका विषयमा प्रधानमन्त्री कार्यालयमा माग दिएका छौँ । युवाहरू र हाम्रा माग उस्तै–उस्तै हुन् ।

तुरुन्तै यी पूरा भएनन् भने हामी योभन्दा फरक तरिकाले संघर्षमा उत्रिन्छौँ ।’ दुईपटक अनशन बस्दा पनि माग नसुनेर सरकार अटेरी भएको आरोप लगाउँदै पौडेलले भने, ‘अनशन बस्दा पनि नसुन्ने सरकार त अटेरी हो । पिसिआर गर, क्वारेन्टाइन राम्रो बनाऊ भन्ने सामान्य माग हुन् । यसका लागि अनशन बस्नुपर्ने अवस्था आउनु नै दुर्भाग्यपूर्ण हो ।’