१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १८ आइतबार २१:२१:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

बस्तीमा पसेको बाढी घटेन, पाँच दिनदेखि हुलाकी सडकमै बाढीपीडित (फोटोफिचर)

Read Time : > 2 मिनेट
२०७७ श्रावण १८ आइतबार २१:२१:००

गत बुधबार बिहान बाढी पसेर बस्ती डुब्न थालेपछि भजनी नगरपालिका– ८ काँढाढिककी अञ्जली विक आठमहिने छोरा काखी च्यापेर सासू–ससुरासहित हुलाकी राजमार्ग आइन् । बाढीको सतह नघटेकाले चारजनाको उनको परिवार त्यसपछि घर फर्कन सकेको छैन । अन्य विस्थापितजस्तै सडकमै त्रिपाल टाँगेर बसिरहेकी अञ्जलीले चाउचाउ, चिउरा, बिस्कुट र भुजा खाएर छाक टारिरहेकी छिन् । ‘चार दिनदेखि छोरालाई पनि त्यही खुवाउँदै छु,’ उनले दुःख पोखिन्, ‘अन्नपात, खाना पकाउने भाँडाकुँडा सबै सामान घरमै छुटे, बाढी नघटेकाले घरमा जान सकिँदैन ।’ अञ्जलीका श्रीमान् रोजगारका लागि भारतमा छन्, ससुरा रिक्सा चलाउँछन् । काठको घरमा आधासम्म बाढी पसेकाले अन्नपात सुरक्षित होला भन्ने उनलाई आशा छैन ।

बाढीबाट विस्थापित भएकी चारमहिने सुत्केरी नन्दमती आउजी पनि चार दिनदेखि चाउचाउ र चिउराको भरमा छिन् । काँढाढिकमै घर भएको उनको परिवार पनि घर फर्कन सकेको छैन । बाढी आउँदा हतार–हतारमा निस्कनुपरेकाले घरभित्रको सामान ल्याउन नपाएको नन्दमतीकी सासू नन्दाले बताइन् । बालबालिका र सुत्केरी बुहारीलाई भात–रोटी खुवाउन नसकेको दुखेसो उनले पोखिन् । ‘हामी त चाउचाउ खाएरै जसोतसो बस्थ्यौँ, साना तीनजना नातिनातिना छन्, बुहारी चार महिनाकी सुत्केरी छ,’ नन्दाले भनिन्, ‘उनीहरूलाई के खुवाउने समस्या छ ।’ विस्थापित भएयता चाउचाउ, बिस्कुट र चिउरामै छाक काटिरहेको उनले बताइन् । अहिले पनि बाढीले पूरै गाउँ सागरजस्तै रहेकाले रोडबाटै घर हेरेर बस्नुपरेको उनको भनाइ छ ।

भजनीबाट मात्रै ६ सय ७१ परिवार विस्थापित
बाढीबाट विस्थापित भएकाहरूमध्ये पनि गर्भवती, सुत्केरी, बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेका छन् । भजनी नगरपालिकामा मात्रै एक हजार ६ सय ७१ परिवार विस्थापित भएका छन् । डुबानमा परेका अधिकांश ठाउँमा आइतबारसम्म पनि बाढी उस्तै छ । बाढी घटेको ठाउँमा पनि घरभित्र बस्न सक्ने अवस्था नरहेकाले विस्थापितहरू फर्कन नसकेका भजनी नगरपालिकाका उपप्रमुख छाया देवकोटाले बताइन् । 

बाढी घटेका ठाउँमा केही परिवारले आइतबार घर सरसफाइ गरेका छन्, तर बाढीले भिजेको घर नसुक्दा भित्र बस्न सक्ने अवस्था नरहेको उनले बताइन् । ‘बाढी घट्न थालेको छ, तर एक–दुई दिन घाम नलाग्दासम्म पीडितहरू फर्कन सक्ने अवस्था छैन,’ उपप्रमुख देवकोटाले भनिन् । विस्थापितमध्ये आधाजति हुलाकी सडकमै बसिरहेका नगरपालिकाले जनाएको छ ।

सबै ठाउँ डुबेकाले हुलाकी सडकबाहेक अन्यत्र बस्न सक्ने अवस्था छैन । केही ठाउँमा विस्थापितहरू विद्यालयहरूका माथिल्लो तलामा बसेका छन् । नगरपालिकाले विस्थापित परिवारलाई त्रिपालसँगै पानी, चाउचाउ, चिउरा, बिस्कुट वितरण गरिरहेको छ । 

जोशीपुरनजिक पथरैया नदी फुटेर गाउँ पसेपछि जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका दर्जनभन्दा बढी बस्ती डुबानमा परेका थिए । बुधबार र बिहीबार आएको बाढीका कारण कैलालीमा मात्रै करिब साढे ६ हजार परिवार प्रभावित भएको र साढे दुई हजारभन्दा बढी परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जोशीपुर, टीकापुरलगायत क्षेत्रमा विस्थापित केही परिवार भने घर फर्केका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताएका छन् ।
 
यसकारण बर्सेनि डुबान
भजनी–८ का नवराज ढुंगानाको घर डुबानमा परेको छ । बाढीको भेल खेतबारीमा पसेर बगर बनाएको छ । यो पीडा ढुंगानाको एक्लो होइन, भजनी, जोशीपुरलगायत दर्जनभन्दा बढी बस्तीका सबैले यस्तै पीडा भाेगिरहेका छन् । र यो समस्या बर्सेनि दोहोरिने गरेको छ । ‘हरेक वर्ष यस्तै समस्या भोग्नु पर्छ, ठाउँ नैै छोडेर अन्यत्र बस्न जान सक्ने अवस्था पनि छैन,’ ढुंगानाले भने ।

भजनी, जोशीपुर क्षेत्रमा बाढी आएको यो पहिलो वर्ष भने होइन, वर्षायाममा बर्सेनि त्यहाँका अधिकांश क्षेत्रका बासिन्दाको डुबानका कारण उठिबास हुन्छ । पथरैया, काँढा, कान्द्रा र मोहना नदीमा आउने बाढी गाउँ पस्दा हरेक वर्ष सयौँ परिवार विस्थापित हुने गरेका छन् । चुरेको फेदीबाट बग्ने यी नदीले तटीय क्षेत्रमा डुबान र कटान गर्छन् ।  

नेपालको सीमानजिक भारतले कर्णाली नदीमा बनाएको कैलाशपुरी बाँधका कारण कैलालीको दक्षिणी क्षेत्र डुबानमा पर्ने गरेको हो । पथरैया, काँढा, कान्द्रा र मोहना नदी कर्णालीमा मिल्छन् । कैलाशपुरी बाँधले कर्णालीको बहाव कम गर्ने भएकाले कैलालीबाट बग्ने अन्य नदीको बहाव कर्णालीले रोक्ने गर्छ । भारतीय बाँधका कारण नदीमा पानीको बहाव कम हुने भएकाले कैलालीको दक्षिणी क्षेत्र डुबानमा पर्ने गरेको भजनी क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गौरीशंकर चौधरीले बताए । ‘बाँधले कर्णालीको बहाव रोक्छ, कर्णालीमा बहाव रोकिएपछि मोहना, पथरैया, कान्द्रालगायत नदीको बहाव कम हुन्छ र पानी थुनिएर डुबान हुन थाल्छ,’ चौधरीले भने, ‘बाढी आएका वेला बाँधको ढोका खोल्नका लागि सरकारले भारतसँग कूटनीतिक पहल गर्न जरुरी छ ।’ 

दक्षिणी क्षेत्रमा जमिनको सतह नै होचो हुनु तथा बस्तीभन्दा निकै बढी उचाइमा बनेको हुलाकी राजमार्ग पनि डुबानको कारण भएको उनले बताए । थोरै ठाउँमा मात्रै पानी निकासका लागि कल्भर्ट राखिएकाले उत्तरतिरबाट आएको पानीलाई हुलाकी राजमार्गले छेक्ने गर्छ । राजमार्गमा कल्भर्ट थपे डुबान केही कम हुने स्थानीयको भनाइ छ । कम्तीमा तीन ठाउँमा कल्भर्ट निर्माणका लागि पहल भइरहेको सांसद चौधरीले बताए ।