१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १८ आइतबार १९:३४:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

आयल निगमका अधिकांश डिपोप्रमुख सरुवा, वितरण विभागमा बराल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १८ आइतबार १९:३४:००

नेपाल आयल निगमको देशभर रहेका प्रदेश तथा शाखा कार्यालय प्रमुखहरूको सरुवा भएको छ । कम्तीमा एक वर्षदेखि काम गरिरहेका कार्यालय प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको हो । अहिले सरुवा भएका नयाँ प्रमुखहरूको देशभर सहज रूपले इन्धन आपूर्ति गर्ने जिम्मेवारी हुनेछ ।  

यसअघि शक्तिको प्रयोग र पैसाको प्रलोभनमा डिपोप्रमुखको हेरफेर र पदस्थापना हुने गरेकोमा गत वर्षदेखि सैद्धान्तिक हिसाबले सरुवा हुन थालेको छ । कर्मचारी सरुवालाई नजिकबाट बुझेका एक कर्मचारी भन्छन्, ‘यसपटक त एक वर्षभन्दा बढी काम गरेका सबै कार्यालय प्रमुखको हेरफेर गर्ने निर्णय कार्यान्वयन भएको छ । यो भनेको पारदर्शी प्रक्रिया हो । एउटा मापदण्ड तोकेर सरुवा गरेका कारण कसैले पनि गुनासो गर्ने वा शक्तिको प्रयोग गरेर पुरानै पदमा बस्ने अडान लिने मौका पाएका छैनन् ।’ 

आयल निगमको कर्मचारी प्रशासन विनियमावलीले डिपोप्रमुखको कार्यकाल दुई वर्षसम्म रहने व्यवस्था गरेको छ । तर, यसपटक एक वर्षमै सरुवा गरेर नयाँ नियुक्त भएका कार्यालय प्रमुखलाई राम्रो कार्य सम्पादन गर्न चुनौती दिइएको छ । 

सबैभन्दा ठूलो इन्धन डिपो अमलेखगन्ज प्रमुख भरत रेग्मी,  बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपो प्रमुख प्रदीप यादव, गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख पुस्कर कार्की र धनुषाको महेन्द्रनगरका प्रमुख मनोज साह केही समयअघि मात्र पुगेकाले सरुवा भएको छैन, बाँकी सबै डिपो प्रमुख हेरफेर भएका छन् । 

स्रोतका अनुसार झापाको भद्रपुरस्थित विमानस्थलमा रहेको हवाई इन्धन डिपोमा श्याम महर्जनको सरुवा भएको छ । उनी लकडाउनका वेला निगमबाटै ग्यास बिक्री गर्ने कार्यमा खटिएका थिए । उनी आयल निगमको नेकपा समर्थित कर्मचारी संगठनको उपाध्यक्ष हुन् । भद्रपुर हवाई इन्धन डिपो प्रमुख मनीष न्यौपानेको झापाकै चारआलीमा रहेको शाखा कार्यालयमा सरुवा भएको छ ।

मोरङको विराटनगरस्थित १ नम्बर प्रादेशिक कार्यालय प्रमुखमा नकुल भण्डारीको सरुवा भएको छ । त्यहाँ कार्यरत अशोक शाहलाई प्रधान कार्यालयको इन्जिनियरिङ विभाग प्रमुख बनाइएको छ । विराटनगर हवाई इन्धन डिपोमा दयाराम सुवाल पठाइएको छ । त्यहाँ कार्यरत राजकुमार केसीलाई प्रधान कार्यालयस्थित वितरण विभागमा ल्याइएको छ । केसी एक वर्षअघि सोही विभागबाट सरुवा भई विराटनगर हवाई इन्धन डिपो पुगेका थिए ।

कास्कीको पोखरास्थित हवाई इन्धन डिपोप्रमुखमा पर्शुराम अधिकारीको सरुवा भएको छ । उनी यसअघि विराटनगरस्थित १ नम्बर प्रादेशिक कार्यालयमा थिए । पोखरा हवाई इन्धन डिपोप्रमुख रहेका टीकाजंग थापाको सिनामंगलस्थित हवाई इन्धन डिपोमा सरुवा भएको छ ।

५ नम्बर प्रादेशिक कार्यालय, भैरहवा प्रमुखमा प्रलयंकर आचार्यको सरुवा भएको छ । लामो समयदेखि उनी डिपो प्रमुखका रूपमा कहीँ नगई प्रधान कार्यालयमै थिए । यसअघि भैरहवा कार्यालयमा प्रमुख रहेका सुरज शाहलाई केन्द्रीय कार्यालयस्थित गुणस्तर नियमन विभाग ल्याइएको छ । भैरहवाको हवाई इन्धन डिपोप्रमुखमा नवराज पोख्रेलको सरुवा भएको छ । त्यहाँ कार्यरत राजन नेपाल प्रधान कार्यालयस्थित इन्जिनियरिङ विभागमा सरुवा आएका छन् ।

५ नम्बर प्रदेशअन्तर्गत नै रहेको इन्धन डिपो, नेपालगन्जमा कमला न्यौपानेको सरुवा भएको छ । उनी पहिलोपटक कार्यालय प्रमुखका रूपमा नेपालगञ्ज पुगेकी हुन् । उनी निगमको नेपाली कांग्रेस समर्थित कर्मचारी युनियनको उपाध्यक्ष हुन् । सो ठाउँमा उनलाई सरुवा गर्न युनियनका पदाधिकारीले कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई चर्को दबाब दिएका थिए ।

नेपालगन्ज हवाई इन्धन डिपोमा कार्यरत नवविनोद पोख्रेल प्रधान कार्यालयस्थित प्रशासन विभागमा सरुवा भएका छन् । उनी एक वर्षअघि पनि प्रशासन विभागमै रहेका वेला नेपालगन्ज कार्यालय प्रमुखका रूपमा सरुवा भएका थिए । नेपालगन्ज हवाई इन्धन डिपोमा अजित पोख्रेलको सरुवा भएको छ । त्यहाँ कार्यरत मनोज डिसी प्रधान कार्यालयस्थित अर्थ विभागमा आइपुगेका छन् ।

६ नम्बर प्रादेशिक कार्यालय सुर्खेत कार्यालय प्रमुखमा शिवराज भण्डारीको सरुवा भएको छ । त्यहाँ कार्यरत दीपक घिमिरेको प्रधान कार्यालयस्थित कार्यकारी निर्देशकको सचिवालयमा सरुवा भएको छ ।

७ नम्बर प्रादेशिक कार्यालय, धनगढीमा सीतारञ्जन दासको सरुवा भएको छ । त्यहाँ कार्यरत सर्पराज शर्माको ५ नम्बर प्रादेशिक कार्यालय, भैरहवामा सरुवा भएको छ । धनगढीको हवाई इन्धन डिपोप्रमुखमा मधुमास पुनको सरुवा भएको छ । त्यहाँ कार्यरत बाबुराम भट्ट केन्द्रीय कार्यालयस्थित गुणस्तर नियमन शाखा आइपुगेका छन् । 

केन्द्रीय कार्यालयमा पनि जिम्मेवारी हेरफेर
निगमको कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले कर्मचारी प्रशासन विनियमावलीअनुसार लामो समय एउटै विभागमा कार्यरत निर्देशकहरूको पनि सरुवा गरेका छन् । गत जेठमा निर्देशकबाट नायब कार्यकारी निर्देशकमा बढुवा भएका वीरेन्द्र गोइतलाई आन्तरिक नियन्त्रण तथा नियमन शाखाको जिम्मेवारी दिइएको छ । उनी लामो समय आपूर्ति तथा वितरण विभागमा रहेर प्रवक्ताको जिम्मेवारीमा समेत थिए ।

एलपिजी ग्यास तथा एभिएसन विभाग प्रमुखका रूपमा कार्यरत निर्देशक दीपक बराललाई वितरण विभाग प्रमुख बनाइएको छ । चार वर्षअघि नाकाबन्दीको समयमा तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासँग मतभेद भएपछि उनी वितरण विभागबाटै लखेटिएका थिए । वितरण विभाग प्रमुखको पद पछिल्लो तीन महिनादेखि खाली रहेको अवस्थामा बराललाई सरुवा गरिएको हो ।
बरालको सरुवापछि एलपिजी तथा एभिएसन विभागमा निर्देशक नेत्र काफ्ले आएका छन् । उनी आन्तरिक नियन्त्रण तथा नियमन शाखामा थिए । इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुख पूर्णप्रसाद रिजाललाई प्रशासन विभागमा सरुवा गरिएको छ ।