१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ श्रावण १८ आइतबार १७:२४:००
Read Time : > 4 मिनेट
खेलकुद डिजिटल संस्करण

राजकुमार विलियमको फुटबल मोह

Read Time : > 4 मिनेट
२०७७ श्रावण १८ आइतबार १७:२४:००

इंग्लिस फुटबलर पिटर क्रचलाई आफ्नो टिभी साेमा विशिष्ट पाहुनासँग कस्तो प्रश्न राख्ने, कसरी सम्बोधन गर्ने र नर्भस कत्तिको हुन्छ वा हुँदैन भन्ने कुरा खेलाएर बसेका थिए । नहोस् पनि कसरी ? उनले निम्त्याइएका विशिष्ट पाहुना हुन्, बेलायतका राजकुमार विलियम । यसैकारण नै क्रच अन्तर्वार्ताअघि नै नर्भस देखिए । क्रचले विलियमलाई अन्तर्वार्तामा बोलाएका थिए । तर, विलियमले उल्टै आफ्नो किंग्सस्टन प्यालेसमै क्रच र उनको टोलीलाई नै बोलाएन मात्र लन्च र डिनर पनि सँगै गरे ।

धेरैलाई थाहा नहुन सक्छ, राजकुमार विलियमसँग फुटबलको राम्रो ज्ञान हुनुका साथै उनी एक सुन्दर विश्लेषक पनि हुन् । कोभिड– १९ को महामहारीकै वेला इंग्लिस प्रिमियरसिप लिग (इपिएल) रोकिँदा र सुचारु हुँदा विलियमले धेरै टीका–टिप्पणी गरेका थिए । बेलायतमा उनी एस्टोन भिल्लाका ‘डाइहर्ट’ फ्यानका रूपमा चिन्छन् । 

अति मनपर्ने क्लब भिल्ला
लिगको अन्तिम दिन एस्टोन भिल्ला बल्लतल्ल रेलिगेसनबाट जोगिँदा विलियमको खुसीको सीमा नै रहेन । बर्नेमाउथको भन्दा एक अंक बढी बटुलेपछि भिल्ला यसपटक रेलिगेसनबाट जोगिएको हो । राजकुमार विलियम र एस्टोन भिल्लाबीच सम्बन्ध अहिलेको होइन् । ११ वर्षको उमेरमै विलियम भिल्लाका समर्थक बने । उनले पहिलोपटक भिल्लाको खेल हेरेको पनि ११ वर्षकै उमेरमा थियो । 
त्यसवेला भिल्ला एफए कपको फाइनलमा पुगेको थियो । भिल्लाले उपाधिका लागि बोल्टनविरुद्ध प्रतिस्पर्धा गरेको थियो । ‘याद भएसम्म त्यो फाइनलमा म भिल्ला समर्थकबीच थिएँ, बोल्टनका भन्दा पनि भिल्लाकै समर्थक धेरै पाएँ, त्यस किसिमको महोलमा फुटबल हेर्नुको मज्जा नै फरक हुँदो रहेछ,’ विलियम्म भन्छन्, ‘त्यसताका म भिल्लाको समर्थक भन्दा मानिसहरूले जिस्काउँथे ।’ बेलायतमा म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलका समर्थक नै धेरै छन् । 

अरूभन्दा फरक क्लबको समर्थक बन्ने उद्देश्यका साथ नै भिल्लालाई राजेको विलियमले बताए । ‘स्कुल पढ्दा कि त म्यानचेस्टर युनाइटेड, चेल्सी, वा लिभरपुलका समर्थक नै धेरै पाएँ,’ उनी भन्छन्, ‘अहिले पनि म भिल्ला समर्थकभन्दा आफूलाई गर्व गर्छु, धनी क्लबलाई माया गर्नुभन्दा मध्यमलाई गर्नु नै राम्रो मान्छु, किनभने ठूलालाई पछ्याउने सबै हुन्छन्, तर सानोलाई केही पनि हुँदैन, यही नै विशेषता हो   ।’ 

पछिल्लो केही वर्षयता विलियम परिवारसँगै भिल्लाको मैदानमा पुग्ने गरेका छन् । प्रायःजसो भिल्लाको घरेलु मैदानमा उनी खेल छुटाउँदैनन् । सन् १९८२ मा बेलायतले युरोपियन च्याम्पियनसिप (युरोकप) जितेको थियो । त्यही वर्ष नै विलियमको जन्म भएको थियो ।

रेफ्रीलाई क्षमा दिनुपर्ने 
अन्तर्वार्ताका क्रममा ठट्टा गर्दै क्रचले यस्तो प्रश्न राख्न पुगेछन्, ‘फुटबलबाट टाढा बस्न सक्नुहुन्छ कि हुन्न ।’ क्रचको प्रश्नमा त्यत्तिकै सुन्दर र हँसाउँदै विलियमले उत्तर फर्काए, ‘सन्तानको पिता हुँदा छोरा र बुबाबीच कस्तो सम्बन्ध हुन्छ, त्यो कसैलाई बताउनुपर्दैन । यसैगरी म र फुटबलबीचको यस्तै छ । अझ भनौँ, पिता बनेपछि फुटबलप्रतिको मोह बढ्यो ।’ 

राजकुमार विलियम फुटबल हेरिरहँदा खेलाडी वा दर्शकले रेफ्रीमाथि गालीगलौज गर्दा असाध्यै रिसाउने गर्छन् । उनी भन्छन्, ‘यदि म एफएकाे अध्यक्ष बनेँ भने मैदानमा यस्तो कार्य गर्न नै दिन्नँ । राजकुमार विलियम यस्तो मान्यता राख्छन्, गल्ती सबैबाट हुन्छ, संसारमा गल्ती नै नगरेको व्यक्ति फेलापार्न मुस्किल पर्ने उनी बताउँछन् । यसैकारण रेफ्रीको सामान्य गल्तीलाई मानवीय रूपमा क्षमा दिनुपर्ने विलियमको भनाइ छ । 

लकडाउन र दर्शकरहित फुटबल
किंग्सस्टन दरबारमा चलेको अन्तर्वार्तामा विलियमले लकडाउनमा आफ्नो वरपर सन्नाटा छाएको महसुस गरेको सुनाए । लगभग साढे दुई महिना रंगशालामा फुटबल हेर्न नपाउँदा जीवनकै नराम्रो क्षणका रूपमा उनले लिएका रहेछन् । भन्छन्, ‘लकडाउन चलिरहँदा आफूलाई सम्हाल्ने प्रयास गरेको थिएँ,तर सबै प्रयास विफल भयो, मेरोअगाडि र पछाडि केही गतिविधि भइरहेको थिएन, यो हुनुको एउटै मात्र कारण थियो, बेलायतको फुटबल (इपिएल) ठप्प थियो ।’ पहिलो दुई सातासम्मको लकडाउनलाई विलियमले सामान्य रूपमा लिए । 

तर, तेस्रो सातापछि इपिएल असाध्य मिस गरेको उनले जनाए । भन्छन्, ‘दोस्रो सातापछि लामो समयसम्म फुटबलविहीन हुन नसक्ने बुझेँ, त्यसैवेला हो मैले फुटबल र इपिएल धेरै मिस गरेको क्षण ।’ कोभिड–१९ को बीच फुटबल सुरु हुँदा खाली रंगशाला देख्दा प्रतिस्पर्धाजस्तै नलागेको उनको अनुभव रह्यो । ‘खाली रंगशालामा खेलाडी मात्र प्रतिस्पर्धा गरिरहँदा खेलजस्तै लागेन,’ राजकुमार विलियमले भने, ‘ खेलाडीलाई समर्थन गर्ने दर्शक नहुँदा फुटबलमा कुनै चार्म नै देखिनँ ।’ 

लकडाउनमा परिवारसँगै
लकडाउनमा फुटबल हेर्न नपाउँदाकाे दुःख  विलियमले परिवारसँगै धेरै समय दिएर बिर्साउने प्रयास गरेका थिए । लकडाउनको राजपरिवार जीवन कस्तो रह्यो ? क्रचको प्रश्न थियो । विलियमले भन्छन्, ‘किंग्सस्टन दरबार केटाकेटीहरूको स्कुलजस्तो बनेको थियो, दिनभरि किड्ससँगै हुन्थेँ म ।’ आफ्ना ससाना सन्तानहरूसँगै पूरै दिन समय दिँदा एक फरक अनुभव गरेको उनले बताए । विलियम भन्छन्, ‘लकडाउन अवधिमा मैले मेरा किड्ससँग बिताएको क्षण अविष्मरणीय थियो, उनीहरूको सानो वा ठूलो काम गर्न गर्दा अत्यन्तै खुसी हुन्थे ।’ 

लकडाउनमा आफू गणितमा कमजोर भएको पत्ता लागेको विलियमले खुलाए । ‘दुईवटा गणितको विषयमा मैले बुझाउनै सकिनँ, यसमा मैले आफूलाई कमजोर पाएँ,’ उनले भने ।
 
इंग्लिस खेलाडीमा मानसिक तनाव

विलियम सानै उमेरमा राइट ब्याकबाट खेल्थे । अझ, सिक्स ए साइड फुटबलमा उनी राम्रा खेलाडी नै मानिन्छन् । यसकारण पनि टोलीको हार, जित वा बराबरी नतिजा आउँदा खेलाडीको मनोभावना भनौँ वा खेलको विश्लेषण उनी तत्कालै गर्न सक्छन् । बेलायतको राजपरिवारमा फुटबल र खेलसम्बन्धी सबैभन्दा जानकार रहेका विलियमले जीवनमा धेरै खेलाडीसँग संगत तथा भेट गरेका छन् । डे«सिङ रुमको वातावरणले खेलमा असर गर्छ भन्ने उनको मान्यता छ । भन्छन्, ‘मैले धेरै खेलाडीलाई भेटेको छु, मलाई डे«सिङ रुमको बारेमा राम्रोसँग जानकारी छ, डे«सिङ रुमको ‘एट्मोसफियर’ नै खेल रणनीति तय हुन्छ ।’ अक्सर बेलायतको राष्ट्रिय पुरुष टोलीको ड्रेसिङ रुममा ‘प्रेसर’ तनावमा पाएको उनले अनुभव गरेका छन् ।

‘किन हो म जतिपटक इंग्लिस टोलीको ड्रेसिङ रुममा पुगेँ, त्यति नै पटक खेलाडी मानसिक रूपमा तनावग्रस्त भएको पाएँ, मलाई थाहा छैन, किन हाम्रा इंग्लिस खेलाडी सधैँ तनावमा रहन्छन् र खेल्छन्,’ वाइनको एक चुस्की लगाउँदै विलियमले क्रचलाई भने, ‘हामी कुरा गर्छौँ शारीरिक र फिट । जबसम्म दिमागमा बोझ रहने गर्छ, त्यसवेला फिटनेस शून्य लेभलमा झर्छ ।’ व्यावसायिक खेलका खेलाडीलाई मानसिक रूपमा फिट रहन सल्लाह उनी दिन्छन्, ‘हाम्रा प्रोफेसनल खेलाडी मानसिक रूपमा फिट हुनु अति आवश्यक छ, यो नै खेलमा राम्रो नतिजा निकाल्ने एक मात्र आधार हो ।’ 

लिभरपुलले च्याम्पियन्स जित्दा दंग
सन् २०१९ मा किंग्सस्टन रोयल अकाउन्टबाट विलियमले एउटा ‘ट्विट’ गरे । त्यसमा विलियमले जीवनकै उत्कृष्ट खेल हेर्न पाउँदा अति नै खुसी भएको सार्वजनिक गरे । सन् २०१९ को युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा लिभरपुलले स्पेनिस क्लब बार्सिलोना हराउँदा विलियमले आफू एन्डफिल्ड क्लबलाई समर्थन गरेको जनाएका थिए । यद्यपि एस्टोन भिल्लाका पूर्णकालीन समर्थन भए पनि स्पेनिस क्लबलाई हराएको टोलीप्रति गर्व लागेको उनले जनाए । 

‘च्याम्पियन्स लिगको सेमिफाइनल खेल मलाई असाध्यै मन पऱ्याे, यस्तो किसिमको खेल मैले अगाडि हेरेकै थिइनँ,’ २०१९ को मे महिनामा उनको टि्वट यस्तो थियो, ‘अझ फाइनल पनि इंग्लिस टोलीले नै जित्दा योभन्दा अर्को खुसी के हुन सक्छन र ?’ त्यसवेला लिभरपुलको प्रशंसा गरिरहँदा विलियमले भिल्लाका समर्थक रिसाउलान् भनी चलाखी अपनाएका थिए । ‘मलाई विश्वास छ, भिल्लाले यस्तो किसिमको धेरै खेल जितेको छ, म चाहन्छु च्याम्पियन्स लिगमा पनि यस्तै प्रतिस्पर्धा गरेको हेर्न पाऊँ,’ उनले भने । 

गेराथ टोलीमा हुनुपर्ने
क्रचका अन्य तीनजना साथी र विलियमबीचको अन्तर्वार्ता एक किसिमले हास्य र मनोरञ्जनले भरिएको थियो । राजकुमार विलियमले दरबारमा पाहुना बनेर आएका क्रचसँग सामान्य रूपमै व्यवहार गरेका थिए । अन्तर्वार्तामा विशुद्ध फुटबल मात्र थियो । कुनै पनि समय यो विषयभन्दा अन्तर्वार्ता लिने र दिने बाहिर गएनन् । यसै क्रममा क्रचले वर्तमान राष्ट्रिय टोलीबारे एउटा प्रश्न राखे । उनकाे प्रश्न थियो, ‘यदि विलियमले एफएको अध्यक्ष पद पाए, के काम गर्नु हुन्छ ।’ 

विलियमले भने, ‘म यदि म त्यो पदमा आसीन भए, अहिले नै गेराथ साउथगेटलाई राष्ट्रिय टोलीमा राख्छु ।’ पछिल्लो चार वर्षदेखि साउथगेट इंग्लिस टोलीका प्रमुख प्रशिक्षक हुन् । उनकै प्रशिक्षणमा बेलायतले रसिया विश्वकपमा २८ वर्षपछि सेमिफाइनलमा पुगेको थियो । विलियम थप्छन्, ‘साउथगेट हाम्रा लेजेन्ड हुन्, उनीजत्तिको धैर्यवान खेलाडी र प्रशिक्षक पाउन गाह्रो पर्छ ।’ 
एजेन्सीको सहयोगमा