नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनशनमा बसेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ई:सँग भेट गरेका छन् ।
पार्टीका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूका साथ सत्याग्रहस्थल वसन्तपुर पुगेर आइतबार दिउँसो वरिष्ठ नेता पौडेलले ई:सँग भेट गरेका हुन् । भेटमा वरिष्ठ नेता पौडेलले मुलुकमा देखिएका सम्पूर्ण समस्याको जड भ्रष्टाचार भएको बताए ।
उनले पार्टी नेकपा नेतृत्वको सरकारले जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै सरकारको हेलचेक्रयाइँविरुद्ध अभियानमा जुटेका युवाहरूको अभियानमा आफू र आफ्नो पार्टीको साथ रहेको बताए ।
नेता पौडेलले सरकारलाई अटेरी सरकारको संज्ञा दिए । उनले पिसिआरको दायरा बढाउन र क्वारेन्टाइन व्यवस्थित गर्न माग गर्दै अभियन्ताहरू अनशन बस्नुपर्ने अवस्था हुनु दुर्भाग्यपूर्ण भएको पनि बताए ।
पौडेलले भने, ‘जनताको स्वास्थ्यसँग जोडिएको सामान्य विषयमा अनशन बस्दा पनि नसुन्ने भनेको सरकार साँच्चै नै अटेरी सरकार हो । पिसिआरको दायरा बढाऊ, क्वारेन्टाइन व्यवस्थित होस् भनेको छ । अति नै सामान्य र अति नै आवश्यक मागहरू लिएर उहाँहरू अनशन बस्नुपर्ने अवस्था हुनु दुर्भाग्यपूर्ण कुरा हो ।’
उनले अनशनमा बसेका अनशनकारीको माग सम्बोधनका लागि राज्यले ध्यान नदिएर सरकारले गरिरहेको बेवास्ताप्रति आपत्ति जनाए । पौडेलले १६–१६ दिनसम्म अनशन बस्दा पनि माग सम्बोधन नगर्नु सरकारको चरम लापरबाही भएको बताए । अभियन्ता ई: विगत १६ दिनदेखि दोस्रोपटक सत्याग्रहमा बसेका छन् । यसअघि उनी पहिलोपटक ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए ।