१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सिर्जना शर्मा
२०७७ श्रावण १८ आइतबार ०९:२७:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

स्तनपान स्वस्थ जीवनको आधार 

Read Time : > 3 मिनेट
सिर्जना शर्मा
२०७७ श्रावण १८ आइतबार ०९:२७:००

अगस्त १ देखि ८ सम्म स्तनपान सप्ताह मनाइने गरेको छ । स्तनपान सप्ताह मनाउन विभिन्न संघसंस्था विशेष कार्यक्रममा व्यस्त छन् । यी प्रयास स्वस्थ जीवनका लागि शिशुलाई जन्मेलगत्तैबाट दुई वर्षसम्म आमाको दूध खुवाउन प्रोत्साहन गर्ने अभिप्रायले गरिएका हुन् । 

प्रकृतिले नै हरेक स्तनधारीको दूध उसको आफ्नो बच्चालाई अमृतसमान बनाइदिएको हुन्छ । बाघको दूध खुवाउँदैमा अन्य जीव बाघजस्तै बलियो हुँदैन । तर, यो परम तथ्यलाई गिज्याएझैँ हरेक अस्पतालका सुत्केरीको काखमा बट्टाको दूध बोतलमा चुसिरहेका नवजात शिशु देखिन्छन् । यस्तो किन ? नवजात शिशु मृत्युदरमा कमी ल्याउन पनि स्तनपानलाई प्रवर्द्धन गर्नु जरुरी छ । स्तनपान प्रवर्द्धन हुन स्वास्थ्य सेवा प्रणालीमा सुधार आउनुपर्छ । शिशुका लागि सबैभन्दा ठूलो र उत्तम खुराक उसैको आमाको दूध हो । तर, पाउडर दूध शिशुले सजिलोसँग खाने र त्यही खुवाउने फेसनबाट पनि स्तनपानमा कमी आउँदै गएको छ । साथै, स्तनपानबारे चेतनामा कमी, समुदायमा परामर्श केन्द्र तथा मिल्कबैंक (मानव दूध बैंक) नहुनुको कारणसमेत आमाहरू स्तनपान गराउनबाट पछि हटेका देखिन्छन् । 

प्रसव एवं सुत्केरी, एक यस्तो अवस्था हो, जसमा आमालाई खुसी मात्र होइन, अथाह पीडा र चिन्ता पनि हुन्छ । विभिन्न किसिमका हर्मोनले आमाको मुड र मानसिक अवस्थामा असर पारेको हुन्छ । यही कारण सुरुका केही दिन दूध नआउने, तर बिस्तारै स्वस्थ मनस्थिति रहेमा दूधको मात्रा बढ्ने हुन्छ । तसर्थ पहिलो हप्तामा आमालाई उचित परामर्शको खाँचो हुन्छ । घरपरिवारबाट विशेष माया र आत्मीयता तथा सहयोगको आवश्यकता हुन्छ । बच्चा जन्मेको सुरुको हप्ता दूध कम आउँछ । त्यसपछि जति चुसायो, उति आउँछ । आमाको दूधजस्तो राम्रो अर्को कुनै दूध हुँदैन । 

बच्चा पाएसँगै प्राकृतिक रूपमा आमाहरूमा दूध पग्रन सुरु हुन्छ । दूधको प्रवाह खासगरी शिशु जन्मेको तेस्रो दिनदेखि हुन्छ । तर, धेरै आमा दूध नै आएन भन्दै बट्टाको वा गाईभैँसीको दूध खुवाउँन थालिहाल्छन् । वैकल्पिक दूध सजिलैसँग शिशुले खान थालेपछि अभिभावक नै अन्य दूध खुवाउनेतर्फ लाग्छन् । तर, बुझ्नुपर्ने कुरा के छ भने शिशुलाई आमाको दूधजस्तो उत्तम अरू कुनै दूध हुनैसक्दैनन् । यसर्थ, सर्वप्रथम त बच्चा जन्मनासाथ दूधै आएन भन्ने आमाको सोचमा परिवर्तन गर्नु आवश्यक छ । दूधको मात्रा बढाउन थरीथरीका खानेकुरा खानुपर्छ भन्ने पनि होइन । सामान्य पोषिलो खाना पेटभरि खाए दूध आउँछ । आमाको मनको प्रसन्नताले दूध प्रवाहमा ठूलो भूमिका खेलेको हुन्छ । यसैले शिशुलाई आमाको नजिकै वा काखमा राख्दा आत्मीयता तथा प्रेमभावका कारण दूध प्रवाह बढ्छ । पति तथा परिवारले सुत्केरी आमा दुःखी वा निराश हुने जुनसुकै वातावरण कम गर्न पूर्ण सहयोग गर्नुपर्छ । 

‘स्तनपान अमृतसमान’को नारा हरेक आमालाई कण्ठ भइसकेको छ । त्यसैले, अबको प्रयास पुनः त्यही नारा वर्षको एक साता रटानका लागि करोडौं खर्चने कार्यमा नभई शिशुलाई स्तनपान गराउन छेक्ने पर्खाल भत्काउन खर्चिनु जरुरी छ ।

पहिलो दुई–तीन दिनसम्म आउने बिगौती दूधले शिशुको मानसिक एवं शारीरिक विकासमा ठूलो मद्दत पुर्‍याउँछ । आमाको बिगौती दूधमा रोग–प्रतिरोधात्मक तत्व बढी नै हुने हुँदा यसले रोगविरुद्ध लड्ने क्षमता बढाउँछ । ६ महिनासम्म पूर्ण स्तनपानको सुनिश्चितताका लागि समेत यो समयमा अन्य दूध खुवाउनु हुँदैन । आमाको दूध नखाने शिशुको पाचन प्रणालीमा गडबडी, झाडापखाला, बान्ता, कब्जियत, रुघाखोकी ज्वरो आइरहनेजस्ता समस्या देखिने हुन्छ । भविष्यमा मोटोपन, डाइविटिज र मुटुरोगबाट बच्नसमेत स्तनपानको भूमिका अहं हुन्छ । स्तनपान गर्ने बच्चामा यस्ता समस्या कम हुन्छन् र भइहालेको स्थितिमा पनि सामान्य उपचारबाट सन्चो हुन्छ । त्यसैले आमाको दूध सुरक्षित मात्र होइन, अमूल्य छ । 

आमाको दूध खान नपाएका शिशुहरूको शारीरिक स्वास्थ्य मात्र कमजोर हुने होइन, यस्ता शिशु कठोर स्वभावका र आपराधिक क्रियाकलापमा संलग्न हुने खालका पनि हुन सक्छन् । नेपालमा ५५ प्रतिशत आमाले जन्मेको पहिलो घन्टामै शिशुलाई दूध खुवाउने तथ्यांक छ । यो प्रतिशत बढाउन देशका केही अस्पताल, जस्तै– भरतपुर अस्पताल, भेरी अस्पताललगायतले स्तनपानलाई विशेष प्राथमिकता दिई प्लान डू स्टडी एक्ट (पिडएसए) विधिबाट स्तनपानमा आएका समस्याकोे जड पत्ता लगाई समाधानको उपाय खोज्ने विधि अवलम्बन गरेका कारण केही समययता जन्मेको पहिलो घन्टामै स्तनपान गराउनेको संख्यामा निकै वृद्धि भएको छ । स्तनपानका लागि खासगरी गर्भ रहेको सात महिनादेखि स्तनलाई शिशुले चुस्न मिल्ने गरी तयार पार्ने कोसिस गर्नुपर्छ । कुनै–कुनै आमाको दूधको मुन्टा दबेको हुन्छ, यस्तो समस्या भएमा पटक–पटक तेल वा चिल्लो क्रिम प्रयोग गरी आमाको स्तनको मुन्टा बाहिर निकाल्ने प्रयास गर्नुपर्छ । कोही आमाको भने जन्मजात मुन्टा दबेको कारण यस्तो प्रयास गर्दा पनि निप्पल माथि आउन कठिन हुन्छ । शिशुलाई स्तनपान गराउँदा आमाको दूधको मुन्टा चिरा पर्ने, दूध गानिनेलगायत विभिन्न समस्या आउन सक्छन् । यस्ता समस्याका कारण पनि आमाहरूले बीचैमा दूध खुवाउन कम गरेका हुन्छन् । यस्तो अवस्थामा स्वास्थ्य संस्थामा सम्पर्क राखी समस्या हल गर्न सकिन्छ ।  

स्तनपानबारे सामान्य कुराको जानकारी गर्भजाँचमा आएका वेलादेखि नै दिन जरुरी छ । त्यस्तै बच्चा जन्मेपछि तुरुन्त आमाको छातीमा घोप्टो पारी स्तनमा मुख पर्ने गरी राखिदिएमा शिशुले प्राकृतिक रूपमा स्तनपान गर्न थाल्छ । यसो गर्नाले नवजात शिशुले आमाको बिगौती दूध खान पाउने मात्र नभई सुत्केरीको पाठेघर खुम्चन अक्सिटोसिन्को काममा समेत सहयोग पुर्‍याउँछ । यसर्थ, स्तनपानलाई एक महत्वपूर्ण कार्यका रूपमा सबैले स्विकारेमा यसको प्रयोग बढ्न सक्छ ।

स्वास्थ्य संस्थामा सुत्केरी वार्डमा स्वास्थकर्मीले आमासँग शिशुलाई स्तनपान गराउनु भयो ? कतिपल्ट ? केही समस्या छ कि ? जस्ता कुरा अनिवार्य रूपमा सोधखोज गर्ने र आमासामु कुनै समस्या भए सुझाब र सहयोग दिन जरुरी छ । त्यसैगरी, शिशुहरूले कम्तीमा ६ महिना पूर्ण स्तनपान गर्ने अवसर दिलाउन महिलाले सुत्केरी बिदा ६ महिना पुर्‍याउनुपर्छ । कार्यस्थलमा स्तनपान कक्षको व्यवस्था गर्नु उत्तिकै आवश्यक छ । किनकि स्वस्थ बालबच्चा नै भोलि मुलुकको स्वास्थ्यका द्योतक हुन् । स्तनपानबाट निरोगी नागरिक मात्रै निर्माण हुँदैन, प्रतिभावान् नागरिकको आधारशिलासमेत तय हुन्छ ।

अमृत सेवन गर्ने जीव मृत्युबाट सधैँ टाढा हुन्छ भन्ने सबैले बुझ्नुपर्ने कुरा हो । ‘स्तनपान अमृतसमान’को नारा हरेक आमालाई कण्ठ भइसकेको छ । त्यसैले, अबको प्रयास पुनः त्यही नारा वर्षको एक साता रटानका लागि करोडौँ खर्चने कार्यमा नभई शिशुलाई स्तनपान गराउन छेक्ने पर्खाल भत्काउन खर्चिनु जरुरी छ ।

(लेखिका गोल्डेन कम्युनिटीसँग आबद्ध छिन्)