१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
महेशकुमार श्रेष्ठ, सञ्चालक, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड
विजयराज खनाल काठमाडाैं
२०७७ श्रावण १८ आइतबार ०८:०३:००
Read Time : > 3 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले जलविद्युत् बाहेकका क्षेत्रमा लगानी विस्तार गर्दै छ

Read Time : > 3 मिनेट
विजयराज खनाल, काठमाडाैं
२०७७ श्रावण १८ आइतबार ०८:०३:००

 गैर आवासीय नेपालीहरूको सेयर रहेको कम्पनी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले शुक्रबारदेखि साधारण सेयरका लागि आवेदन आह्वान गरेको छ । कुनै पनि लगानीकर्ताले लगानी गर्ने भनेको नाफा प्राप्त गर्नका लागि हो । उक्त कम्पनीले साधारण सेयरका लागि आह्वान गरेको अवस्थामा लगानीकर्ताले कुन आधारमा विश्वास गर्ने भनेर नयाँ पत्रिकाका विजयराज खनालले कम्पनीका सञ्चालक महेशकुमार श्रेष्ठसँग गरेको कुराकानी :


एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले जलविद्युत्को सेयरमा आकर्षण नदेखिएको समयमा शुक्रबारबाट आइपिओ जारी गरेको छ । किन ?

हामीले यो कम्पनी सन् २०१२ तिर स्थापना गरेका हौँ । विदेशमा रहेका नेपालीहरूको सामूहिक रूपमा ज्ञान, सीप र पुँजी स्वदेशमा लगानी गर्ने यसको उद्देश्य हो । नेपालको समृद्धिमा सघाउने उद्देश्यले स्थापना भएको यो कम्पनीले सो समय मुलुकमा जलविद्युत् आवश्यकता बढी देखेकाले यही क्षेत्रमा हामीले धेरै लगानी गरेका हौँ । यही कारण धेरैले यसलाई जलविद्युत् कम्पनी भन्ठानेका हुन सक्छन् । तर, यो लगानी कम्पनी हो । लगानी कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न नपाउने नियम रहेकाले हामीले कम्पनीको नाम नै परिवर्तन गरेका हौँ । 

अहिले यस कम्पनीले २७ मेगावाटको दोर्दी खोला, ७३ मेगावाटको मध्य तमोर, २८.१ मेगावाटको तल्लो लिखु र १४.३ मेगावाटको माथिल्लो मैलुन जलविद्युत् आयोजनामा लगानी गरेको छ । कम्पनीसँग अहिलेसम्म कुनै पनि कर्जा दायित्व छैन । अहिले जारी गर्न लागेको ३३ करोड ९८ लाख रुपैयाँबराबरको सेयरबाट उठेको रकम कम्पनीले थप लगानी गर्ने सोच हो । हामी जलविद्युत्मा मात्रै सीमित हुँदैनौँ, अन्य क्षेत्रमा समेत जान्छौँ । 

भनेपछि कम्पनीले अहिले सेयर जारी गरे पनि तत्कालै लगानीकर्तालाई प्रतिफल दिन सक्ने अवस्था छैन ? 

हो, लगानीकर्ताले प्रतिफल पाउन कम्तीमा एक–दुई वर्ष कुर्नुपर्ने हुन्छ । हामीले लगानी गरेको दोर्दी खोला जलविद्युत् आयोजना लगभग एक वर्षमा सम्पन्न हुन्छ । त्यसपछि प्रतिफल आउन सुरु हुन्छ । त्यस्तै, अन्य आयोजनाहरू पनि आगामी दुई वर्षमा सम्पन्न हुन्छन् । 

भौतिक पूर्वाधार मात्र होइन, विदेशमा रहेका नेपालीले सुरु गर्ने स्टार्ट अप व्यवसायहरूमा पनि लगानी गर्न सक्छौँ । अहिले मुलुकभित्र कृषिलाई आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्नेजस्ता सोच पनि कम्पनीको छ ।

हामीले यस कम्पनीमा ७ वर्षअगाडि लगानी गरेका हौँ । अहिले लगानी गर्नेले सय रुपैयाँ मूल्यमा नै सेयर पाउँछन् । उनीहरूले यत्तिको समय पर्खनु त परेन । अहिले कम्पनीमा जीवनाथ लामिछाने, शेष घले, मलगायत धेरै गैरआवासीय नेपालीहरू सञ्चालक समितिमा छौँ । अहिले यो कम्पनीमा ८ सय ९५ जनाको लगानी छ । हामीले जारी गर्न लागेको सेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई बिक्री गरिसकेका छौँ । सेयरमा कोषहरूबाट अधिक आवेदन प¥यो । उहाँहरू भनेको व्यावसायिक संस्था हो, राम्रो छ भन्ने नै यसको सन्देश पनि हो । 

अहिलेसम्म तपाईंहरूको लगानी जलविद्युत् क्षेत्रमा मात्रै देखिन्छ । सेयर बजारमा यस क्षेत्रको साख पनि गुमेको अवस्था छ, भविष्यमा आयोजना के हुने भन्ने द्विविधासमेत छ । लगानीकर्तालाई कसरी आश्वस्त पार्नुहुन्छ ? 

हामी जलविद्युत् कम्पनीमा मात्रै लगानी गर्दैनौँ । अर्को कुरा, अहिले पनि बजारमा राम्रा जलविद्युत् कम्पनीको मूल्यमा खासै ठूलो गिरावट आएको छैन । अयोजनाको सञ्चालन अवधि सकिएपछि के हुन्छ भन्ने कुरा धेरै पछिको कुरा हो । हाम्रा आयोजनाहरूको अवधि ३० वर्षको छ । हामीले केही वर्षपछि नै ती आयोजनाबाट वार्षिक १८–२० प्रतिशत प्रतिफल पाउने अवस्था आउनेछ र ३० वर्षको अवधिसम्म फाइदा लिइसकेका हुनेछौँ । तर, सो अवधिपछि पनि सरकार आफैँले मुलुकभरका सबै आयोजनाको व्यवस्थापन गर्न पक्कै पनि सक्दैन । त्यो समय मूल्य केही घट्न सक्छ । तर, सरकारले सम्बन्धितलाई ती आयोजना दिनुको विकल्प छैन । त्यसैले घाटामा जाने अवस्था नआउनेमा हामी विश्वस्त छौँ ।  

एनआरएनबाट मुलुकमा खासै लगानी नभएका कुरा उठ्ने गर्छन् । अहिले फेरि पनि मुलुकभित्रकै सर्वसाधारणबाट सेयरमा लगानी गरेर पुँजी वृद्धि हुन लाग्यो भन्ने छ नि ? 

गैरआवासीय नेपालीहरूबाट मुलुकमा लगानी नै नभएको होइन । उपेन्द्र महतोले अस्पतालमा राम्रै लगानी गर्नुभएको छ, शेष घलेले होटेल क्षेत्रमा लगानी गर्नुभएको छ, जीवा लामिछाने, भुवन भट्टलगायतले लगानी गरिरहनुभएको छ । अहिले नै पनि सानिमा बैंक गैरआवासीय नेपालीहरूले प्रवद्र्धित गरेको बैंक हो । सानिमा माई हाइड्रो पनि यसकै उदाहरण हो । 

यस कम्पनीमा हामीले ७९ करोड २८ लाख लगानी गरेका छौँ । अहिले हाम्रो अधिकृत पुँजी ५ अर्ब छ । यो सेयर जारीपछि १ अर्ब १३ करोड रुपैयाँ पुग्छ । हामी अधिकृत पुँजी १० अर्ब बनाउने योजनासाथ अगाडि बढेका छौँ । अहिले सेयरमा नेपालबाहिर रहेकाहरू धेरैले समावेश हुन पाउनुभएको छैन । सेयरको डिम्याट खाता अनिवार्य रहेको र नेपाली बैंकमा खाता अनिवार्य गरिएको छ । केही जाने–बुझेकाहरूले भने नेपालबाट आफैँ र आफन्तमार्फत पनि सेयरमा लगानी गर्न सक्ने अवस्था छ । देशबाहिर रहेका धेरैलाई भने समेट्न गाह्रो छ । तर, हामी निकट भविष्यमा स्मार्ट एनआरएनजस्ता एप्लिकेसन बनाउँदै छौँ । यसले खाडी मुलुकमा रहेका साना–साना पुँजीलाई पनि कम्पनीमा भित्र्याउन सहयोग पुग्नेछ । डिम्याट एकाउन्ट, अनलाइन बैंकिङका सुविधासमेत यसमा हुनेछन् । हामी पछि पनि पुँजी वृद्धि गर्छौँ नै, सो वेला अहिले सहभागी हुन नसक्नुभएका, विदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीलाई समेट्नेछौँ । 

कम्पनीले पछि पनि पुँजी बढाउने कुरा गर्दा उपलब्ध पुँजी लगानीका लागि योजना बनाउनुभएको छ ? 

हामी नाफा छ भन्दैमा मदिराजस्ता उद्योगहरूमा लगानी गर्नेछैनौँ । तर, अन्य लाभका क्षेत्रहरूमा लगानी गर्छौँ । भोलिका दिनमा कोभिडको अन्त्यसँगै नेपालमा फेरि पनि पर्यटन क्षेत्रमा ढोका खुल्नेछ । हामी होटेललगायतमा लगानी गर्न सक्छौँ । ठूला–ठूला आयोजना, राष्ट्रिय गौरवका आयोजनाहरूमा समेत लगानी गर्ने ठूलो कम्पनी बन्ने सोच हो । 

हामीलाई अहिले नै पनि मुलुकभित्रका कतिपय क्षेत्रबाट लगानीका लागि प्रस्ताव आउने गरेका छन् । उपयुक्त र प्रतिफलसमेत हुने क्षेत्र भेटिएमा लगानी गर्छौँ । भौतिक पूर्वाधार मात्र होइन, विदेशमा रहेका नेपालीले सुरु गर्ने स्टार्ट अप व्यवसायहरूमा पनि लगानी गर्न सक्छौँ । अहिले मुलुकभित्र कृषिलाई आधुनिकीकरण गर्ने, व्यवसायीकरण गर्नेजस्ता सोच पनि कम्पनीको छ । कोभिड–१९ का कारण मुलुकभित्र समस्यामा परेका र सम्भावना भएका क्षेत्रबाट पनि लगानीका प्रस्ताव आइरहेका छन् । उचित मूल्यमा पाइए र प्रतिफलसमेत हुने देखिएमा त्यस्ता क्षेत्रमा पनि लगानी गर्छौँ ।