मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पुरञ्जन आचार्य
२०७७ श्रावण १८ आइतबार ०९:५५:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेसमा भावी सभापति को र कस्तो ?

१४औँ महाधिवेशनमा देउवा वा देउवाजस्तो व्यक्ति सभापतिका लागि स्वीकार्य छैन भन्ने हिम्मत छ कि छैन ?

Read Time : > 5 मिनेट
पुरञ्जन आचार्य
२०७७ श्रावण १८ आइतबार ०९:५५:००

विराटनगरबाट केही साथीले नेपाली कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्ने समय गुज्रिन लाग्यो, पैसा पठाउने होइन भनी फोन गरे । म लकडाउनमा ढुक्कसाथ काठमाडौं बसेर यो मुलुकमा कांग्रेस हुनुको औचित्य खोज्दै थिए । शैलजा आचार्य ०५१ सालपछि कांग्रेसको अवस्था देखेर यो पार्टीको औचित्य समाप्त भयो भन्नुहुन्थ्यो । फेरि कांग्रेस एउटा आन्दोलन हो र समाजमा आन्दोलन मर्न नदिन कांग्रेसको अझै औचित्य छ भनी आफैँ यो पार्टीको औचित्य खोज्नुहुन्थ्यो । बिपी कोइराला कांग्रेसजन कस्तो हुनुपर्छ भनी त्यसको मापदण्ड बारम्बार भन्नुहुन्थ्यो । गर्व र गरिमाले भरिएको आत्मसम्मानयुक्त व्यक्तित्व नै कांग्रेस हो भन्ने उहाँको मान्यता थियो । कुनै पनि सभा, सम्मेलन र भिडभाडमा टाढैबाट कांग्रेस चिनिन्छ, किनकि उसको छाती तन्किएको र टाउको उठेको हुन्छ ‘पृथक्’ भन्ने मान्यता बिपीको थियो ।

कांग्रेसजनसँग आत्मसम्मानयुक्त स्वभिमानी जीवन थियो र मुलुक रूपान्तरणको ‘महान् मिसन’ पनि थियो । मुलुक रूपान्तरणको रूपरेखा पनि बिपी कोइरालाले सरल रेखाझैँ कोरेका थिए । मुलुक कस्तो बनाउने ? जस्तो नेताको परिवार छ, मेरो मध्यम वर्गीय परिवार छ, त्यस्तै नेपाल बनाउने बिपीको कथन छ । आजको नेताको परिवार जस्तो नेपालीको आयस्तर बनाउँछु भन्ने नेता को होला ? असम्भव । गाउँको रुपान्तरण नै देश रुपान्तरणको महान् प्रक्रिया हो र त्यो कृषिको सुधारबाट मात्र सम्भव छ, बिपी यस्तै गहिरो र जनतासँग जोडिएको राजनीति गर्थे । कांग्रेसमा क्रियाशील हुनुको कारण यो पार्टीका संस्थापकले यस्तै–यस्तै खोजेका थिए । राजनीतिक स्वतन्त्रता, आर्थिक स्वतन्त्रता, सांस्कृतिक विविधतामा एकता र स्वभिमानी समतामुखी नागरिक र देश, बिपीको सपना यही हो । कांग्रेसका संस्थापकलाई कांग्रेस हुँदा यही प्राप्त गर्ने ‘नसा’ थियो, तिनको धमनीमा । 

राजनीति ‘नशा’ हो । राजनीतिको नशा चढेपछि कहिल्यै उत्रिँदैन भनी तिनताकाका कांग्रेसी बुढापाका भन्थे । यही नशामा कांग्रेस पहिलो पिँढीका नेताहरूले सर्वस्व समर्पण गरे, कांग्रेस हुनुपर्दा । कांग्रेस संस्थापकको राष्ट्रिय मिसनको पवित्रता र देशभक्ति देखेर यसको दोस्रो पिँढी, तेस्रो पिँढी तयार भयो । प्रत्येक नवपिँढीको आवागमनसँगै कांग्रेसको मूल्य, मान्यता र गर्व गर्नलायक कुरा कांग्रेसभित्रै हरायो । सात दशकभन्दा बढी भयो, कांग्रेसको आयुले नेपालीको औसत आयु पार गरेको छ । अब यसको नयाँ जीवन प्रारम्भ गर्ने वेला भयो, जसको सुरुवात १४औँ महाधिवेशनबाट सम्भव छ । कांग्रेसको १४औँ महाधिवेशन हुन गइरहँदा देशमा कांग्रेसको औचित्यमाथि प्रश्न उठिरहेको छ । के यो पार्टी जीवन्त छ, भनेर । यस्तो लाजमर्दो संशय कांग्रेसबारे नागरिकमा उठ्नु स्वाभाविक होइन । अझ झन् प्रतिपक्षमा भएको समय सत्तापक्षभन्दा बढी मुखरित र ऊर्जावान् भएर पार्टी जीवन्त हुन्छ, यहाँ कांग्रेस चुक्यो । 

नागरिकबीच कहीँ कतै सम्मान नपाउने र सम्बोधन गर्नै नपर्ने जत्था नै पुरानो र गौरवशाली पार्टी कांग्रेसको नेता भएर बसेको छ । कांग्रेस जमेको पोखरीजस्तो भएको छ, जहाँ नवीन विचार र दृष्टिकोण नेतृत्वबाट निःसृत हुने सम्भावना नै समाप्त भएको अवस्था छ ।

कांग्रेस यतिखेर प्रतिपक्षमा छ र प्रतिपक्षको भूमिकामा यो पार्टीका नेता शेरबहादुर देउवा बालुवाटारमा हँसिलो मुद्रामा बढी देखिन्छन् । ऊर्जाविहीन कांग्रेसलाई सभापति देउवाको प्रधानमन्त्री ओलीसँगको हँसिलो फोटो–सेसनले मर्माहत गर्छ । सभापतिसँगै महामन्त्री डा. शशांक कोइराला र सयकडौँको संख्यामा रहेका कांग्रेसका केन्द्रीय सदस्यको कांग्रेसमा हुनुको औचित्य के छ, यतिखेर प्रश्न नागरिकबाट उठेको छ । अझ तितो शब्दमा भन्ने हो भने कांग्रेस पार्टीभित्र विगत तीन दशकदेखि ‘पार्टीसत्ता र राज्यसत्तामा’ कब्जा जमाएको सम्पूर्ण ‘स्टोक अफ लिडरसिप’ यतिखेर नागरिकबीच अस्वीकार्यझँै भएको छ । कोरोना महामारी, प्राकृतिक विपत्ति, आप्रवासी श्रमिक, युवा बेरोजगारी, ध्वस्त मध्यम वर्ग, बन्द उद्योग, निर्लज्ज सर्वोच्च न्यायालय कहीँ कतै पनि कांग्रेस पार्टी वा यिनको नेताको उपस्थिति जनताबीच छैन । छाया सरकारको नेतृत्व, संसदीय दलको नेता र कांग्रेस सभापति ‘थ्री इन वन छन् देउवा’, तर कुनै पनि भूमिकामा सामान्य न्याय गर्न सकेका छैनन् । कम्तीमा पनि कांग्रेसबीच १४औँ महाधिवेशनमा देउवा वा देउवाजस्तो व्यक्ति सभापतिका लागि अब स्वीकार्य छैन भन्ने हिम्मत छ कि छैन ? परीक्षणमा छ । 

कांग्रेस पार्टीभित्र गुट, विभाजनकारी, अक्षम र गिरोहको दबदबा छ । अर्थात् नागरिकबीच कहीँ कतै सम्मान नपाउने र सम्बोधन गर्नै नपर्ने जत्था नै सबैभन्दा पुरानो र गौरवशाली पार्टी कांग्रेसको नेता भएर बसेको छ । कांग्रेस जमेको पोखरीजस्तो भएको छ, जहाँ नवीन विचार र दृष्टिकोण नेतृत्वबाट निःसृत हुने सम्भावना नै समाप्त भएको अवस्था छ । देशको राजनीतिक अवस्थाले भने कांग्रेस फेरि एकपटक लोकतन्त्र रक्षार्थ गतिशील र ऊर्जावान् हुनुपर्ने आवश्यकता देख्छ । यस्तो अवस्था सिर्जना गर्न कांग्रेसको १४औँ महाधिवशेन अवसर भएर आएको छ । देशमा यतिखेर झन्डै दुईतिहाइको कम्युनिस्ट सरकार छ । सबै प्रदेशमा कम्युनिस्ट बाहुल्यताको सरकार छ । ०४६ सालपछि कम्युनिस्टलाई लोकतान्त्रिक रुपान्तरण गर्न कांग्रेसले आफ्नो पार्टीभित्र ‘नयाँ दर्शनको’ विकास ग¥यो । अहिले कांग्रेस रुँदै छ, कम्युनिस्टले लोकतन्त्रलाई चिहानमा पु¥याउन थाल्यो भनेर । लोकतन्त्रलाई मात्र होइन, कांग्रेसलाई नै चिहानमा पु¥याउने खतरा कांग्रेसी देख्दै छन् कम्युनिस्टबाट । यद्यपि कांग्रेस सभापति देउवा पार्टी हितविपरीत प्रधानमन्त्री ओली सरकारसँग लेनदेन र हँसीमजाक गरी स्वयं कांग्रेसको चिहान खन्न कम्युनिस्टलाई सहयोग गर्दै छन् । कांग्रेसमा १४औँ महाधिवेशनबाट ऊर्जावान् र सक्षम नेतृत्व आउनेछ भन्ने विश्वास समाप्त भएको छैन ।

केही दिनको द्विविधापछि कांग्रेसको क्रियाशील सदस्यको पुर्जीलाई निरन्तरता दिएँ, यही विश्वासमा । म पुर्जा समातेको किसान छु । पुर्जा समातेको कांग्रेस छु । पुर्जा समातेको डिग्री होल्डर छु । यही क्रममा अब म फेरि अर्को महाधिवेशनसम्म ‘खाँटी’ कांग्रेस भएँ, पुर्जा समातेर । मलाई थाहा छ, मेरो कांग्रेस हुनुको दाबा अन्त लाग्दैन, म आफैँसँग मात्र लाग्छ । तर, अब खाँटी कांग्रेस भएपछि यो पार्टी कस्तो हुनुपर्छ ? कसरी राष्ट्रिय राजनीतिमा यसको भूमिका प्रभावकारी होला, यो काम ‘कोबाट’ सम्भव छ भन्ने चिन्ता र चासो मलाई हुनुपर्छ । सबै विश्लेषण अहिले सम्भव छैन, क्रमशः प्रकट गर्दै जानेछु । सक्रिय सदस्यता नवीकरण गरेपछि कांग्रेस हुनुको औचित्य पुष्टि गर्ने नैतिक दायित्व भयो मेरो।

फेरि क्रियाशील सदस्यभन्दा माथि जान कांग्रेसमा मेरो औकात छैन र त्यो तिकडम पनि म जान्दिनँ । तसर्थ म जे सक्छु, त्यही गर्छु । अर्थात् कांग्रेसको दसा र दिशा । माथि कांग्रेसको संस्थापक नेतासँग जोडिएर कांग्रेसको गौरवशाली इतिहास स्मरण गरियो । भनिन्छ, इतिहासको उत्खननबाट भविष्यको मार्ग पहिल्याउन सजिलो हुन्छ । युरोपको मध्ययुगीन अन्धकार युगलाई प्रकाशमय बनाउन युरोपवासीले रोमन, ग्रिक, इजिप्ट र कन्स्टाइनटिनोमा आफ्ना पूर्वजले छरेर, भनेर र लेखेर गएका इतिहास पल्टाए । यसैबाट युरोपमा पुनर्जागरणकाल आयो । कांग्रेसले १४औँ महाधिवेशनमा सर्वप्रथम इतिहासको उत्खनन् र बहस गर्नुपर्छ, पार्टीमा पुनर्जागरण उद्भव गराउन । यो कसरी सम्भव छ ? र के गर्दा हुन्छ ?

म केही सूत्रबद्ध रूपमा १४औँ महाधिवेशनका लागि प्रस्ताव राख्छु । यसमा कांग्रेस नेतृत्वले मात्र होइन, कांग्रेस कार्यकर्ता, समर्थक र शुभेच्छुकले पनि गम्भीर बहस र छलफल गरून् । पहिलो, कांग्रेसले आफ्नो इतिहास पल्टाउनुपर्छ । इतिहासको वैचारिक यात्रालाई समातेर आगाडि नबढी कांग्रेसले आफ्नो दिशा समात्न सम्भव छैन । कांग्रेसको इतिहास भनेकै बिपीको इतिहास मान्ने हो भने बिपीद्वारा लिखित र वाचन गरिएको सम्पूर्ण सामग्री अध्ययन गर्नुपर्छ । बिपी मात्र होइन, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईमाथि पनि ‘रिभिजिट’ गर्नुपर्छ ।

कांग्रेसका सबै घोषणापत्र र बैठकबाट पारित निर्णयको गम्भीर अध्ययन र अनुसन्धान गरी भविष्यको कांग्रेसलाई दिशा दिन सम्भव छ । त्यहाँ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रका आधार भेटिनेछन् । यी सबै डट्सलाई कनेक्ट गरेर एउटा वैचारिक नयाँ दस्ताबेज आजको अर्थात् १४औँ महाधिवेशनको लागि कांग्रेसको आवश्यकता होइन, अनिवार्यता नै भइसक्यो । दोस्रो, महाधिवेशन सर्वसम्मत रूपमा गर्नेतर्फ सबैको प्रयत्न हुन सके कांग्रेसभित्रको विभाजन, गुट र गिरोहलाई कमजोर बनाउन सम्भव छ । यसमा सबैभन्दा प्रमुख जिम्मेवारी शेरबहादुर देउवाको छ । पार्टीबाट सम्मानजनक बहिर्गमनका लागि १४औँ महाधिवेशन देउवालाई अवसर भएर आएको छ, सर्वसम्मत कांग्रेस सभापतिलगायत सबैको चयन गर्न उनी अग्रसर भए । 

विगत लामो समयदेखि राज्यसत्ता र पार्टीसत्ताको नीतिगत तहमा बस्नेहरूले त्याग गर्न सके कांग्रेसमा नयाँ संस्कार र संस्कृतिको जन्म हुन्थ्यो । फ्रेस नेतृत्वका लागि मार्ग प्रशस्त हुन्थ्यो । कांग्रेस आजको जस्तो दयनीय अवस्थामा पु¥याउनेले गर्ने प्रायश्चित पनि यही हो । तर, नेताहरूले त्यागको कुरालाई ‘युटोपियन विचार’ भनी अस्वीकार गर्नेछन्, तसर्थ नागरिकको यो चाहना सम्बोधन गर्न नेताहरूले नचाहे कार्यकर्ताले हस्तक्षेप गर्न सक्नुपर्छ । तेस्रो, कांग्रेसको ‘वोगस क्रियाशील’ सदस्यताका कारण कांग्रेसभित्रै कांग्रेस अल्पमतमा छ, अनिर्णयको बन्दी भएको छ । कांग्रेसजन कस्तो हुनुपर्छ भनेर माथि नै बिपीका विचार राखियो । कांग्रेस नेतृत्वलाई पनि कांग्रेस पार्टीको संगठनात्मक ढाँचा अराजनीतिक, भद्दा र भ्रष्ट छ भन्ने थाहा छ । वास्तवमा कांग्रेसका नेता नै कांग्रेसको अराजनीतिक ढाँचाबाट सबैभन्दा पीडामा छन् । योग्य र इमानदार कांग्रेस उम्मेदवारविरुद्ध कांग्रेसको वोगस क्रियाशील सदस्यले हुर्मत लिने काम मात्र गरेको छ । यस्तो क्रियाशील सदस्यता बन्द गर । 

१४औँ महाधिवेशन राजनीतिक संगठन निर्माणको पुनर्जागरण काल हो भनी बोल्ड स्टेप चाल्न अहिले नेतृत्व हच्किनु हुँदैन । यहाँनेर कम्युनिस्टसँग वैचारिक, सांगठनिक र ऊर्जावान् भएर फिल्डमा उत्रिन कांग्रेस अब ठेकेदार, व्यापारी, तस्कर र धनीमानीको पार्टी भएर सम्भव छैन । समाजका सबै तप्काको मानिस राजनीतिक पार्टीमा आउने कुरासँग असहमति हुनुहुँदैन, तर पार्टी तिनको मात्र हितमा काम गर्ने अवस्था आउनु दुर्भाग्य हो ।

अन्तमा, कांग्रेसमा देउवा गुट, पौडेल गुट, कोइराला गुट र सिटौला गुट मुखरित भएर आएका छन्, सभापतिको दाबेदारीमा । कांग्रेसमा बिपीले निर्धारण गरेको मापदण्डअनुसारको कांग्रेस गुट कतै देखिँदैन । देउवा गुटमा देउवा प्रयोग भएर असफल भइसकेका छन्, उनलाई आफ्नो इतिहास सच्याउने अवसर आएको छ बिदाबारी भएर । रामचन्द्र पौडेल गुटमा पौडेल कुन अर्थमा देउवाभन्दा पृथक् हुन् भन्ने मान्यता स्थापित नगराई उनको आकर्षण सन्देहमा छ । कार्यकर्ताले देउवा र पौडेललाई फरक रूपमा नबुझ्दा पौडेलका लागि यो ठूलो समस्या भएको छ । 

कोइराला गुटलाई देउवा असफल भएर अवसर दिएका छन्, कांग्रेस कोइरालाबाहेक अरूले चलाउन सक्तैन भनेर । कार्यकर्ताले डा. शेखरको संगठनमा देखिएको सक्रियता स्विकार्लान् ? सिटौला गुटमा भएका गगन र प्रदीपको सम्भावना कांग्रेसमा अपार छ । यी दुईको भविष्य र सिटौलाको आफ्नै राजनीति पनि सधैँ मोलतोलमा बित्ने कि लोकतन्त्र र कांग्रेसको बृहत् हितमा खोज्ने ? सोच्ने वेला आयो । कांग्रेस हुुनुको नयाँ अर्थ अब १४औँ महाधिवेशनबाट परिभाषित होला, हुनुपर्छ । तर, गुटको जितले यो सम्भव छैन, तसर्थ सर्वसम्मत निर्णयमा जाने सबैमा सदासयता जागोस् । सक्रिय सदस्यको नवीकरणसँगै पुर्जा लिएपछि मेरो काम अब सकियो ।