१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १८ आइतबार ०६:४५:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

नेपाल-चीन सम्बन्धका ६५ वर्ष

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १८ आइतबार ०६:४५:००

नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएको ६५ वर्ष पूरा भएको छ । परम्परागत रूपमा नेपालले चीनलाई आफूभन्दा माथिल्लो दर्जाको देशका रूपमा मान्यता दिएर पाँच-पाँच वर्षमा एकपटक दूत र कोसेली पठाउँथ्यो । चीन, नेपालजस्ता आफ्ना वरपरका राजालाई लौ राम्रोसँग राज्य चलाएर गरिखानू भनेजस्तो गरी आफ्ना मातहतका राज्यझैँ व्यवहार गथ्र्यो । तर, साम्राज्य विस्तारका दृष्टिले नेपालमाथि कहिल्यै हस्तक्षेपचाहिँ गरेको थिएन । एकपटक चिनियाँहरू वेत्रावतीसम्म आएर नेपाललाई हडप्ने हुन् कि झैँ गरेको भए पनि तिनीहरू सम्झौता गरेर फर्केका थिए । यता पछिल्लो ६५ वर्षको नेपाल-चीन सम्बन्धको इतिहास भने आपसी विश्वास र सहयोगको रहेको छ । दुई देशबीच ठूलै तनावको घटना केही पनि भएको छैन।
 
एकपटक तिब्बतबाट नेपाली सीमाभित्र पसेर चिनियाँ सेनाले एक नेपाली सैनिकको हत्या गरेको घटनालाई पनि दुई देशबीच तनाव नहुने गरी सुल्झाइएको थियो । सीमा निर्धारणको काम पनि भद्र रूपमै भएको हो । पञ्चायतकालीन समयमा होस् या हाल, चीन जहिले पनि नेपालको गतिलो विकास साझेदार रहँदै आएको छ । नेपालका बाटाघाटा, पुल–पुलेसा, नहर र विद्युत्, उद्योग कारखानालगायत अनेक पूर्वाधारमा चीनको लगानी उल्लेख्य छ । नेपालले पनि चीनका चासोलाई सम्बोधन गर्ने विषयमा कमी हुन दिएको छैन । तिब्बत र ताइवान मामिलामा नेपालले एक चीन नीतिको समर्थन गर्दै आएको छ । नेपालमा चीनविरोधी गतिविधि हुन नदिने गरी काम गरेको छ । पछिल्लो समय नेपाल–चीनको पहलमा स्थापित एसियाली पूर्वाधार विकास बैंकको संस्थापक सदस्य र बिआरआईको एउटा सदस्य राष्ट्र रहेको छ। 

विकसित घटनाक्रममा नेपालको राष्ट्रिय हित र चीनसँगको सम्बन्धका हितबीच विरोध उत्पन्न हुन नदिई सन्तुलन मिलाएर लाने कूटनीतिक चातुर्य नेपालले देखाउन सक्यो भने चीनको विकासबाट हामीले पर्याप्त फाइदा लिन सक्नेछौँ ।

गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र त्यसअघि नेपालका सरकार तथा राष्ट्रप्रमुखबाट भएका भ्रमण आदान–प्रदानले दुई देशलाई निकट ल्याउन सहयोग गरेका छन् । नेपालमा चिनियाँ प्रत्यक्ष लगानी विस्तार भएको छ । चिनियाँ बन्दरगाहसम्म नेपालको सहज पहुँच र हिमालय आरपार सम्पर्क सञ्जाल विस्तारका लागि भएका सम्झौताले नेपाललाई भारतवेष्टितताको एउटा श्रापबाट मुक्ति मिलेको छ । तर, दुई देशबीचको सम्बन्ध सधैँ सहज र सकारात्मक सरल रेखामा हिँड्छ भन्नचाहिँ गाह्रो हुन्छ । खासगरी चीनको फैलिँदो आर्थिक तथा सामरिक शक्तिले बिस्तारै स्थापित विश्वशक्तिका रूपमा अमेरिकालाई चुनौती दिन थालेको छ । उदाउँदो चीन र चुलीमा पुगेर रोकिएको अमेरिकी स्वार्थहरू टकराउँदै जाँदा दक्षिण एसिया पनि त्यसको चपेटामा परेको छ । नेपालको भौगोलिक अवस्थितिका कारण भारतसँगका यसका केही विशिष्ट सम्बन्धहरू छन् । चीन र भारतबीचका टकरावले पनि हामीलाई कहीँ न कहीँ असर पारिराख्छ । 

भारत र नेपालबीच सीमासम्बन्धी विवाद हुँदा भारतीय संस्थापनले निरन्तर नेपाललाई चीनबाट परिचालित शक्तिका रूपमा गर्न खोजेको व्याख्याले हाम्रा जोखिमलाई देखाउँछन् । चीन र अरू शक्तिबीच विचारधारात्मक संघर्ष पनि छ । अमेरिका यतिवेला चीनसँगको आफ्नो संघर्षमा विश्वको समर्थन जुटाउन चिनियाँसँग होइन, चीनको सत्ताधारी कम्युनिस्ट पार्टीसँग हाम्रो दुस्मनी हो भनेजस्तो विचार प्रवाह गरिरहेको छ । 

यता नेपालमा सत्ताधारी कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको भाइचारा सम्बन्धको व्यवस्थापन सही ढंगले नहुँदा कतिपय मित्रशक्ति पनि झस्केका छन् । यी विकसित घटनाक्रममा नेपालको राष्ट्रिय हित र चीनसँगको सम्बन्धका हितहरूबीच विरोध उत्पन्न हुन नदिई सन्तुलन मिलाएर लाने कूटनीतिक चातुर्य नेपालले देखाउन सक्यो भने चीनको विकासबाट नेपालले पर्याप्त फाइदा लिन सक्नेछ ।