मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना
२०७७ श्रावण १८ आइतबार ०४:००:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

‘इनफ इज इनफ’ अभियानलाई कांग्रेसको समर्थन : देउवाले भने, ‘अनशन तोडेर आन्दोलनमा आउनुहोस्, म पनि सहभागी हुन्छु’

Read Time : > 2 मिनेट
तस्बिर : दीपेन्द्र ढुंगाना
२०७७ श्रावण १८ आइतबार ०४:००:००

प्रमुख प्रतिपक्षी दल कांग्रेसले ‘इनफ इज इनफ’ अभियानको आन्दोलनमा समर्थन जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले १५ दिनदेखि आमरण अनशनमा रहेका अभियन्ता ईःलाई भेटेर अभियानको आन्दोलनमा समर्थन जनाएका हुन् । देउवाले अनशन तोडेर सशक्त आन्दोलनमा उत्रिन आग्रह गर्दै त्यस्तो आन्दोलनमा आफू पनि सहभागी हुने विश्वास दिलाएका छन् । 

सभापति देउवाले अनशनरत युवालाई अनशन तोडेर आन्दोलनमा उत्रिन सुझाब मात्र दिएनन्, उत्रिए आफू पनि सहभागी हुने वाचासमेत गरे । ‘ज्यान जोगाउनुपर्छ, यो अनशन तोडेर आन्दोलन गर्नुहोस् । आन्दोलनमा म पनि सहभागी हुन्छु,’ अनशनमा रहेका अभियन्ता ईःसँग कुरा गर्दै देउवाले भने ।

कोभिड–१९ को सबल व्यवस्थापनको मागसहित १४बुँदे माग राखेर इनफ इज इनफका अभियन्ता ईः १५ दिनदेखि आमरण अनशनमा छन् । आफूहरूको आन्दोलनमा सत्तारुढ दलका कार्यकर्ताले धम्की दिएको र विपक्षीले सहयोग नगरेको अभियन्ताको गुनासो आइरहेका वेला देउवा शनिबार अनशनस्थल वसन्तपुर दरबार स्क्वायर पुगेका थिए । 

अनशनरत युवाहरूले उठाएका माग तत्काल सम्बोधन गर्न देउवाले सरकारसँग पनि आग्रह गरेका छन् । ‘उहाँहरूको मागलाई हाम्रो समर्थन छ । मान्छेलाई मर्न दिनुहुन्न । ओली सरकारले तुरुन्तै कुरा गरेर अनशनमा बसेका युवाहरूलाई बचाउनुपर्छ,’ देउवाले भने । शान्तिपूर्ण प्रदर्शनसमेत गर्न नदिएर सरकारले धरपकड गरेकोमा पनि देउवाले आपत्ति जनाए । 

सभापति देउवासँगै अनशनस्थल पुगेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले युवाका मागलाई सरकारले गम्भीरतापूर्वक नलिएकोमा दुःख व्यक्त गरे । ‘उहाँहरूले उठाएका मागलाई कसैले पनि नाजायज भन्न सक्दैन । सरकारले अनशन बस्नेहरूको मागलाई सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘कोरोना महामारीबाट देशलाई बचाउने माग कसैको निजी स्वार्थ होइन । सरकारले यो विषयलाई लामो समयसम्म पनि गम्भीरतापूर्वक नलिएकोमा दुःख लागेको छ ।’

सरकारले आइतबारसम्म आरडिटी परीक्षण रोक्ने आश्वासन दिएको छ । सहमति र मागप्रति सरकारले बेवास्ता गरेको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रेका अभियन्तासँगको शुक्रबारको भेटमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आरडिटी परीक्षण रोक्ने र पिसिआर परीक्षण मात्रै गर्ने आश्वासन दिएका थिए ।

१८ असारमा अनशनकारी युवालाई भेट्न अस्पताल नै पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूका माग पूरा गर्ने वाचा गरेका थिए । तर, माग पूरा नभएको भन्दै अनशन बसेका युवाहरू शुक्रबारदेखि शान्तिपूर्ण आन्दोलनमा होमिएका छन् । 

‘इनफ इज इनफ’ अभियानको प्रदर्शनमा दोस्रो दिन पनि रोक 

इनफ इज इनफ’को शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले दोस्रो दिन पनि रोक लगाएको छ । शनिबार नक्सालस्थित भाटभटेनी सुपरमार्केटअगाडि शान्तिपूर्ण प्रदर्शन गरिरहेका अभियानका सदस्यलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरिएकालाई महानगरीय प्रहरी वृत्त मालीगाउँमा राखिएको थियो । कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पिसिआर परीक्षण नगरिएको भन्दै ‘इनफ इज इनफ’ अभियान आन्दोलनमा छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन जाँदै गर्दा बाटोबाटै पक्राउ गरिएको अभियानका सदस्यहरूले बताएका छन् । 

शुक्रबार र शनिबार प्रदर्शनमा रोक भएपछि अभियानका युवाहरूले प्रदर्शनको स्थल र शैली बदल्ने रणनीति लिएका छन् । आइतबार मालीगाउँ प्रहरी चौकीअगाडि प्रदर्शन गर्ने उनीहरूको योजना छ । ‘प्रहरीले शान्तिपूर्ण प्रदर्शनसमेत गर्न नदिने भएपछि अब प्रहरी चौकीअगाडि नै गएर प्रदर्शन गर्ने तयारी गरेका छौँ,’ अभियन्ता आलोक सुवेदीले भने । माग सम्बोधन नभएम्म नियमित प्रदर्शन गर्ने अभियन्ताले बताएका छन् । 

शुक्रबार पनि प्रहरीले बालुवाटार, भाटभटेनी, गैरीधारालगायत क्षेत्रबाट पक्राउ गरेको थियो । प्रदर्शनका लागि आएका युवासँगै निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले बटुवालाई समेत पक्राउ गरेको थियो । पक्राउ परेकालाई मालीगाउँ प्रहरी वृत्त, नेपाल पुलिस क्लब, महाराजगन्जलगायत प्रहरी प्रभागमा राखी साँझ छाडिएको थियो ।

अभियानको ‘नो आरडिटी, शतप्रतिशत पिसिआर’को माग छ । अभियानको परीक्षण रिपोर्ट छिटो सार्वजनिक गर्नुपर्ने, क्वारेन्टाइन रणनीति सुधार गर्नुपर्ने, घर पठाउनुअघि परीक्षण गर्नुपर्ने, कोभिड–१९ को सन्दर्भमा अदालतले जारी गरेको आदेश तत्काल कार्यान्वयन गर्नुपर्ने, कन्ट्र्याक ट्रेसिङ गर्नुपर्ने र विज्ञ सुझाब समिति गठन गर्नुपर्ने माग छ । 

अग्रपंक्तिमा खटिएकाको सुरक्षा गर्नुपर्ने, नागरिकलाई राहत र सुरक्षा प्रदान गर्नुपर्ने, जोखिमको जानकारी गराउनुपर्ने, स्वास्थ्य उपचार क्षमतामा वृद्धि गर्नुपर्ने, खर्चको पारदर्शिता र जवाफदेहिता हुनुपर्ने, जोखिमको जानकारी दिनुपर्ने र भएका स्रोत–साधनको प्रयोग गर्नुपर्नेलगायत माग पनि अभियानका छन् ।

१४बुँदे माग राखेर ‘इनफ इज इनफ’ अभियान २७ जेठदेखि आन्दोलनमा छ । यसअघि १२ दिन अनशनपछि सरकारले अभियन्तासँग २३ असारमा सात दिनभित्र कार्यान्वयन गर्ने गरी सम्झौता गरेको थियो । सम्झौता कार्यान्वयन नभएपछि बाध्य भएर अनशन बस्नुपरेको युवाहरूको भनाइ छ ।

अनशनमा बसेका युवाको स्वास्थ्य नाजुक

१५ दिनदेखि अनशनरत ईःको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकले बताएका छन् । अनशनरत ईःको नियमित स्वास्थ्य जाँच गरिरहेका चिकित्सक अनुराग गुंगलका अनुसार अनशनरत युवाको रगतमा सुगरको तह निकै घटेको छ । ‘ईःको पिसाबमा समस्या देखिएको छ । ग्लुकोज लेभल निकै कम भएको छ । यस्तो अवस्थामा किड्नी, बे्रन, लिभरजस्ता अंगले जतिखेर पनि काम गर्न छाड्न सक्छन्,’ डा. अनुरागले भने ।

चिकित्सकले अनशनरत ईःलाई अस्पताल भर्ना हुन आग्रह गरे पनि उनले माग पूरा नभएसम्म अस्पताल भर्ना नहुने अडान लिएका छन् । ‘हाम्रा माग पूरा नभएसम्म म यहीँ मर्न तयार छु । म कतै जान्नँ, अनशन पनि तोड्दिनँ,’ उनले भने । वसन्तपुर दरबार स्क्वायरमा ईःसँगै वीरगन्जका २७ वर्षे देव शर्माले पनि अनिश्चितकालीन आमरण अनशन सुरु गरेका छन् । देवले अनशन सुरु गरेको दुई दिन भयो । यसअगाडि ईःसँग समायरा श्रेष्ठ पनि अनशन बसेकी थिइन् । तर, नवौँ दिनमा स्वास्थ्यमा समस्या देखिएपछि उनले अनशन तोडेकी थिइन् ।