मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १७ शनिबार १८:२०:००
Read Time : < 1 मिनेट
समाचार

अनशनरत इनफ इज इनफ अभियन्ताको माग तत्काल पूरा गर्न कांग्रेस सभापति देउवाको जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १७ शनिबार १८:२०:००

कांग्रेस सभापति शेरबहादुर देउवा अनशनरत ‘इनफ इज इनफ’का अभियन्ताहरूलाई भेट्न वसन्तपुर पुगेका छन् । शतप्रतिशत पिसिआर परीक्षणको माग राख्दै अनशनमा रहेका अभियन्ताहरूलाई समर्थन गर्न शनिबार सभापति देउवा वसन्तपुर पुगेका हुन् । 

२३ असारमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ताहरू  वसन्तपुरमा अनशनरत छन् । अनशनरत युवाहरूलाई भेटेपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे । उनले सरकारले तत्काल प्रतिनिधि पठाएर अनशनकारीको माग पूरा गर्ने गरी समझादारी गर्न जोड दिए । उनले भने, ‘यो अभियानमा हाम्रो पार्टीको ऐक्यबद्धता छ । उहाँहरूको मागलाई समर्थन छ । मान्छेलाई मर्न दिनुहुन्न । सरकारले तुरुन्तै मान्छे पठाएर अनशनमा बसेका युवालाई बचाउनुपर्छ । सरकारले शान्तिपूर्ण आन्दोलनकारीमाथि धरपकड गरिरहेको छ । यसको घोर भर्त्सना गर्छु ।’

यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनशनमा रहेका युवाहरूले उठाउँदै आएका माग देश र जनताको हितमा रहेको बताए । यसकारण सरकारले उनीहरूले उठाएका मागहरू पूरा गर्नुपर्ने बताए । 
शतप्रतिशत पिसिआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्नेलगायतका माग राख्दै आएका अभियन्ताहरूसँग सरकारले २३ असारमा लिखित प्रतिबद्धता जनाएको थियो । सरकारले कोरोनाविरुद्धको लडाइँमा भएको खर्चसम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक साताभित्र लेखेर पठाउने पनि उल्लेख थियो ।