Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३० शुक्रबार
  • Friday, 14 August, 2020
२०७७ श्रावण १७ शनिबार १०:०१:००
फिचर प्रिन्ट संस्करण

जसले शरणार्थीको नि:शुल्क उपचार गरे तर, पैसा अभावमा आफ्नै श्रीमती गुमाए

२०७७ श्रावण १७ शनिबार १०:०१:००

सन् १९९१ अघिसम्म डा. भम्पा राईलाई खान–लाउनको कुनै चिन्ता थिएन । सम्पन्न परिवारमा जन्मिएका उनी भुटानकै पहिलो ‘फिजिसियन तथा फेलो सर्जन’ थिए । भुटानको राजपरिवारको ‘फेमेली डाक्टर’ भएर काम गरेका उनको जीवन सुखमय नै थियो । उनी थिम्पु जेनेरल अस्पतालमा उच्च ओहोदाको डाक्टर भएर काम गरिरहेका थिए । भुटानमा रहँदादेखि नै उनी नेपालीभाषीलाई असाध्यै माया गर्थे । गरिब, दु:खीको नि:शुल्क उपचार गरिदिन्थे ।

१९९१ पछि भुटान सरकारले नेपालीभाषीलाई गैरनागरिक भन्दै लखेट्यो । त्यसले भम्पालाई कुनै असर परेन । किनकि, उनी राजपरिवारसँग सम्बन्ध भएका डाक्टर थिए । तर, नेपालीभाषी दाजुभाइ लखेटेको उनले सहनै सकेनन् । उनलाई दाजुभाइलाई पीडामा राखेर ‘आलिसान’ जिन्दगी बिताउने रहर नै जागेन । उनी पनि भएका केही सामान, औषधि पोको पारेर एक लाखभन्दा बढी भुटानीसँगै शरणार्थी बनेर नेपाल छिरे । त्यसवेला उनलाई लागेको थियो– यी सबै दाजुभाइलाई फेरि स्वदेश फर्काउन सक्छु । तर, उनको त्यो आस क्रमशः निराशामा बदलिँदै छ । नेपाल आएपछि भुटानी शरणार्थीसँगै कन्काई माईको बगरमा बसे । खोलाकै पानी खानुपर्ने बाध्यता थियो । त्यसवेला धेरै बिरामी परे । धेरैले ज्यान गुमाए । 

‘त्यसवेला सुरुंगामा एउटा क्लिनिकमा काम गरेँ । भुटानी शरणार्थीको निःशुल्क उपचार गरेँ । औषधि पसलको सानो ठाउँमा मलाई बिरामी जाँच्न दिइएको थियो, भुइँमा सुताएर पनि जाँचेँ,’ उनी पुराना दिन सम्झन्छन् । त्यसवेलादेखि भुटानी शरणार्थीको नि:शुल्क उपचार गरेका भम्पाले पछि भुटानी शरणार्थी दमकमा सरेपछि पनि त्यसरी नै उपचार गरे । हुनेले शुल्क दिइहाल्थे, नहुनेसँग उनी पैसा लिँदैनथे ।

दमकको एक क्लिनिकमा काम गर्ने भम्पाकहाँ अचेल भुटानी शरणार्थी पातलिएका छन् । फाट्टफुट्ट मात्र आइपुग्छन् । कारण पुनर्वासले सबै तेस्रो मुलुक लागे । नि:शुल्क उपचार गर्नु उनी आफ्नो कर्तव्य ठान्छन् । ‘मेरा छोराछोरी छैनन् । भुटानी शरणार्थी सबै मेरा छोराछोरी हुन् । म उनीहरूको अभिभावक भएर यहाँ आएँ,’ उनी भन्छन्, ‘यो त मेरो कर्तव्य नै हो । म भुटानीसँग मात्र हैन, नेपाली गरिब, दु:खीसँग पनि शुल्क लिन्नँ ।’ 

म भुटानमै रहेको भए भुटानी शरणार्थीलाई स्वदेश फर्काउन पहल पनि गरिनँ भनेर मन पिरोल्थ्यो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उर्मिलाको निधन भएको हो । डायलाइसिस त गराएँ । तर, किड्नी ट्रान्सप्लान्ट गर्न सकिनँ ।

२७ वर्ष नि:शुल्क उपचार गरेका भम्पाले बल्ल पैसाको महत्व थाहा पाए । जब पैसाकै अभावमा गत महिना उनले श्रीमती गुमाए । जीवनको सहारा गुमाएपछि एक्लिएका भम्पालाई कहिलेकाहीँ लाग्छ– म किन त्यस्तो जिन्दगी छाडेर यहाँ आएँ ? फेरि मन बुझाउँछन्– म भुटानमै रहेको भए भुटानी शरणार्थीलाई स्वदेश फर्काउन पहल पनि गरिनँ भनेर मन पिरोल्थ्यो । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उर्मिलाको निधन भएको हो । ‘डायलाइसिस त गराएँ । तर, किड्नी ट्रान्सप्लान्ट गर्न सकिनँ,’ उनी भन्छन्, ‘मेरा दाजुभाइले तेस्रो देशबाट पैसा पठाए, तर पनि ट्रान्सप्लान्ट गर्न सकिनँ । यतिवेला पैसा कमाउन नसकेकोमा पछुतो लाग्छ ।’ साढे दुई दशकसम्म बिरामी जाँचेको शुल्क मात्र लिएको भए उनलाई श्रीमतीको उपचार गर्न पैसाको अभाव हुँदैनथ्यो ।

राईले चाहेको भए पैसा कमाउन पनि सक्थे । भारत तथा काठमाडौंका विभिन्न अस्पतालमा उनलाई काम गर्न अफर आएको पनि थियो । तर, भुटानी शरणार्थीको मायाले उनलाई कतै जान मन लागेन । ‘यस्तो पनि डाक्टरको लाइफ हुन्छ र ! दमकमा एउटा घरमा डेरा बसेर २७ वर्ष बिताएँ । घरमा पानी चुहिन्थ्यो । म पैसाको पछि नलागेकै कारण सुविधा र सम्पन्नतामा बसिनँ । श्रीमती बिरामी हुँदा चुहिएको पानी भाँडोमा एक हातले थापेर अर्कोले स्याहार्थें,’ उनी भन्छन्, ‘त्यसवेला मलाई पैसा नकमाएकोमा पछुतो लाग्थ्यो । तर, श्रीमतीले कहिल्यै किन पैसा नकमाएको भनिनन् ।’ 

भुटानमा हुँदा श्रीमतीका लागि सुन जोडिदिएको उनी बताउँछन् । भुटानमै कमाएको पैसाले एउटा जापानिज गाडी पनि किनेका थिए । तर, जीवन चलाउन यी सबै सके, उनले । ‘भुटानी शरणार्थीले देश फर्कन पाउनुपर्ने आन्दोलन गर्दैगर्दा श्रीमतीले मलाई सधैँ सपोर्ट गरिन् । अरू डाक्टरकी श्रीमतीजस्तै सारी लगाउने, गाडीमा चढ्ने मन थियो होला, उनको,’ डा. भम्पा भन्छन्, ‘तर, कहिल्यै व्यक्त गरिनन् । उनकै सपोर्टले निःशुल्क उपचार गर्न सम्भव भयो ।’ 

श्रीमती बितेपछि २७ वर्ष बसेको घर छाड्ने तयारीमा छन्, उनी । त्यही घरमा बुबा, आमा र बहिनी गुमाउँदा उनको मन भुलाउने श्रीमती थिइन् । तर, श्रीमती नै गुमाएपछि उनलाई अहिले त्यो घरमा उकुसमुकुस हुन्छ । 

श्रीमती बितेपछि २७ वर्ष बसेको घर छाड्ने तयारीमा छन्, उनी । त्यही घरमा बुबा, आमा र बहिनी गुमाउँदा उनको मन भुलाउने श्रीमती थिइन् । तर, श्रीमती नै गुमाएपछि उनलाई अहिले त्यो घरमा उकुसमुकुस हुन्छ । 

‘देशविहीन भएर कसैले बाँच्न नपरोस्’
डा. भम्पाकी श्रीमतीले देशविनाको आधा जीवन बिताइन् । श्रीमान्ले अनागरिक भएर कसैले बस्न नपरोस् भन्दै गरेको आन्दोलनमा सहयोग गर्ने उर्मिला आफैँ ‘अ’नागरिक भएरै मर्नुपर्‍यो । यो विषयले भम्पाको मन सबैभन्दा धेरै विचलित बनाएको छ । ‘नागरिक बन्ने आन्दोलनको सारथि बेनागरिक भएर मर्दा मन दुखिहाल्छ नि, मेरी श्रीमतीजस्तै धेरै अनागरिक भएर मरेका छन्,’ डा. राई भक्कानिन्छन् । 

उनलाई चाहिँ अनागरिक भएर मर्ने मन छैन । तर, बाध्यता छ । ‘मैले पनि अनागरिक भएरै मर्नुपर्छ,’ उनी भन्छन्, ‘तर, इतिहासमा लेखियोस् । अनागरिक भएर मर्नुपर्ने कानुन कसले बनायो ? हामीले जस्तो देशविहीन भएर कसैले बाँच्न नपरोस् ।’ देशप्रतिको माया उनमा कति पनि कमी भएको छैन । शासकले यति धेरै दमन गर्दा पनि स्वदेश फर्कने अडानमै छन्, उनी । ‘म नेपाली नागरिकता दिए पनि लिन्नँ,’ उनी भन्छन्, ‘मजस्तै स्वदेश फर्कन चाहनेलाई स्वदेश फर्काइयोस् ।’ 

क्लिनिकमा टेबलमा भुटानको झन्डा राखेका छन्, उनले । शासकले दु:ख दिए पनि देश र झन्डालाई औधी माया गर्छन् । स्वदेश फर्कने आन्दोलनमा भुटानी शरणार्थीले धोका दिएको उनको बुझाइ छ । ‘तेस्रो देश नगई यहीँ बसेको भए कम्तीमा जान पाइन्थ्यो । तर, सबै तेस्रो देश लागे । यसमा चाहिँ धोका नै भयो । म उनीहरू भनेर आएँ,’ उनी भन्छन्, ‘तर, कम्तीमा उनीहरूले जीवन त सुधारे । उनीहरूको बाध्यता पनि थियो । यो सम्झेर मन बुझाउँछु ।’