१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
घुँगी खोज्न जाँदा सेनाको कुटपिटबाट मारिएका राजकुमार प्रजा बायाँ र उनको निवास
२०७७ श्रावण १७ शनिबार ०५:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

घुँगी खोज्दा मारिएका चेपाङको  परिवारलाई १० लाख दिने सहमति

Read Time : > 1 मिनेट
२०७७ श्रावण १७ शनिबार ०५:१२:००

चितवन राष्ट्रिय निकुञ्जभित्र घुँगी खोज्न जाँदा सेनाको कुटपिटबाट मृत्यु भएका राप्ती नगरपालिका–२ मिलनटोलका राजकुमार प्रजाको परिवारलाई १० लाख रुपैयाँ राहत दिने सहमति भएको छ । शुक्रबार भएको लिखित सहमतिपछि उनको परिवार शव बुझ्न तयार भएको छ । 

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा निकुञ्जले मध्यवर्ती क्षेत्र उपभोक्ता समिति लोथरमार्फत सात लाख र राप्ती नगरपालिकाले तीन लाख राहत सहयोग गर्ने सहमति भएको मेयर प्रभा बरालले बताइन् । यद्यपि, रकम कहिलेसम्म दिने भनेर सहमति पत्रमा मिति भने खुलाइएको छैन । 

घटनाको निष्पक्ष छानबिन र अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्ने, राजकुमारकी डेढ वर्षीया छोरी विद्यालय जाने उमेर नपुग्दासम्म भरणपोषण र तत्पश्चात् १२ कक्षासम्म अध्ययनका लागि निकुञ्जले सहयोग गर्ने सहमति पनि दुई पक्षबीच भएको छ । त्यस्तै, राजकुमारको घर निर्माणका लागि निकुञ्जले निर्माण सामग्री उपलब्ध गराउने र मध्यवर्ती क्षेत्र उपभोक्ता समितिले निर्माणमा सहजीकरण गर्ने सहमतिमा उल्लेख छ । 

१ साउनमा घुँगी खोज्न गएका राजकुमारसहित स्थानीय बासिन्दालाई निकुञ्जको लिगलिगे पोस्टको सैनिक टोलीले मरणासन्न हुने गरी कुटपिट गरेको थियो । गम्भीर घाइते भएका राजकुमारको ८ साउनमा मृत्यु भएको थियो । 

राजकुमारको शव पोस्टमार्टमका लागि ११ साउनमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो । घटनाको छानबिन गरी दोषीलाई कारबाही र परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गर्दै आफन्तजनले शव बुझ्न मानेका थिएनन् । परिवारलाई १० लाख राहत दिने लिखित सहमति भएपछि आफन्तजत शव बुझ्न तयार भएको राप्ती नगरपालिका मेयर बरालले बताइन् । शनिबार उनको शव काठमाडौंबाट चितवन ल्याइने भएको छ । 

यसैबीच, चितवन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन (प्रमुख) नारायण रूपाखेती विभागमा तानिएका छन् । उनको ठाउँमा बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख अणनाथ बराल आएका छन् । उनी केही वर्षअघि चितवन निकुञ्जमै सहायक वार्डेन थिए ।

रूपाखेतीलाई १४ साउनमा विभाग तानिए पनि उनले रमाना बुझिसकेका छैनन् । तीन दिनको फरकमा निकुञ्ज क्षेत्रमा विवादास्पद र अमानवीय घटना भएपछि सरुवा गरिएको हो । १ साउनमा निकुञ्ज क्षेत्रमा सेनाको कुटपिटबाट राजकुमारको मृत्यु भएको थियो । त्यस्तै, ३ साउनमा माडीको कुसुमखोलास्थित चेपाङ समुदायका दुई घर निकुञ्जले हात्ती लगाएर भत्काउनुका साथै आगजनी गरेको थियो ।