Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३० शुक्रबार
  • Friday, 14 August, 2020
जीवन बस्नेत काठमाडौं
२०७७ श्रावण १७ शनिबार ०४:१०:००
फ्रन्ट पेज प्रिन्ट संस्करण

तैपनि खुसी छन् नेपाली

जीवन बस्नेत, काठमाडौं
२०७७ श्रावण १७ शनिबार ०४:१०:००

 

-नेपालमा हजारमा २८ बालबालिकाको मृत्यु पाँच वर्ष नपुग्दै हुन्छ

-सयमा २४ बालबालिका तौल नपुगेर लिखुरे छन् 

-सयमा ३१ बालबालिका उचाइ नपुगेर पुड्का छन् 

-सयमा २३ गर्भवती घरमै असुरक्षित रूपमा सुत्केरी हुन्छन्

-सयमा २० जनालाई जन्मदर्ताबारे जानकारी छैन

-सयमा ९५ जनाको जीवनबिमा छैन

... ... ...

तर पनि नेपाली खुसी छन् । रुवान्डा र अफगानिस्तानभन्दा मात्र होइन, भारत र चीनका नागरिकभन्दा नेपाली खुसी छन् । हो, ‘वल्र्ड ह्याप्पिनेस इन्डेक्स २०२०’ अनुसार विश्वका एक सय ५३ देशमध्ये नेपाल ९२औँ स्थानमा छ । 

संयुक्त राष्ट्र संघको दिगो विकास समाधान नेटवर्कद्वारा प्रकाशित रिपोर्टअनुसार कुल १० नम्बरमा नेपालले ५ दशमलव १३ अंकसहित ९२औँ स्थान हासिल गरेको हो । गत वर्ष नेपाल सयौँ स्थानमा थियो ।

रिपोर्टअनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपालभन्दा अघि पाकिस्तान ६६औँ स्थानमा र माल्दिभ्स ८७औँ स्थानमा छन् । त्यस्तै, बंगलादेश १०७औँ, श्रीलंका १३०औँ, भारत १४४औँ, अफगानिस्तान अन्तिम अर्थात् १५३औँ स्थानमा छन् । छिमेकी चीन पनि नेपालभन्दा पछि ९४औँ स्थानमा छ । खुसीका सामाजिक, आर्थिक, वातावरणीय, भौगोलिकलगायत विविध उपसूचकका आधारमा विभिन्न मुलुकका जनताको खुसीको स्तर यो प्रतिवेदनले मूल्यांकन गर्दै आएको छ । खुसी सूचकको सबैभन्दा अगाडि फिनल्यान्ड, डेनमार्क, स्वीट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे छन् ।

यता भर्खरै केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणले ६३ प्रतिशत नेपालीले खुसी रहेको तथ्यांक पनि प्रस्तुत गरेको छ । १५ देखि ४९ वर्ष उमेर समूहका महिला र पुरुषका नेपालीमध्ये ज्यादै खुसी वा केही हदसम्म खुसी हुनेको औसत दर भने ६३ दशमलव ४ प्रतिशत छ । सो उमेर समूहका महिलामध्ये ६२.४ प्रतिशत र पुरुषमध्ये ६४.७ ले आफू ज्यादै खुसी वा केही हदसम्म खुसी रहेको व्यक्त गरेको पाइएको छ । 

पाँच वर्षअघि १५ देखि २४ वर्ष उमेर समूहका महिलामध्ये ८२ प्रतिशतले ज्यादै खुसी वा केही हदसम्म खुसी रहेको बताएका थिए । त्यसवेलाको सर्वेक्षणमा पुरुषलाई सहभागी गराइएको थिएन । 

पाँच वर्षअघि महिलामा मात्रै गरिएको यस किसिमको सर्वेक्षणमा ६० प्रतिशतले आफ्नो जीवनस्तर अहिलेको भन्दा भविष्यमा सुधार हुने अपेक्षा गरेका थिए । तर, अहिले जीवनस्तर सुधार हुने अपेक्षा राख्ने महिला ४५ दशमलव ४ प्रतिशत मात्रै छन् । पाँच वर्षअघि १५ देखि २४ वर्ष उमेर समूहका महिलामा यस्तो सर्वेक्षण गरिएको थियो भने अहिले १५ देखि ४९ वर्ष उमेर समूहका महिलामा गरिएको छ । 

त्यस्तै, महिलाको तुलनामा पुरुषहरू भने जीवनस्तर सुधार हुनेमा बढी आशावादी देखिएका छन् । १४–४९ उमेर समूहका पुरुषमध्ये ५२.५ प्रतिशतले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तरमा सुधार हुने अपेक्षा व्यक्त गरेको पाइयो । महिला तथा पुरुष समग्रमा भने साढे ४८ प्रतिशतले जीवनस्तर सुधारको अपेक्षा गरेका छन् । 

यता नेपालले गएको पाँच वर्षमा बाल मृत्युदर, प्रजनन तथा मातृत्व स्वास्थ्य, बाल स्वास्थ्य, पोषण तथा विकास, जीवन सन्तुष्टि, शिक्षा, खानेपानी, बिमा, विद्युत्लगायतका सूचकमा उल्लेखनीय प्रगति गरेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागले प्रकाशित गरेको नेपाल बहुसूचक सर्वेक्षण २०७६ का अनुसार सामाजिक विकासका क्षेत्रमा नेपालको अवस्था सुधारिएको छ । 

‘नेपालमा महिला, बालबालिकालगायतका क्षेत्रको अवस्थाबारे स्तरीय र तुलनायोग्य सूचकहरू सो अध्ययनले उपलब्ध गराएको छ,’ केन्द्रीय तथ्यांक विभाग, लैंगिक तथा सामाजिक तथ्यांक शाखाका निर्देशक कृष्ण तुलाधरले नयाँ पत्रिकासँग भने । बहुसूचक सर्वेक्षणमार्फत उपलब्ध भएका सूचकबाट स्थानीय तहमा हुने योजना तर्जुमा, नीति निर्माण तथा विकास कार्यको अनुगमनका लागि आवश्यक पर्ने तथ्यांकहरूको अपर्याप्ततालाई घटाउन सहयोग गर्ने उनले बताए । साथै अन्तर्राष्ट्रिय घोषणा तथा दिगो विकास लक्ष्यका सूचकहरूको अनुगमन गर्न ठोस योगदान पुग्ने शाखाका अर्का निर्देशक सुरेश बस्न्यातको भनाइ छ । यो सर्वेक्षण संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) नेपालको प्राविधिक तथा आर्थिक सहयोगमा तयार गरिएको हो । यो यस किसिमको तेस्रो सर्वेक्षण हो । 

सर्वेक्षणले नेपालमा शिशु मृत्युदर प्रतिहजार २५ मा झरेको देखाएको छ । अर्थात् एक हजार जीवित जन्मेका शिशुमध्ये २५ जनाको एक वर्ष नपुग्दै मृत्यु हुने प्रतिवेदनले उल्लेख गरेको छ । यो दर ५ वर्षअघि (२०७१) ३३ जना थियो । 

यही अवधिमा बाल मृत्युदर अर्थात् ५ वर्षमुनिका बालबालिकाको मृत्युदर पनि ०७१ को तुलनामा १० जनाले घटेको छ । अहिले प्रतिहजार जीवित जन्मेका बालबालिकामध्ये पाँच वर्ष उमेर नपुग्दै मृत्यु हुने २८ जना छन्, जुन २०७१ मा ३८ थिए । त्यसैगरी हजार जीवित जन्मेका नवजात शिशुमध्ये एक महिना उमेर नपुग्दै मृत्यु हुने दर पनि १६ जनामा झरेको छ । यो दर पाँच वर्षअघि ०७१ मा २३ जना रहेको थियो ।

प्रदेशगत तुलना गर्दा शिशु मृत्युदर प्रतिहजार जन्ममा प्रदेश ५ मा सबैभन्दा बढी ३५ जना र सबैभन्दा कम प्रदेश २ मा १५ जना रहेको छ । त्यस्तै, पाँच वर्षमुनिका बालबालिका बालमृत्युदर प्रतिहजार जन्ममा सबैभन्दा बढी ४० जना प्रदेश ५ रहेको छ भने सबैभन्दा कम प्रदेश २ र बागमतीमा १९ जना रहेको छ । नवजात शिशु मृत्युदर सबैभन्दा बढी सुदूरपश्चिममा प्रतिहजार जन्ममा २५ जना छ । सबैभन्दा घटी बागमती प्रदेशमा नौजना रहेको छ । 

उता, विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार उमेरअनुसारको तौल कमी भएका बालबालिकाहरू (लिखुरे), उमेरअनुसार उचाइ कम भएका बालबालिकाहरू (पुड्को) क्रमशः २४ दशमलव ३ प्रतिशत र ३१ दशमलव ५ प्रतिशतमा झरेको पाइएको छ । यो दर ०७१ मा क्रमशः ३० दशमलव १ प्रतिशत र ३७ दशमलव ५ प्रतिशत थियो । 

सर्वेक्षणले उचाइअनुसार तौल कम भएका बालबालिका (ख्याउटे) र उचाइअनुसार तौल बढी भएको बालबालिका पाँच वर्षको अन्तरमा लगभग एउटै पाइएको छ । उमेरअनुसारको तौल कमी भएका बालबालिका (लिखुरे) सबैभन्दा बढी ३७ दशमलव ४ प्रतिशत कर्णाली प्रदेशमा र सबैभन्दा कम ११ दशमलव १ प्रतिशत बागमती प्रदेशमा देखाएको छ । 

पाँचजना आमामध्ये तीनजना (६२.१ प्रतिशत) ले आफ्नो बच्चालाई जन्मेको ६ महिनासम्म आफ्नो दूध मात्र खुवाउने गरेको पाइएको छ । प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी ६ महिनासम्म बच्चालाई दूध मात्रै खुवाउनेमा प्रदेश २ (६९.९ प्रतिशत) अगाडि छ । त्यसपछि क्रमशः कर्णाली प्रदेशमा (६८.३ प्रतिशत) र प्रदेश ५ मा (६३.२ प्रतिशत) देखिन्छ भने सबैभन्दा कम बागमती प्रदेशमा (५१.१ प्रतिशत) रहेको छ । 

नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा १२ देखि २३ महिनासम्मका बालबालिकामध्ये ७० दशमलव २ प्रतिशत बालबालिकाले मात्र पहिलो वर्षमा सबै खोप पूर्ण मात्रामा लिएका छन् । पाँच वर्षअघि यही उमेर समूहका ५८ प्रतिशत बालबालिकाले मात्र पहिलो वर्षमा सबै खोप पूर्ण मात्रामा लिएका थिए ।

सर्वेक्षणभन्दा दुई वर्षअघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७७ दशमलव ८ प्रतिशतले सिफारिस भएबमोजिम स्वास्थ्यकर्मीसँग कम्तीमा चारपटक पूर्वप्रसूति जाँच गराएको देखिन्छ । ती महिलामध्ये ७७ दशमलव ५ प्रतिशतले स्वास्थ्य संस्थामा, ७९ दशमलव ३ प्रतिशतले दक्ष प्रसूतिकर्मीबाट र १५ दशमलव ३ प्रतिशतले शल्यक्रियाको माध्यमबाट प्रसूति गराएको पाइन्छ । पाँच वर्षअघि ५६ प्रतिशतले मात्र दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउँथे ।

सर्वेक्षणभन्दा दुई वर्षअघिसम्मको अवधिमा जीवित शिशुलाई जन्म दिएका १५ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये ७७ दशमलव ८ प्रतिशतले सिफारिस भएबमोजिम स्वास्थ्यकर्मीसँग कम्तीमा चारपटक पूर्वप्रसूति जाँच गराएको देखिन्छ । ती महिलामध्ये ७७ दशमलव ५ प्रतिशतले स्वास्थ्य संस्थामा, ७९ दशमलव ३ प्रतिशतले दक्ष प्रसूतिकर्मीबाट र १५ दशमलव ३ प्रतिशतले शल्यक्रियाको माध्यमबाट प्रसूति गराएको पाइन्छ । 

विद्युत् पहुँचमा पाँच प्रतिशतले वृद्धि, ९६ प्रतिशत जनतामा टेलिफोन 

देशभर ८९ दशमलव नौ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ । अझै १० दशमलव एक प्रतिशत घरपरिवार विद्युत्को पहुँचबाहिर छन् । पाँच वर्षअघि यो दर ८५ प्रतिशत थियो । प्रदेशगत आधारमा भने सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९८ दशमलव नौ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णालीमा ४४ दशमलव ६ प्रतिशत घरपरिवारमा विद्युत् पुगेको छ । 

नेपालमा ९६ दशमलव दुई प्रतिशत घरपरिवारमा टेलिफोन (स्थिर टेलिफोन वा मोबाइल फोन) सुविधाको पहुँच पुगेको छ । पाँच वर्षअघि ९१ प्रतिशतमा टेलिफोन सुविधा थियो । प्रदेशअन्तर्गत भने सबैभन्दा धेरै बागमती प्रदेशमा ९८ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ९३.६ प्रतिशत घरपरिवारमा टेलिफोन पहुँच छ ।

सर्वेक्षणअनुसार नेपालको कुल जनसंख्याको ९७ दशमलव एक प्रतिशतले खानेपानीका लागि सुधारिएको पानी स्रोत प्रयोग गर्छन् । पाँच वर्षअघि ९३ प्रतिशतले सुधारिएको पानी स्रोत प्रयोग गर्थे । पानीको गुणस्तर परीक्षण गर्दा ८५ दशमलव एक प्रतिशतले पिउने पानीमा इकोली जीवाणु पाइएको छ । कुल जनसंख्याको ९३ दशमलव आठ प्रतिशतले सुधारिएको चर्पी प्रयोग गर्ने गरेका छन् । यो दर पाँच वर्षअघि ७४ प्रतिशत थियो । 

प्रजजन दर घट्दै 

नेपालमा महिला (१५ देखि ४९ वर्ष उमेर समूह)को कुल प्रजनन दर प्रतिमहिला दुईजना जीवित बच्चा रहेको पाइएको छ । यसको अर्थ नेपालमा एक महिलाले औसतमा दुईजना जीवित बच्चा जन्माउँछिन् भन्ने हो । पाँच वर्षअघि कुल प्रजनन दर औसतमा दुई दशमलव तीन थियो । १५ देखि १९ वर्ष उमेर समूहको किशोरीको प्रजजन दर प्रतिहजार किशोरीले ६३ जीवित बच्चा जन्माउने गरेको भेटिएको छ । यो पाँच वर्षअघि प्रतिहजार किशोरीमा ७१ जीवित बच्चा जन्माउने थियो । 

त्यस्तै, १५ देखि ४९ वर्ष उमेर समूहका हालै विवाहित महिलामध्ये प्रत्येक दुईमध्ये एकजना (४६.७ प्रतिशत) ले परिवार नियोजनको उपाय तथा साधनहरू (परम्परागत वा आधुनिक विधि) प्रयोग गरेको देखिएको छ । पाँच वर्षअघि पनि उल्लेखित उमेर समूहका ५० प्रतिशत महिलाले परिवार नियोजनको उपाय अपनाउने गर्थे । सोही उमेर समूहका पाँचमध्ये तीनजना (६१.९ प्रतिशत) महिला आधुनिक परिवार नियोजनका साधन र सेवाको आफ्नो मागअनुसार प्रयोगमा सन्तुष्ट रहेको देखिन्छ ।

स्वास्थ्य बिमा गर्ने युवा न्यून

१५ देखि ४९ वर्ष उमेर समूहका महिला (५.८ प्रतिशत) तथा पुरुष (५.२ प्रतिशत) ले स्वास्थ्य बिमा गरेको पाइएको छ । दुवै उमेर समूहको स्वास्थ्य बिमा गर्ने कुल औसत दर भने पाँच दशमलव दुई प्रतिशत छ । त्यस्तै पाँचदेखि १७ वर्ष उमेर समूहका बालबालिका (४.४ प्रतिशत) तथा पाँच वर्षमुनिका बालबालिका (३.७ प्रतिशत) ले स्वास्थ्य बिमा गरेको सर्वेक्षणले देखाएको छ ।

७७ प्रतिशत बालबालिकाको जन्मदर्ता

पाँच वर्षमुनिका बालबालिकाका आमा र स्याहारसुसार गर्ने व्यक्तिमध्ये ८० प्रतिशतले नेपालमा जन्मदर्ता कसरी गर्ने भन्ने थाहा भएको पाइएको छ । २० प्रतिशतलाई भने अझ जानकारी छैन । त्यसैगरी, ७७ दशमलव दुई प्रतिशत पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता भएको पाइएको छ । पाँच वर्षअघि पाँच वर्षमुनिका ५८ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता रहेको थियो । प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी ८९.१ प्रतिशत पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता सुदूरपश्चिम प्रदेशमा रहेको थियो भने सबैभन्दा कम ७०.८ प्रतिशत बागमती प्रदेशमा देखिएको छ । 

सर्वेक्षणमा १५ देखि १९ वर्ष उमेर समूहका किशोरीमध्ये १९ दशमलव तीन प्रतिशत विवाहित छन् भने सोही उमेर समूहका किशोरमध्ये पाँच दशमलव तीन प्रतिशत विवाहित छन् । पाँच वर्षअघि १५ देखि १९ वर्ष उमेर समूहका किशोरीमध्ये २५ प्रतिशत विवाहित थिए । 

सर्वेक्षणले १५ देखि ४९ वर्ष उमेर समूहका नेपालीमध्ये आमसञ्चारकामाध्यममा पहुँच अत्यन्तै कमजोर देखिएको छ । हप्तामा कम्तीमा एकपटक तीनवटै प्रकारका आमसञ्चारमाध्यम पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने र टेलिभिजन हेर्ने नेपालीको संख्या आठ प्रतिशत रहेको अध्ययनले देखाएको छ । ११ प्रतिशत महिलाले देखाएको छ । यो दर पाँच वर्षअघिकै बराबर हो । सोही उमेर समूहका पुरुष भने १२ दशमलव नौ प्रतिशत छन् । यसअघिको सर्वेक्षणमा पुरुषलाई भने सहभागी गराइएको थिएन । 

सुर्तीजन्य र मदिराजन्य पदार्थ सेवन

नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका महिला तथा पुरुषले क्रमशः ६ दशमलव एक प्रतिशत तथा ४५ दशमलव दुई प्रतिशतले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ । पाँच वर्षअघि गरिएको अध्ययनमा उल्लेखित उमेर समूहको महिलामध्ये नौ दशमलव दुई प्रतिशतले सर्वेक्षणभन्दा अघिल्लो महिनामा कुनै किसिमको सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको थियो । 

त्यस्तै, यही उमेर समूहका पाँच दशमलव पाँच प्रतिशत पुरुष र दुई दशमलव दुई प्रतिशत महिलाले १५ वर्ष पुग्नुअगाडि नै चुरोट सेवन गरेको पाइएको छ । पाँच वर्षअघि चार प्रतिशत महिलाले १५ वर्ष पुग्नुअघि नै चुरोट सेवन गर्ने सर्वेक्षणले देखाएको थियो । 

यही उमेर समूहका नौ दशमलव एक प्रतिशत महिलाले कम्तीमा एकपटक महिनाको कुनै दिनमा मदिराजन्य पदार्थ सेवन गर्ने गरेका थिए । पाँच वर्षअघि यही उमेर समूहका १० प्रतिशत महिलाले कम्तीमा एकपटक महिनाको कुनै दिनमा मदिराजन्य पदार्थ सेवन गर्थे । 

शिक्षा 

देशभर प्राथमिक विद्यालय (१ देखि ५ कक्षा) मा पाँच दशमलव ६ प्रतिशत, निम्न माध्यमिक विद्यालय (६ देखि ८ कक्षा) मा चार दशमलव तीन प्रतिशत र माध्यमिक विद्यालय (९ देखि १२) मा १५ दशमलव एक प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको भेटिएको छ । पाँच वर्षअघि प्राथमिक विद्यालयमा २३ प्रतिशत, निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयमा ११ प्रतिशत विद्यार्थी बाहिर थिए ।

प्राथमिक विद्यालयको १ कक्षामा प्रवेश गर्ने उमेरका बालबालिका ३९ दशमलव आठ प्रतिशत रहेको छ । पाँच वर्षअघि यो दर ४२ प्रतिशत रहेको थियो । 

... ... ...

कसरी गरियो सर्वेक्षण ?

यस सर्वेक्षणमा तथ्यांक संकलनका लागि देशभर पाँच सय १२ गणना क्षेत्र (क्लस्टर) मध्ये सहरी क्षेत्रबाट दुई सय ९० क्लस्टर र ग्रामीण क्षेत्रबाट दुई सय २२ क्लस्टर तथ्यांकीय विधिबाट छनोट गरी हरेक क्लस्टरबाट गणनाका लागि २५ वटा परिवार छानिएका थिए । छानिएका जम्मा १२ हजार आठ सय परिवारबाट पारिवारिक विवरण संकलन गरिएको थियो । साथै प्रत्येक परिवारमा भएका १५ देखि ४९ वर्ष उमेर समूहका महिला र पुरुष, पाँचदेखि १७ वर्ष उमेर समूहका बालबालिका तथा पाँच वर्षमुनिका बालबालिकाको विवरण संकलन गरिएको थियो ।

साथै बाल पोषणको स्थिति अवगत गर्न तौल तथा उचाइ पनि मापन गरिएको थियो । तथ्यांक संकलनका लागि पारिवारिक प्रश्नावली, १५ देखि ४९ वर्ष उमेर समूहका महिला र पुरुषको व्यक्तिगत प्रश्नावली, पाँचदेखि १७ वर्ष उमेर समूहका बालबालिका तथा पाँच वर्षमुनिका बालबालिकाको व्यक्तिगत प्रश्नावली छुट्टाछुट्टै भरिएको थियो । 

प्रश्नावलीमा महिलाको पृष्ठभूमि, आमसञ्चार र सञ्चार प्रविधिको उपयोग, विवाह र सँगै बसेका, प्रजनन र जन्म इतिहास, पछिल्लो बच्चा जन्माउँदाको चाहना, मातृ तथा नवजात शिशु स्वास्थ्य, सुत्केरीपछिको आमा र नवजात शिशुको स्याहार, गर्भनिरोध, घरेलु हिंसाप्रति धारणा, मानव बेचबिखन, वयस्कको कार्यात्मक क्षमता, एचआइभी र एड्स, सुर्तीजन्य र मदिराजन्य पदार्थको सेवन र जीवन सन्तुष्टिसम्बन्धी विवरण संकलन गरिएको थियो । त्यस्तै, पाँच वर्षमुनिका बालबालिकाको व्यक्तिगत प्रश्नावलीमा उमेर, जन्मदर्ता, प्रारम्भिक बाल्यकाल विकास, बाल अनुशासन, बालबालिकाको कार्यात्मक क्षमता, स्तनपान र शिशु स्याहार, खोपको विवरण र बिसन्चो हुँदाको स्याहार तथा तौल र उचाइ मापन विवरण संकलन गरिएको थियो । 

... ... ...

लैंगिक तथा सामाजिक क्षेत्रमा संख्यात्मक प्रगति सन्तोषजनक छ, तर गुणात्मक सुधार अझै पुगेको छैन : प्रा.डा. पुष्पराज कँडेल, उपाध्यक्ष, राष्ट्रिय योजना आयोग

केन्द्रीय तथ्यांक विभागले गरेको बहुसूचक सर्वेक्षणको नतिजाको लैंगिक तथा सामाजिक क्षेत्रले सन्तोषजनक प्रगति गरेको देखिएको छ । दक्षिण एसियामा नै लैंगिक तथा सामाजिक क्षेत्रमा नेपालको उपस्थिति पहिलेदेखि नै राम्रो अवस्थामा छ । यस क्षेत्रमा त्यति धेरै समस्या पनि छैनन् । हाम्रो समस्या भनेको अर्थिक क्षेत्रमा बढी हो । पछिल्ला तीन वर्ष आर्थिक वृद्धि पनि राम्रै थियो, तर यस वर्ष कोरोना महामारीले नराम्रो अवस्थामा पु¥यायो । अर्को महत्वपूर्ण विषय भनेको सामाजिक क्षेत्रमा संख्यात्मक प्रगति÷सुधार भएको छ । त्यसलाई अब गुणात्मक सुधारमा लैजानुपर्नेछ । हाम्रो शिक्षा प्रणालीले विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने, यहाँका अस्पतालको सेवा विश्वस्तरीय बनाउने, बाल मृत्युदर, मातृ मृत्युदरलाई अझ तल झार्ने, पोषणमा प्राथमिकता दिने काम अब गुणस्तरीय प्रणालीको विकास गर्न मात्र सम्भव हुन्छ । 

अहिलेको महामारी सामाजिक क्षेत्रमा गुणस्तर वृद्धि गर्नका लागि एउटा मौकाको रूपमा पनि आएको छ । अहिलेसम्मको प्रगतिलाई हेरेर यो क्षेत्रमा गरिएको लगानी पर्याप्त हो भन्न सकिँदैन । किनकि अझै पनि गुणस्तरको पाटोमा ठूलो खाडल छ । यसलाई अझ सुधार गर्दै लैजानकै निम्ति आयोगले १५औँ पञ्चवर्षीय योजनामा शिक्षा, स्वास्थ्य, लैंगिक विकासलगायत सामाजिक क्षेत्रलाई प्राथमिकतमा राखेको छ ।

... ... ...

यसकारण नेपाली सन्तुष्ट : डा. युवराज लुइँटेल

केन्द्रीय तथ्यांक विभागले हालै सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षणले लैंगिक तथा सामाजिक (सेवा पहुँच) क्षेत्रमा राम्रो प्रगति गरेको देखिएको छ । नेपालमा अस्थिर सरकारको ठूलो समस्या थियो । ६ देखि नौ महिनामा सरकार परिवर्तन हुने गथ्र्यो । तैपनि पछिल्ला १० वर्षमा नेपालले सामाजिक क्षेत्रमा गरेको प्रगति प्रशंसनीय छ ।

महत्वपूर्ण कुरा त नेपालीमा जीवनप्रतिको सन्तुष्टि उल्लेखनीय पाइएको छ । यसका धेरै कारण छन् । देशमा अपेक्षित आर्थिक समृद्धि नहँुदा पनि मानिस कसरी सन्तुष्ट भए भनेर प्रश्न गर्ने गरिन्छ । तर, समग्रमा हेर्ने हो भने पछिल्ला वर्षमा नेपालीको आय वृद्धि भएको छ । यो तथ्य हरेक वर्ष तथ्यांक विभागले सार्वजनिक गर्ने राष्ट्रिय लेखासम्बन्धी आर्थिक सूचकहरूले पनि देखाउँछन् । गरिबी पनि घटेको छ । पोषणको मात्रामा सुधार भइरहेको छ, जुन आमजनजीवनको आधारभूत तहमा आउने विषय हुन् । यी हुनेखाने वर्गमा आएको रूपान्तरणले नभएर हुँदा खाने वर्गमा आएको रूपान्तरणले ल्याएका परिवर्तन हुन् । 

विश्व सन्दर्भमा हेर्ने हो भने ठूला देशभन्दा पनि साना देश बढी खुसी हुने देखिएको छ । ठूलो देशमा मानिसको पहिचान हुँदैन । सानो देशमा नातागोता, सम्बन्ध, परिवारले पनि अर्थ दिइरहेको हुन्छ । विपन्नता भए पनि पारिवारिक सन्निकटताले जीवन अर्थपूर्ण बनाइरहेको हुन्छ । जति ठूलो देश वा सहरमा गयो, त्यति नै मानिसले एक्लोपन अनुभव गरिरहेको हुन्छ । त्यहाँ भौतिक प्रगति भए पनि मानिसले सन्तुष्टि लिन सकिरहेको हुँदैन । तर, साना देशका परिवारकेन्द्रित समाजले समेत खुसी हुनलाई ठाउँ दिइरहेको हुन्छ ।

अहिले प्रकाशित नतिजा हामीसँग उपलब्ध पछिल्लो लैंगिक तथा सामाजिक क्षेत्रको सूचक हो । स्थानीय र संघीय चुनाव भइसकेपछि गरिएको सर्वेक्षणबाट प्राप्त नतिजा हो । २० वर्षदेखि नभएको चुनाव स्थानीय तहमा सम्पन्न भएपछि आममानिसमा एक किसिमको उपलब्धि भएको महसुस भयो । दुई दशक लामो निष्क्रियताको अन्तर (ग्याप) र विशृंखलतालाई चुनावले अन्त्य ग¥यो । यद्यपि, अहिलेसम्म पनि गाउँपालिका वा नगरपालिकाले कुनै उपलब्धि हासिल नगरेका हुन्, हाम्रा जनप्रतिनिधिले केही गर्न नसकेका हुन्, तैपनि एउटा आधार र प्रणालीको विकास भइरहेको छ । 

अधिकांश स्थानीय तहमा पूर्वाधार क्षेत्रमा पनि काम गर्ने प्रयास भएको देखिन्छ । सडक मात्रै बनेको रहेछ भने पनि पहिलेको भन्दा केही न केही परिवर्तन भने भएको छ । सडक मर्मत हुन थालेको छ, टोलमा बत्ती बल्न थालेका छन् । खुसी भनेको ठूलो उपलब्धिमा मात्र हुने होइन, त्यो सानो प्रयास र परिवर्तनबाट पनि प्राप्त हुन्छ । स्थानीय सरकार गठनले एउटा आशा जगायो । आपत्विपत् पर्दा वडाध्यक्षकोमा जाने ठाउँ भयो । नेतृत्व सक्षम नै नभए पनि गाउँले नेतृत्व त पाएको छ । 

अर्को महत्वपूर्ण विषय केन्द्रमा स्थिर सरकार बन्नु हो । किनकि धेरै नेपालीले स्थिर सरकार बनेपछि मात्र देश विकास हुने आशा गरेका थिए । अहिले त्यो आशा पूरा भएको छ । यो सन्देश देशभित्र र बाहिर पनि गयो । यद्यपि, सरकारको अहिलेसम्मको कामकारबाही र प्रस्तुति छुट्टै मूल्यांकन गर्ने विषय हो । त्यस्तै, विप्रेषण पनि खुसीको कारण मान्न सकिन्छ । विप्रेषण विदेशबाट पठाएको रकम तल्लो वर्गको हातमा पर्ने नगद हो । त्यसले मानिसलाई जीविकोपार्जनमा सहज बनायो भने वर्षौँदेखिका समस्या–अप्ठ्यारासँग जुध्न पनि सघायो । त्यसले पनि आशा र खुसी दुवै दियो । 

त्यस्तै, द्वन्द्वकालमा देशभरका धेरै विद्यालय नियमित सञ्चालन भएका थिएनन्, कलेज चलेका थिएनन् । जताततै भताभुंग अवस्था थियो । त्यसमा पनि सुधार आयो । जुन उमेर समूहमा यो सर्वेक्षण गरिएको छ, त्यो उमेर समूहका बालबालिकादेखि युवायुवतीलाई सन्तुष्टि दियो । उनीहरूका अभिभावकलाई सन्तुष्टि दियो । पहिले महिनौँ स्कुल र विश्वविद्यालयमा हडताल÷बन्द हुन्थ्यो । त्यो शृंखलाको पनि अन्त्य भयो । नेपाल बन्द नियमितजस्तो हुन्थ्यो । पछिल्ला तीन वर्षदेखि नेपालीले बन्द सुन्नुपरेको छैन । उपत्यका बन्द, चक्काजामजस्ता शब्दावली हाम्रा दैनिक जीवनका अभिन्न अंगजस्ता बनेका थिए । अहिले त्यो स्थितिबाट हामी बाहिर आएका छौँ । त्यसले समग्रमा नेपालीलाई सन्तुष्टि र खुसी दिएको हो । 

हामीले विकास भनेको के हो ? त्यसलाई कसरी चिन्ने र विकासले जनतालाई आधारभूत रूपमा दिनुपर्ने के हो भनेर बुझ्नुपर्छ । ठूला सडक, ठूला विमानस्थल, विद्युत् आयोजना बन्ने र देशको आर्थिक वृद्धि हुने विषय मात्र विकास होइन । सबैभन्दा मुख्य विषय त सुरक्षाको प्रत्याभूति हो । यसले मानिसलाई आत्मसन्तुष्टि महसुस गराउँछ । साथै, समाजमा अलिकति मात्र पनि गतिशीलता आयो भने त्यसले समाजलाई सकारात्मक बनाँउछ । 

नेपाली समाज लामो समयसम्म अस्थिरता, हिंसामा रह्यो । अहिले समाजले गतिशीलता समात्न नसके पनि स्थिरतातर्फ अघि बढेको छ । नेपालीले धेरै ठूलो अपेक्षा गरेकै थिएनन्, न्यूनतम अपेक्षा थियो । सामान्य जीवन शान्तिपूर्वक बाँच्न पाऊँ भन्ने नेपालीको चाहना थियो । त्योतर्फ देश अघि बढ्दा पनि मानिस खुसी भए । काठमाडौंमै गरिखान देऊ भन्ने नारा आएको थियो । त्यो नागरिकको आधारभूत माग थियो, अपेक्षा थियो । अहिले करिब गरिखान दिएको अवस्था सिर्जना भएको छ । यसकारण आर्थिक वृद्धिदर अपेक्षित नभए पनि, देखिने भौतिक पूर्वाधार नबने पनि मानिसले चैनसँग बाँच्न पाएका छन् । धेरै राजनीतिक उथलपुथल भएन भने नेपाली अझै चार–पाँच वर्ष अझै यसमै खुसी हुन्छन् । सुरक्षा र स्थिरताको प्रत्याभूतिले पनि मानिस खुसी हुन्छन्, कोरोना संक्रमणले लामो समय पिरोलेन भने ।

वल्र्ड ह्याप्पिनेस इन्डेक्स २०२०’ अनुसार विश्वका एक सय ५३ देशमध्ये नेपाल ९२औँ स्थानमा

कुन देशको अबस्था के ?