मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १६ शुक्रबार २०:१०:००
Read Time : > 1 मिनेट
समाचार

मनाङ, मुस्ताङसँग सडक सम्पर्क विच्छेद : सडक पूर्ण खुल्न एक महिना लाग्ने

Read Time : > 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार २०:१०:००

हिमालपारिका जिल्ला भनेर चिनिने गण्डकी प्रदेशका मुस्ताङ र मनाङ पुग्ने सडक सम्पर्क विच्छेद भएको छ । २४ असारमा कालिगण्डकी करिडोरअन्तर्गतको म्याग्दीस्थित गलेश्वरमा रहेकाे बेलिब्रिज बगेपछि मुस्ताङसँगको सडक सञ्जाल विच्छेद भएको हो ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालका अनुसार अहिले गलेश्वरमा बेलिब्रिजमा ग्याभिन भर्ने र मर्मत भइरहे पनि प्रतिकूल मौसमका कारण समस्या भइरहेको छ । यो पुल निर्माण र मर्मत गर्न अझै एक साता लाग्नेछ । म्याग्दीको दाना, रुप्से छहरा र काभ्रेभिरमा भीषण पहिरो गएको छ । ती पहिरो छिचोल्न निकै समय लाग्ने सहायक सिडिओ अर्यालको भनाइ छ । कतिपय ठाउँमा सडकको निसानासमेत नरहेको उनले जानकारी दिए । मुस्ताङतर्फ घोप्टेभिर कैकुमा पहिरोले सडक नै बगाएको छ । ‘अधिकांश ठाउँमा बाटोको निसानासमेत छैन । ब्लाष्टिङ नगरिनहुने अवस्था छ,’ उनले भने । 

बेनी-जोमसोम-कोरला सडक योजनाका इन्जिनियर आश्विनीकुमार यादवका अनुसार रघुघाट, गलेश्वर, रुप्से, खहरेखोला र कैवु खोलामा पुल बगेका छन् । यसैगरी तातोपानीदेखि खहरे खोला र घाँसाको कैकु खोलादेखि लेतेसम्म पहिरोले अधिकांश ठाउँमा सडक नै बगाएको छ । उनका अनुसार अनुकूल मौसम भए मुस्ताङको सदरमुकामसम्म सडक सञ्जाल जोडिन अझै महिना दिन लाग्नेछ ।

मुस्ताङमा इन्धन सकियो, खाद्यान्न पनि अभाव 
लामो समयदेखि सडक अवरुद्ध हुँदा मुस्ताङमा इन्धनको अभाव भएको छ । पेट्रोल पम्प नरहेको र ड्रममा राखिएका डिजेल, पेट्रोल सकिएको मुस्ताङका सहायक सिडियो अर्यालले जानकारी दिए । यसैगरी खाना पकाउने एलपी ग्यासको पनि अभाव भएको छ । रोजगारीका सिलसिलामा जिल्लामा रहेको मजदुर, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका कार्यालय, क्याम्प र ब्यारेकमा ग्यास सकिएकाले समस्या आइसकेको उनले बताए ।

इन्धन अभावका कारण सरकारी कार्यालयका सवारीसाधन पनि चलाउन पाउने अवस्था नरहेको उनले जानकारी दिए । सडक निर्माणका लागि अनुगमन गरेर केही इन्धनको जोहो गरिए पनि त्यो सकिएको उनले बताए । इन्जिनियर यादवका अनुसार पहिरोले गर्दा मुस्ताङको लेतेभन्दा माथि निर्माणाधीन सडकको काम रोकिएको छ । निर्माण सामग्री लैजान नपाइएको र इन्धनकोसमेत अभाव भएकाले सडक निर्माण रोकिएको उनले बताए । 

गण्डकी प्रदेशका सांंसद चन्द्रमोहन गौचनले लामो समयदेखि सडक अवरुद्ध हुँदा उत्पीडित समुदाय र मजदुरमा खाद्यान्न अभाव हुन थालेको जानकारी दिए । उनीहरूका लागि सिडिओ अर्याल र गृह मन्त्रालयसँग समन्वय गरेर हेलिकोप्टरमार्फत खाद्यान्न लैजाने व्यवस्था गर्न लागेको उनले बताए । ‘लामो समय भयो, बाटो अवरुद्ध छ । उत्पीडित समुदाय र मजदुरलाई खाद्यान्न समस्या आइसकेको अवस्था छ,’ उनले भने, ‘सिडिओ र गृह मन्त्रालयसँग समन्वय गरेर हेलिकोप्टरमार्फत खाद्यान्न लैजाने प्रबन्ध मिलाउँदै छौँ ।’

मनाङको ताल डाँडामा ब्लास्टिङ गरेर सडक खुलाइँदै
मनाङमा पहिरोले अवरुद्ध सडक खुलाउन ब्लास्टिङ नै गर्नुपर्ने भएको छ । बेसीसहर–चामे सडकखण्डको तालडाँडामा ठुल्ठूला ढुंगासहितको पहिरोले अवरुद्ध भएकोमा त्यसलाई हटाउन ब्लाष्टिङ गर्नुपर्ने भएको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । शनिबार ब्लाष्टिङ गरेपछि अवरुद्ध सडक खुल्ने र सदरमुकामसँगको सडक सञ्जाल जोडिने उनले नयाँ पत्रिकालाई बताए । 

डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका इन्जिनियर सुरज महर्जनका अनुसार लमजुङतर्फको अखले, रामबजार, च्याम्चे, घोप्टे खोलालगायत दर्जनौँ स्थानमा गएको पहिरो हटाउने काम शुक्रबार सकिएको छ । अब तालडाँडाको पहिरो ब्लाष्टिङ गरेपछि शनिबार साँझबाट यो सडक सुचारु हुनेछ । उक्त सडक १० साउनदेखि अवरुद्ध छ ।