मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ श्रावण १६ शुक्रबार ११:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङमा स्थानीय र प्रहरीबीच झडप : प्रहरीबाट दुई राउन्ड हवाई फायर 

Read Time : > 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार ११:४६:००

मोरङको बुढीगंगा गाउँपालिका– १ करैया टोलका बासिन्दा र प्रहरीबीच बिहीबार राति दोहोरो झडप हुँदा एक दर्जन मानिस घाइते भएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउन्ड हवाई फायर पनि गरेको थियो ।  

लागुऔषध गाँजा बिक्री गर्ने गरेको सूचना पाएर बिहीबार राति करैया बस्तीमा पुगेको प्रहरी र स्थानीयबीच विवाद हुँदा झडप भएकाे हाे । झडपमा तीनजना प्रहरी र एक दर्जन स्थानीय घाइते भएका हुन् । 

झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेको थियो । 

झडपमा पहरी जवान ज्ञानबहादुर बस्नेत, जीवन काफ्ले र श्रवण चौधरी घाइते भएका छन् । उनीहरूको विराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचार भइरहेको छ । 

घाइते भएका स्थानीयहरू भने प्रहरीले पक्राउ गर्ने डरले सार्वजनिक भएका छैनन् । एक दर्जन स्थानीयको हात, खुट्टा र टाउकोमा चोट लागेको बताइएको छ । 

स्थानीयलाई उकासेर प्रहरीमाथि आक्रमण गरी अनुसन्धानमा बाधा पुऱ्याएको अभियाेगमा पाँचजनालाई प्रहरीले पक्राउ गरेकाे छ ।  महादेव, बलराम, चन्देश्वर, वीरेन्द्र र देव ऋषिदेवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको मोरङका एसपी सन्तोष खड्काले बताए । 

हवाई फायर गरेर  स्थिति नियन्त्रणमा लिन नसकेको भए घटनामा धेरै मानवीय क्षति हुन सक्ने प्रहरीले जनाएको छ । 

एसपी खड्काले लागुऔषध कारोबारीहरूलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि स्थानीयलाई अघि सारेर आक्रमण गर्न लगाइएको उनले बताए । 

स्थानीयका अनुसार राति छोटु भन्ने व्यक्तिको किराना पसलमा झोला माग्दै सादा पोसाकका प्रहरी पुगेका थिए । 

सोही क्रममा उनीहरूबीच विवाद भएको थियो । विवाद बढेपछि थप मद्दतका लागि प्रहरी बोलाएर गालीगलौज गर्ने, हेल्मेटले कुट्ने र ज्यान मार्ने धम्की दिएको स्थानीयको आरोप छ । 

त्यसपछि उत्तेजित भएका गाउँलेले घरेलु हतियार रड, भाला, खुकुरी निकालेर प्रहरीसँग प्रतिकार गर्न खोजेका थिए । 

त्यसपछि उत्पन्न परिस्थिति नियन्त्रणमा लिन प्रहरीले पेस्तोलबाट दुई राउन्ड हवाई फायर गरेको थियो । 

प्रहरीले भने लागुऔषध गाँजाको कारोबार हुने भएकाले अनुसन्धान गर्न आफूहरू पुगेको जनाएको छ । 

घटनास्थलबाट प्रहरीले लागुऔषध गाँजा भने बरामद गरेको छैन ।