१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
प्रमोद धिताल
२०७७ श्रावण १६ शुक्रबार ०९:३१:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कारिन्दा उत्पादन गर्ने शिक्षा प्रणाली

वास्तविक प्रगतिका लागि आलोचनात्मक शिक्षाको विकल्प छैन, जसले हरउत्तरमा प्रश्न खोज्ने संस्कृतिको निर्माण गरोस् 

Read Time : > 6 मिनेट
प्रमोद धिताल
२०७७ श्रावण १६ शुक्रबार ०९:३१:००

वर्तमान शिक्षाले योग्यताका नाउँमा अयोग्य मानिसको भिड उत्पादन गरिरहेको छ । यो नै यसको सबैभन्दा ठूलो दोष हो । वर्तमान शिक्षा प्रणालीले प्रतिभा होइन, व्यवस्था टिकाउन अनुकूलका कारिन्दा मात्र तयार गरिरहेको छ, जसले सोेच्न जान्दैन, जससँग प्रश्नहरू छैनन् । 

जोसँग प्रश्न हुँदैन, ऊ समाजका ज्वलन्त मुद्दाबाट टाढा हुन्छ । समाजमा युगीन अत्याचार, शोषण, विभेद, उत्पीडन र विकृतिले नग्न नृत्य देखाउन थाल्छन् । अन्ततः शिक्षितहरूका नाउँमा कामचोर, जड, चाप्लुसहरूको जमात निर्माण हुन पुग्छ । त्यहाँ कुनै खोज हुँदैन, आविष्कार हुँदैन, उत्पादन र रूपान्तरण पनि हुँदैन । जुन शिक्षाले मानिसलाई प्रश्न गर्न सिकाउँदैन, त्यसले समाधान खोज्न सक्षम पनि बनाउँदैन । उसले सामाजिक परिवर्तनमा भूमिका खेल्न पनि सक्दैन । 

शिक्षाको विस्तारसँगै औपनिवेशिक गुलामी त्यही अनुपातमा बढ्दो छ । व्यक्ति योग्य हुनुको अर्थ विदेश जानु र श्रम बिक्री गर्नु हो भन्ने मान्यता स्थापित छ । पढेर विदेश जान नसक्नु अयोग्य हुनु हो भन्ने मान्यता विकास हुँदै छ । विश्वविद्यालयको अध्ययन पूरा गरी शिक्षण क्षेत्रमा प्रवेश गर्ने व्यक्तिभन्दा, निजामती क्षेत्रमा प्रवेश गर्ने व्यक्ति योग्य मानिन्छ । निजामती क्षेत्रमा पनि धेरै घुस खान पाइने भन्सारलगायत क्षेत्रमा अवसर पाउने व्यक्ति सफल ठानिन्छ । त्योभन्दा बढी सफल त्यो मानिन्छ, जो डिभी परेर या अन्य तरिकाबाट अमेरिका जान सक्छ । समाजमा शिक्षामार्फत कस्तो खालको मानसिक गुलामी निर्माण भएको छ, यसबाट पुष्टि हुन्छ । 

शिक्षाको केन्द्रबिन्दु र सार दुवैमा पैसा छ, समाज रूपान्तरण छैन । त्यसैले, सरकारी जागिर खाने कर्मचारीले घुस नखाँदा अयोग्य र हुतिहारामा दर्ज हुनुपरेको छ । समाजको शिक्षित व्यक्ति समाज रूपान्तरणका निम्ति राजनीति गर्छु भनेर निक्लिँदा निकम्मा घोषित हुनुपरेको छ । सत्तामा पुगेर भ्रष्टाचार गर्दिनँ भन्दा असफल नेताको कित्तामा उभिनुपरेको छ । जनता जागरुक गराउने, न्याय र सत्यको पक्षमा उभिने कार्यकर्ता ‘अव्यावहारिक’ साबित भएको छ । 

शिक्षाको अर्थ ज्ञानसँग गएर जोडिन्छ । जसबाट जीवन र जगत्लाई गहिराइमा पुगेर बुझ्न र जगत्लाई पहिलेभन्दा सुन्दर बनाउन योगदान गर्न सकियोस् । तर, ज्ञान एउटा अमूल्य रत्न हो भनेर स्विकार्ने ठाउँमा समाज पुगेकै छैन । ज्ञान र सीपले युक्त एउटा असल व्यक्तिको निर्माण नै शिक्षाको सफलता हो भन्ने स्थपित भएकै छैन । बचपनदेखि नै एउटा प्रशिक्षण सुरु हुन्छ, ‘जागिर पाइँदैन र पैसा कमाउन सकिँदैन भने पढेर के काम ? अर्थात्, पदवाल र पैसावाल बन्नुपर्छ, चाहे जसरी नै किन नहोस् । 

शिक्षा यतिखेर लगानी गरेर अकुत कमाउने व्यवसाय बनेको छ । शिक्षामा लगानी असल एवं प्रतिभावान् नागरिक निर्माणका खातिर होइन, केवल नाफा कमाउने उद्देश्यले गरिँदै छ । अभिभावकका लागि समेत बालबालिका लगानीका क्षेत्र भएका छन् । यो स्वार्थपूर्ण संकीर्ण मानसिक घेरोबाट मुक्त भएर शिक्षाको सही अर्थ खोज्ने हैसियत समाजसँग छैन । 
यहाँनेर सफलता र सार्थक जीवनलाई हेर्ने सवालमा कस्तो सामाजिक मनोविज्ञान छ भन्ने चर्चा सान्दर्भिक हुन्छ ।

शिक्षामा लगानी असल एवं प्रतिभावान् नागरिक निर्माणका खातिर होइन, केवल नाफा कमाउने उद्देश्यले गरिँदै छ । अभिभावकका लागि समेत बालबालिका लगानीका क्षेत्र भएका छन् । यो स्वार्थपूर्ण संकीर्ण मानसिक घेराबाट मुक्त भएर शिक्षाको सही अर्थ खोज्ने हैसियत समाजसँग छैन।

अपवादलाई छाडेर भविष्यमा के गर्ने भन्ने कुराको निर्धारण बच्चाहरूले होइन, तिनका अभिभावकले गरिरहेका छन् । पेसा अनि जीवनको उद्देश्य र बाटो तय गर्ने सवालमा उनीहरू स्वतन्त्र छैनन् । अभिभावक बच्चा जन्मेदेखि नै यो तय गर्न थाल्छन् कि, ‘मेरो छोरालाई इन्जिनियर बनाउँछु ! मेरी छोरीलाई डाक्टर बनाउँछु !’ यहीँबाट बच्चाले सहजतापूर्वक र रुचिअनुसारको रोजाइ होइन, हठात् बलपूर्वक लाद्ने कुराको सुरुवात हुन्छ । सन्तानमार्फत आफ्नो प्रतिष्ठा स्थापित गर्न र पुँजीवादी महत्वाकांक्षाको भोक शान्त गर्न प्रयास गरिन्छ । असल बन्नुपर्छ, स्वाभिमान र विवेकी बन्नुपर्छ, करुणावान् र उदार हुनुपर्छ भन्ने कुरा शिक्षाको लक्ष्य र उद्देश्यमा गायब छ । 

एउटा अर्को घातक चिन्तन छ, व्यक्तिगत स्वार्थ र सामाजिक स्वार्थलाई अलग गर्ने चिन्तन । व्यक्तिगत स्वार्थ सामाजिक स्वार्थकै सानो रूप न हो । व्यक्ति समाजको अधीनस्थ हुन्छ । तर, व्यक्तिगत स्वार्थ र सामाजिक स्वार्थलाई फरक गर्न खोजिन्छ । व्यक्तिका हरेक इच्छाले सामाजिक हित–अहितलाई प्रभावित गर्छन् । विद्यमान शिक्षा प्रणालीले सहकार्य, समानता र सामूहिक प्रगतिको कुरा गर्दैन, प्रतिस्पर्धाको कुरा गर्छ । सामाजिक मुक्तिको होइन, व्यक्तिगत लाभहानिको कुरा गर्छ । त्यसैले, अहिलेको शिक्षा प्रणालीले गढ्ने व्यक्ति भनेको अराजनीतिक व्यक्ति हो । ऊ अराजनीतिक होस् र उसले भनोस् कि म एउटा डाक्टर हुँ, मैले किन राजनीतिका बारेमा सोच्ने ? अर्थात् राजनीतिको बारेमा टाउको नदुखाएर ऊ शोषणकारी सत्ताको राजनीतिक पुर्जा बन्न सकोस् । त्यसका लागि उसलाई जति सक्यो राजनीतिक, आर्थिक र सामाजिक चिन्तनबाट अलग गर्नुपर्ने हुन्छ । तर, राजनीतिक चिन्तन गर्न थाल्यो भने उसले यो मात्र सोच्दैन कि म कुन राजनीतिक व्यवस्थाभित्र छु ? बरु, उसले यो पनि सोच्न थाल्छ कि हुनुपर्ने कस्तो राजनीतिक व्यवस्था थियो ? 

यद्यपि, राजनीतिका नाउँमा शिक्षक–विद्यार्थीलाई दलीय सत्ताका अनुयायी बनाउने र भोटबैंकका रूपमा प्रयोग गर्ने काम भने भइरहेकै छ । तर, राजनीतिक दलको पिछलग्गु हुनु र आफूलाई राजनीतिक प्राणी बनाउनु अलग कुरा हुन् । राजनीतीकरणको आवरणमा अमुक दलको भजन मात्र गाउने चिन्तन सामन्तवादी चिन्तन नै हो । 

सामाजिक प्रशिक्षण पनि त्यहीअनुकूलको छ, पहिला व्यक्ति बन, परिवार बन, त्यसपछि मात्र समाजको लागि सोच ! यदि कुनै गरिबको सन्तान राजनीतिक तथा सामाजिक आन्दोलनमा सरिक भएर समाज रूपान्तरणमा योगदान गर्ने कुरा गर्छ भने अपवादबाहेक ऊ बेकारको दरिन्छ । जोखिम नउठाउने, सुरक्षित हुने र व्यक्तिगत स्वार्थ पूरा हुने सर्तमा आफ्नो सन्तान भयानक समाजविरोधी र परपीडक भएको स्विकार्न समाज तयार छ । 

एकथरी अभिभावकका निम्ति राजनीति फोहोरी खेल हो । उनीहरू आफ्ना सन्तान त्यसबाट टाढै बसिदिएहुन्थ्यो भन्ने कामना गर्छन् । राजनीतिक चिन्तनबाट अलग रहन खोज्ने बुर्जुवा चिन्तन यसका निम्ति जिम्मेवार छ । तर, जब तिनै व्यक्तिको सम्बन्ध माथिल्लो तहमा राजनीतिक नियुक्ति पाएको वा सांसद, मन्त्री भएको व्यक्तिसँग जोडिन्छ, त्यसलाई चाहिँ आफ्नो सौभाग्य ठान्छ । राजनीतिलाई फोहोरी खेल ठान्ने अर्को मनोविज्ञानका पछाडि बुर्जुवा वर्गीय भ्रष्ट राजनीतिक अभ्यास पनि त्यत्तिकै जिम्मेवार छ । 

सन् २००९ मा बनेको हिन्दी चलचित्र ‘थ्री इडियट’मा घोकन्ते यान्त्रिक शिक्षामाथि व्यंग्य गर्ने एउटा रोचक संवाद छ, ‘लाइफ इज अ रेस, अगर तेज नही दौडोगे, तो कोई तुम्हे कुचलकर आगे निकल जायेगा ।’ आज समाजमा यही मान्यताको बोलवाला छ । तर, एउटा यक्ष प्रश्न पनि सँगसँगै उभिन्छ कि जीवनको यस्तो दौड प्रतियोगिताबाट प्राप्त सफलताले मानवताको सेवा गर्न सक्छ ? 

अगाडि निस्किने महत्वाकांक्षाको यो अन्ध प्रतियोगितामा माछालाई पानीमा खेल्नबाट वञ्चित गरेर जबर्जस्ती उड्ने तालिम दिइँदै छ, हाँसलाई पौडिनबाट वञ्चित गरेर रूख चढ्ने तालिम दिइँदै छ । जबकि संसारमा हरेक व्यक्ति आफैँमा विशिष्ट सिर्जना हुन् । उनीहरू आफ्नै विशेषताका आधारमा बाँच्न र समाजका लागि महत्वपूर्ण योगदान गर्न सक्छन् । तर, अहिलेको व्यवस्थाले शिक्षाको नाउँमा सबै मानिसलाई एउटै आकारको साँचोमा ढाल्ने दुष्कर्म गरेको छ ।

स्वतन्त्र र सिर्जनात्मक चिन्तनका लागि कुनै ठाउँ उपलब्ध नगराउनु मौजुदा शिक्षा प्रणालीको सबभन्दा ठूलो खोट हो । यो शिक्षाले स्वतन्त्र एवं सिर्जनात्मक चिन्तन मेटेर पुँजीवादी व्यवस्थाभित्र फिट हुने पुर्जा तयार गरिरहेको छ । सामाजिक चिन्तनबाट विमुख जीविकामुखी व्यक्ति जति नै दक्ष किन नहोस्, त्यसबाट सामाजिक रूपान्तरण सम्भव हुँदैन । तसर्थ शिक्षामाथि औपनिवेशिक दासत्व कायम छ । त्यसैले, अर्थव्यवस्था चलाएको छ, राजनीति चलाएको छ र सरकार चलाएको छ ।

वास्तविक प्रगतिका लागि आलोचनात्मक शिक्षाको विकल्प छैन । जसले हरउत्तरमा प्रश्न खोज्ने र देख्ने संस्कृतिको निर्माण गरोस् । तर, शिक्षाको नाउँमा विद्यार्थीको दिमागमा कस्तो पंगु धारणा विकास गरिन्छ, त्यो हेर्न प्राथमिक तहमा पढाइ हुने विज्ञान र सोही तहको नैतिक विषयको पाठलाई हेरे पुग्छ । विज्ञानको पुस्तकमा ब्रह्माण्डको उत्पत्तिबारे महाविस्फोट सिद्धान्तको चर्चा गरिएको हुन्छ । तर, त्यही तहको नैैतिक विषयको कुनै पाठमा ब्रह्माण्डको सृष्टि ईश्वरबाट भएको लेखिएको हुन्छ । शिक्षाको बिजोग यतिमा मात्र सीमित हुँदैन ।

परीक्षामा यी दुवै विषयबाट आएको एउटै प्रश्नको उत्तर विज्ञान विषयमा महाविस्फोटको सिद्धान्तअनुसार ब्रह्माण्डको सृष्टि भएको भनेर र नैतिक शिक्षाको प्रश्नमा सबैका सृष्टिकर्ता एवं पालनकर्ता ईश्वरले नै यो ब्रह्माण्डको सृष्टि गरेका हुन् भनेर लेख्नुपर्छ । यस्तो उत्तर लेखेर नै उसले राम्रो अंक ल्याई पास गर्न सक्छ र मेधावी विद्यार्थीमा दरिन्छ । विवेकको प्रयोग गर्न वर्तमान शिक्षा र मूल्यांकन प्रणालीले दिँदैन । कलिलो उमेरमै शिक्षाको नाउँमा मानिसको मस्तिष्कलाई यसरी कजाइसकेपछि विवेक र चिन्तन मर्दै गएर एउटा घोकन्ते, यान्त्रिक र जीविकामुखी प्राणी तयार नभए के हुन्छ ? 

शिक्षा प्रणालीमा विद्यमान विकृतिको यो एउटा उदाहरण मात्रै हो । यस्तै विरोधाभास र विकृतताले व्याप्त छ, वर्तमान शिक्षा प्रणाली । यो साँचोमा ढलिसकेपछि मानिस केवल एउटा आर्थिक प्राणीमा सीमित हुन्छ । जसका लागि ज्ञान र शिक्षा भनेको पाठ्यपुस्तकमा भएका बनिबनाउ कुरा याद गर्नु हो । तिनै कुरालाई उत्तरपुस्तिकामा उतार्नु हो र वर्तमान आर्थिक–राजनीतिक–सांस्कृतिक व्यवस्थालाई सघाउने एउटा अब्बल पात्र बन्नु हो । तर, आवरणमा त्यही व्यक्ति वर्तमान व्यवस्थाले भिडाइदिने सक्षम, योग्य र सफल प्रतिभाको तक्मा देखाएर समाजमा स्थापित छ । 

यसै सन्दर्भमा भारतीय प्राध्यापक राकेशकुमार लेख्छन्–‘शिक्षाले मनुष्यलाई असल बनाउँछ ।’ यस वाक्यमा कुनै प्रकारको व्याकरणिक त्रुटि छैन, तर यो वाक्य एउटा अधुरो विचार अवश्य हो । यसले कुन प्रकारको शिक्षाले मानिसलाई असल बनाउँछ भन्ने प्रश्नको उत्तर दिँदैन । यसले कसले त्यो शिक्षा दिन्छ भन्ने प्रश्नको उत्तर पनि दिँदैन । एउटा असल मानिस निर्माणका लागि यो आवश्यक छ कि शिक्षा विद्यार्थीको करिअरको बाटो मात्र नहोस्, बरु त्यसले विद्यार्थीको मानसिक–सामाजिक स्वास्थ्यलाई पनि ठीक राखोस् । एउटा यस्तो नागरिक तयार गर्न सकोस्, जसले समाजमा समानता र स्वतन्त्रताको मूल्य र महत्व बुझ्न सकोस् र स्थापित गर्न सकोस् । 

शिक्षाको महत्व केवल प्राप्तांक, पद, पावर, प्रतिष्ठा र पैसासँग मात्र सीमित हुनुले यसले स्थापित गर्न सक्ने महान् आदर्श गायब बनाइदिएको छ । यसका पछाडि सिंगै वर्तमान व्यवस्था र सत्ताधारीको स्वार्थ जोडिएको छ । त्यसकारण शिक्षा राजनीतिक व्यवस्था र सत्ताभन्दा कुनै निरपेक्ष विषय होइन । शिक्षासँग दक्षता, सिर्जनशीलता र सीपको विकास मात्रै जोडिँदैन बरु त्योसँगसँगै मानिसको सांस्कृतिक पुनर्जन्म, उन्नयन र व्यक्तित्व विकास पनि अपरिहार्य रूपमा जोडिन पुग्छ।

नयाँ आविष्कार र परिवर्तनको सुरुवात त्यहीँबाट हुन्छ, जहाँ स्थापित मान्यता र यथास्थितिमाथि प्रश्नहरू उठ्न थाल्छन् । तर, वर्तमान शिक्षा प्रणालीले प्रश्न र उत्तर दुवैलाई पाठ्यक्रम र शिक्षण संस्थाहरूको बन्द पाना र कोठाको संसारमा कैद गरेर राखेको छ । यस्तो लाग्छ, यी दुई संसारभन्दा बाहिर निस्किनेबित्तिकै सबै प्रश्न र उत्तरहरूको अन्त्य हुन्छ । यो बन्दी मानसिकताको उपनिवेश हुँदासम्म हाम्रो शिक्षा, शिक्षा नभएर सत्ताका रैती उत्पादन गर्ने कारखाना मात्र भइरहनेछ।