मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १६ शुक्रबार ०६:५२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

निर्मला पन्त हत्या प्रकरण : पूर्वएसपीसहित आठ प्रहरीलाई सफाइ

Read Time : < 1 मिनेट
२०७७ श्रावण १६ शुक्रबार ०६:५२:००

यातना दिएको र प्रमाण नष्ट गरेको आरोपमा मुद्दा चलाइएका प्रहरीलाई अदालतले सफाइ दिएको हो

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको तथा अनुसन्धानका क्रममा सर्वसाधारणलाई यातना दिएको मुद्दामा पूर्वएसपीसहित आठै प्रहरीले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतले २० महिनापछि बिहीबार उनीहरूलाई सफाइ दिने फैसला सुनाएको हो ।

१० साउन ०७५ को दिउँसो घरबाट निस्केकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको अर्को दिन उखुबारीमा शव भेटिएको थियो । मेडिकल रिपोर्टमा बलात्कारपछि हत्या गरिएको पुष्टि भएको थियो । यस घटनामा अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।

कञ्चनपुर प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का टोलीले प्रमाण नष्ट गरेको भन्दै धेरै सर्वसाधारणलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका थिए । अनुसन्धानका क्रममा यातना दिएको बताउँदै दिलीपसिंह विष्टका दाइ खड्कसिंह विष्ट र प्रमाण नष्ट गरेको भन्दै निर्मलाकी आमा दुर्गादेवी पन्तले अनुसन्धानमा संलग्न आठ प्रहरीविरुद्ध उजुरी दिएका थिए ।

सोही मुद्दामा बिहीबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले निर्दोष ठहर गरेको हो । दुवै मुद्दाका प्रतिवादी सबै प्रहरीले सफाइ पाएको जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले बताए ।

निर्मलाकी आमा दुर्गादेवीले मंसिर ०७५ मा कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, सिआइबीका डिएसपी अंगुर जिसी, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खडका र जगदिशप्रसाद भट्ट, सइद्वय रामसिंह धामी र हरिसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदविरुद्ध प्रमाण नष्ट गरेको सार्वजनिक न्यायविरुद्धको कसुरमा जाहेरी दिएकी थिइन् ।

यस्तै, निर्मलाको हत्यामा दोषी भनेर प्रहरीले सार्वजनिक गरेका दिलीपका दाइ खड्कले एसपी विष्ट, सिआइबीका डिएसपी जिसी र सेठी तथा इन्स्पेक्टर एकेन्द्र खड्काविरुद्ध यातनासम्बन्धी कसुरमा जाहेरी दिएका थिए ।