मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १६ शुक्रबार ०५:२७:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १६ शुक्रबार ०५:२७:००

हिजोदेखि देशभर होटेल तथा रेस्टुरेन्ट सञ्चालनका लागि खुला गरियो । धेरैजसो होटेल ग्राहक आउने–नआउने निश्चित नभए पनि व्यवसाय धान्नका लागि खुला भएका छन् । यसअघि अघिल्लो साताबाट सार्वजनिक यातायात खुला भएको थियो । लामो दूरीका यातायात सञ्चालन नभए पनि र काठमाडौं प्रवेशमा केही रोक लगाएजस्तो देखिए पनि मानिसको आवत–जावत लगभग खुला भएको छ । सहरबजार सरकारी कार्यालयसहित सबैजसो सार्वजनिक निजी व्यवसाय खुलेका छन् । लामो समयको लकडाउनबाट आजित भएका र जीविकोपार्जन संकटमा धकेलिएपछि मानिस व्यवसायमा फर्केका छन् । र, यही समयमा देशका विभिन्न क्षेत्रमा समूह तहमा कोरोना संक्रमण फैलिँदै गएको छ । वीरगन्ज, राजविराज, विराटनगर, झापा, बाँके, कपिलवस्तु, जिल्ला प्रहरी कार्यालय स्याङ्जा र काठमाडौं उपत्यका नयाँ संक्रमणका केन्द्रमा बदलिँदै छन् । 

क्लस्टर छुट्याएर सम्भावित जोखिम क्षेत्रको पहिचान गरी आममानिसलाई समेटेर परीक्षण नगर्ने हो भने हामीकहाँ संक्रमण असमाधेय रूपमा फैलिने जोखिम देखिएको छ, त्यसैले परीक्षण बढाऊँ, थप र जतिसक्यो धेरै परीक्षण गराैं

स्वास्थ्यकर्मी र सुरक्षा अधिकारीमा संक्रमणको दर निकै धेरै छ । उनीहरूको सम्पर्क पत्ता लगाउने र परीक्षण गर्ने कामसमेत पूर्ण रूपमा भएको छैन । कसलाई कताबाट कोरोना संक्रमण भयो र उसले कसकसलाई सार्‍यो भन्ने पूर्ण विवरण नभएपछि लक्षण नदेखिएका संक्रमितले आफ्नो पारिवारिक, सामाजिक र व्यावसायिक सम्पर्कमा आउने सम्भावित मानिसलाई संक्रमण फैलाइसकेको हुन सक्छ । साउन ७ गते लकडाउन खुला गरिएपछिको संक्रमण दर ठीकअघिको सोही समयको अनुपातमा बढेको छ । यता परीक्षणको दर भने विस्तार भएको छैन, बरु अलिकति घटेको देखिएको छ । लामो समयसम्म भारत या अरू देशबाट आउने र क्वारेन्टाइनमा बस्नेहरूमा संक्रमण देखिने गरेकोमा पछिल्लो संक्रमण भने त्यस्तो भ्रमण इतिहास नभएकामा हुँदै गएको छ । यसले नेपालमा संक्रमणले गति लिन थालेकोतर्फ संकेत गर्छ । 

अरू देशहरूसँग तुलना गर्दा खासगरी जहाँ संक्रमणले महामारीको रूप लियो, ती देशमा संक्रमणको प्रारम्भिक दर र त्यसको विस्तारको चरित्र हेर्दा नेपाल महमारीको प्रारम्भिक दिनमा पुगेको अनुमान गर्न गाह्रो छैन । अहिले नै वीरगन्जको अवस्था हेर्दा संक्रमण देखिएकाको उपचार र आइसोलेसनमा राख्ने संस्थागत अवस्था अत्यन्त नाजुक र अपुग रहेको प्रस्ट हुन्छ । कतिसम्म भने वीरगन्ज महानगरले त संक्रमण पुष्टि भएर घरमा बस्न बाध्य भएका नागरिकलाई अपमान र लाञ्छित हुने गरी घरघरमा पुगेर सूचना टाँस्न थालेको छ । समुदायमा विस्तार हुँदै गयो भने नेपालको अहिलेको स्वास्थ्य सेवा संरचना र राज्यको फितलो इच्छाशक्तिका कारण भयावह अवस्था सिर्जना हुने सम्भावना हुन्छ । हरेक नागरिक र परिवार तथा समुदाय साझा रूपमा सचेत र सतर्क नभई यो संक्रमणसँग जुध्न सकिन्न । 

लकडाउन खुकुलो हुनु भनेको पहिलेजस्तै अवस्था हो भन्ने ढंगले मानिसले मास्क लगाउन, स्यानिटाइज गर्न र भौतिक दूरी कायम गर्न झिँझो मान्ने या आवश्यक नठान्ने प्रवृत्ति बढ्दै गएको छ । हालैका दिनमा भियतनाम र हङकङ तथा चीनजस्ता देशमा देखिएको उच्च संक्रमण दरले देखाउँछ, अलिकति पनि लापर्बाहीले पछि माफी माग्ने ठाउँ नदिने गरी सताउनेछ । यसको अर्को पाटो भनेको सरकारले जतिसक्यो धेरै सम्भावित र सम्भावना नभएकासमेत नागरिकमा परीक्षणको दर बढाउनु हो । तर, पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटेसँगै परीक्षणको दर पनि घटेको छ । क्लस्टर छुट्याएर सम्भावित जोखिम क्षेत्र पहिचान गरी आममानिसलाई समेटेर परीक्षण नगर्ने हो भने हामीकहाँ संक्रमण असमाधेय रूपमा फैलिने जोखिम देखिएको छ । त्यसैले परीक्षण बढाऊँ, थप र जतिसक्यो धेरै परीक्षण गराैं ।