मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ श्रावण १६ शुक्रबार ०५:०९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बाढीपहिरोमा कालिकोट र कैलालीमा पाँचको मृत्यु

Read Time : > 2 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ श्रावण १६ शुक्रबार ०५:०९:००

बाढी विस्थापित हुलाकी राजमार्गमा भोकभोकै

  • भजनीस्थित हुलाकी सडकमा बसेका विस्थापित परिवार । कान्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी बस्तीमा पसेपछि विस्थापित भएका कैलालीको भजनी नगरपालिकाका व्यक्ति हुलाकी राजमार्गमा भोकभोकै बसिरहेका छन् । उनीहरूले दुई दिनदेखि खाना नपाएको गुनासो गरेका छन् । 

बाढी र पहिरोमा परी बिहीबार कालिकोट र कैलालीमा पाँचजनाको मृत्यु भएको छ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका– ६ मा खोलाले बगाएर ६२ वर्षीय पर्शुराम सञ्ज्याल र उनकी बुहारी २९ वर्षीया तारा धमला सञ्ज्यालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार बिहान धारामा पानी भर्न गएका उनीहरूलाई खोलाले बगाएको हो । 

कालिकोटकै महावै गाउँपालिका–७ कोडबाडाका तुलबहादुर महतराको घर भत्किँदा दुई बालबालिकाको ज्यान गएको छ । बुधबार बेलुका वर्षाले घर भत्किँदा आँगनमा खेलिरहेका स्थानीय टेकबहादुर भण्डारीकी छोरी चार वर्षीया संगीता र सूर्य महतराका छोरा १२ वर्षीय गणेशको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका इन्स्पेक्टर यज्ञराज जोशीले बताए । घर भत्किँदा चार बालबालिका घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

यसैगरी कैलालीको भजनी नगरपालिका–८ जनकपुरका इजिकेल चौधरीको बाढीले बगाउँदा मृत्यु भएको छ । बुधबार बाढीले बगाएका इजिकेलको बिहीबार हुलाकी राजमार्गबाट एक किलोमिटर तल शव भेटिएको भजनी इलाका प्रहरी कार्यालयले जनाएको छ । बुधबार बाढीले बेपत्ता भएका स्थानीय ४० वर्षीय ईश्वर शाह र ३३ वर्षीय चक्रबहादुर विकको अवस्था अझै अज्ञात छ । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

बाढी विस्थापित हुलाकी राजमार्गमा भोकभोकै

कान्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी बस्तीमा पसेपछि विस्थापित भएका कैलालीको भजनी नगरपालिकाका व्यक्ति हुलाकी राजमार्गमा भोकभोकै बसिरहेका छन् । उनीहरूले दुई दिनदेखि खाना नपाएको गुनासो गरेका छन् । 

घरमा बाढी पसेपछि परिवारसहित विस्थापित भएर हुलाकी राजमार्गमा बसिरहेका भजनी–८, सोनाफाँटाका सुकै डगौराले दुई दिनदेखि खान नपाएको बताए । पानीसमेत पाउन मुस्किल भए पनि स्थानीय तह र अन्य निकायबाट सहयोग नपाएको उनको भनाइ छ । ‘बाढीले घरमा जान सक्ने अवस्था छैन । राजमार्गमा बसिरहेका छौँ । हिजोदेखि केही खाएको छैन,’ उनले भने ।

हुलाकी राजमार्गको कृष्णनगरदेखि सोनाफाँटासम्मको अग्लो ठाउँमा बाढीबाट विस्थापित सात सय परिवार बसिरहेका छन् । बाढीबाट विस्थापित आस्मा चौधरीले घरमा पानी पस्दा अन्नपात सबै डुबेको बताइन् । पिउने पानीसमेत नपाएको उनले बताइन् । ‘घरमा ५–६ फिटसम्म पानी जमेको छ । अन्नपात सबै नष्ट भयो,’ दुई दिनदेखि हुलाकी सडकमै पाल टाँगेर बसेकी उनले भनिन्, ‘यहाँ खाना र पानीको समस्या छ ।’ सबै क्षेत्र जलमग्न भएकाले करिब दुई किलोमिटर टाढाबाट खानेपानी ल्याएर पिउनुपरिरहेको उनले बताइन् । 

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बुधबार र बिहीबार गरी जिल्लाभर बाढीका कारण साढे दुई हजार परिवार विस्थापित भएका छन् । कान्द्रा, काँढा र पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा भजन–८ का एक हजार एक सय ५० परिवार विस्थापित भएको वडाध्यक्ष पंकज चौधरीले बताए । विस्थापित भएकाहरू अधिकांश हुलाकी सडकमा आश्रयस्थल बनाएर बसिरहेका छन् । केही स्थानीय कृष्णध्वज चन्द माध्यमिक विद्यालयमा बसेका छन् । 

तीमध्ये करिब सात सय परिवार राजमार्गमा बसिरहेका मेयर शेरबहादुर चौधरीले बताए । विस्थापित परिवारलाई बिहीबार चाउचाउ, बिस्कुट, भुजालगायत तयारी खाद्यान्न वितरण गरिएको उनले बताए । उद्धार कार्य जारी रहेकाले सबैलाई खाद्यान्न वितरण गर्न नसकिएको उनको भनाइ छ । 

बाढीबाट अत्यधिक प्रभावित जोशीपुर गाउँपालिकामा दर्जनौँ परिवारले राहत पाउन सकेका छैनन् । विस्थापितहरू विभिन्न विद्यालयमा बसिरहेका छन् । वर्षा नरोकिएकाले बिहीबार पनि थप घर डुबानमा परेका प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।

निरन्तरको वर्षाले बाढीको सतह नघट्दा बुधबार विस्थापित परिवार घर फर्कन सकेका छैनन् । साँझ घर फर्केका कतिपय परिवार बाढी बढ्न थालेपछि बिहीबार पुनः घर छोडेर सुरक्षित ठाउँमा गएका जोशीले बताए । भजनी, टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका बाढी र डुबानबाट बढी प्रभावित भएका छन् ।