१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ श्रावण १५ बिहीबार २१:३७:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतीय दाबी– कस्मिर उपत्यका क्रमशः शान्तितर्फ 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ श्रावण १५ बिहीबार २१:३७:००

भारतले जम्मु–कस्मिरलाई केन्द्रशासित राज्य बनाएको यही अगस्ट ५ मा एक वर्ष पुग्न लागेको छ ।  एक वर्षमा कस्मिर उपत्यकामा स्थानीय युवाहरूबाट सुरक्षा निकायमाथि ढुंगा प्रहारका घटनामा कमी आएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । विगतमा सुरक्षा निकायमाथि ढुंगा प्रहार गर्ने कस्मिरका युवाहरू अहिले अध्ययन र विकासमा ध्यान दिन थालेको सरकारी दाबी छ । तुलनात्मक रूपमा कस्मिर शान्तितर्फ उन्मुख भएको भारतीय सञ्चारमाध्यमको जिकिर छ । 

गत वर्ष सरकारले भारतको संविधानको धारा ३७० मा जम्मु–कस्मिरमाथिको विशेष दर्जा हटाएर जम्मु–कस्मिर र लद्दाखलाई केन्द्र शासित दुई अलग राज्य गठन गरेको थियो । अहिले दुईजना लेफ्टिनेन्ट गभर्नरले दुई राज्यमा शासन चलाइरहेका छन् । भारतका गृहमन्त्री अमित शाहले पटकपटक कस्मिर शान्तितर्फ अघि बढेको र सुरक्षा निकायमाथि स्थानीय युवाहरूले ढुंगा प्रहार गर्ने क्रम तीव्र रूपमा घटेको बताउँदै आएका छन् ।

कस्मिरका स्थानीय मोहम्मद युसुफले समाचार एजेन्सी एएनआईलाई भनेका छन्, ‘यहाँका युवाहरूले विद्रोही दस्तामा सहभागी हुनुमा केही उपलब्धि छैन भन्ने कुरा बुझ्न थालेका छन् । उनीहरू अहिले विकास र पढाइलेखाइमा केन्द्रित हुन थालेका छन् ।’ सरकारी तथ्यांकअनुसार सन् २०१६ मा युवाहरूले सुरक्षा निकायमाथि ढुंगा प्रहारका दुई हजार ६ सय ५३ घटना भएका थिए । भारतका नेसनल इन्भेष्टिगेटिभ एजेन्सीले सन् २०१७ मा दाबी गरेअनुसार  पाकिस्तानतर्फबाट ढुंगा प्रहारकर्तालाई पैसा दिएको थियो । भारतीय समाचार एजेन्सी पिटिआईका अनुसार सन् २०१७ मा ढुंगा प्रहारका  एक हजार चार सय ५८ घटना भएका छन् । सन् २०१८ मा यस्ता घटना एक हजार चार सय १२ वटा भए । सन् २०१९ देखि हालसम्म यस्ता घटनामा उल्लेखनीय कमी आएको सरकारी दाबी छ । 

जम्मु–कस्मिरका पूर्वउपमुख्यमन्त्री निर्मल सिंहको टिप्पणी छ, ‘पाकिस्तानले भारतसँग प्रत्यक्ष रूपमा चारवटा युद्ध हारेपछि कस्मिरीका प्रतिनिधि भनिनेहरूलाई उनीहरूले नक्कली पैसा बाँडेका छन् । युवाहरूलाई एकपटक ढुंगा प्रहार गरेको पाँच सय रुपैयाँ दिने गरेका छन् ।’ कस्मिर उपत्यकामा सुरक्षा निकायमाथि एक ढुंगा हान्ने युवालाई पाँच सय रुपैयाँ दिने गरिएको पहिले नै गुप्तचर निकायहरूले सार्वजनिक गरेका थिए । 

पुलवामाका स्थानीय बासिन्दा अलतफ ठाकुरको भनाइमा गत वर्ष अगस्ट ५ पछि कस्मिरको परिस्थिति नयाँ दिशातर्फ अघि बढेको छ । गत वर्षहरूमा विरोधका लागि क्यालेन्डर नै बाँडिन्थ्यो, अहिले यो अवस्था छैन । शासन प्रणाली पारदर्शी छ र जनताप्रति जवाफदेही छ– ठाकुरले भनेका छन् । 

स्थानीय पत्रकार तारिक भाटले आफूले बाल्यकालदेखि नै कस्मिरमा विरोध र बन्दाबन्दी तथा ढुंगा प्रहार देख्दै आएको, तर गत वर्ष संविधानको धारा ३७० हटाएपछि ढुंगा प्रहारका घटना नदेखेको बताएका छन् । उनले एएनआईलाई भनेका छन्– एक वर्षयता यहाँ परिवर्तन आएको छ । हाम्रैअगाडि परिवर्तन देख्न पाइएको छ । 

सेना दिवसका दिन भारतीय सेनाका स्थल सेनाध्यक्ष मणिमुकुन्द नरभणेले दाबी गरेका छन् कि गत अगस्ट ५ अघि र पछिको अवस्थामा व्यापक परिवर्तन भएको छ । उनको भनाइ छ– हिंसा, ढुंगा प्रहार, आतंकवादी गतिविधिमा निकै कमी आएको छ ।