प्रदेश २ मा कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कोभिड हस्पिटल निर्माण तथा हाल सञ्चालनमा रहेका आइसोलेसनहरूको व्यवस्थापन, बिरामीको खानाखाजा, बेडसंख्या वृद्धि आदिमा खर्च गर्ने गरी रकम निकासा गरेको हो ।
यो रकमबाट बाराको सिमरामा कोभिड अस्पताल निर्माणका लागि एक करोड ७५ लाख, पर्सामा कोभिड अस्पतालको निर्माण एवं शव वाहन तथा एम्बुलेन्स खरिदका लागि एक करोड ५० लाख, रौतहट, सप्तरी र सर्लाहीमा आइसोलेसन व्यवस्थापनका लागि ७५–७५ लाख तथा धनुषा, महोत्तरी र सिराहाका लागि ५०–५० लाख विनियोजन गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । साथै आवश्यकताको आधारमा जिल्लाहरूबाट माग भएबमोजिम रकम व्यवस्थापन गरिने कार्यालयले जनाएको छ ।