मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ श्रावण १५ बिहीबार १६:३३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्मला पन्त हत्याकाण्ड : प्रहरीविरुद्ध परेका दुई मुद्दा फैसला, अदालतद्वारा आठ प्रहरी निर्दोष ठहर

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ श्रावण १५ बिहीबार १६:३३:००

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा प्रहरीविरुद्ध दायर भएका दुई मुद्दाकाे बिहीबार फैसला भएकाे छ । 

कञ्चनपुर जिल्ला अदालतले आठजना प्रहरीविरुद्ध परेका दुई मुद्दाको २० महिनापछि फैसला गरेको  हो । 

तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट, सिआइबीका डिएसपी अंगुर जिसी, अर्का डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय जगदीशप्रसाद भट्ट, एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षकद्वय हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध यातना र सार्वजनिक न्याय कसूरअन्तर्गत ०७५ मंसिरमा मुद्दा दायर भएको थियो ।

दुवै मुद्दामा जिल्ला आदालत कञ्चनपुरका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले दुवै मुद्दाका प्रतिवादी प्रहरी निर्दोष ठहर गरी उनीहरूलाई सफाइ दिएको हो । 

जिल्ला आदालत कञ्चनपुरका श्रेस्तेदार यदुनाथ शर्माले दुवै मुद्दामा आठैजना प्रहरीले सफाइ पाएको बताए । यसअघि दुवै मुद्दामा आठैजना प्रहरी धरौटीमा रिहा भएका थिए । 

प्रमाण नष्ट गर्नुपर्ने अवस्था नदेखिएको, दिलीप विष्टलाई यातना दिनुपर्ने कारण नदेखिएकाले मनगढन्ते आधारमा दायर भएका मुद्दामा वादीले प्रतिवादीलाई लगाएको आरोप कतैबाट पनि पुष्टि नभएपछि उनीहरूलाई सफाइ दिएको हो । 

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलीपका दाजु खड्कसिंह विष्टले मुद्दा दायर गरेका थिए । 

तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसी, तत्कालीन प्रहरी प्रवक्ता ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्काविरुद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १६७ को उपदफा १ विपरीत कसूर अपराध गरेकाले ऐनको दफा १६७ उपदफा २ र ३ बमोजिम हदैसम्मको कारबाही गरी ऐनको दफा १६९ बमोजिम क्षतिपूर्तिसमेत दिलाइपाउँ भनी मुद्दा दायर गरिएको थियो । 

यस्तै निर्मलाकी आमा दुर्गादेवी पन्तले आठ प्रहरीविरुद्ध सार्वजनिक न्यायविरुद्ध कसूरसम्बन्धी मुद्दा दिएकी थिइन् । 

दुर्गादेवीले तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी, तत्कालीन कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षकद्वय एकेन्द्र खड्का, जगदीशप्रसाद भट्ट, प्रहरी नायब निरीक्षकद्वय रामसिंह धामी, हरिसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध उजुरी दिएकी हुन् ।

१ भदौ ०७५ देखि मुलुकी फौजदारी संहिता कानुन, २०७४ आएपछि द्विविधा बढेको थियो । पुरानै कानुनअनुसार कारबाही वा नयाँ कानुनमा टेकेर कारबाही गर्ने भन्ने विषयमा विवाद भएको थियो । 

निलम्बनमा परेका आठै प्रहरीविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट र दिलीपका दाजु खडकसिंह विष्टले यातनाविरुद्धको उजुरी दिएका थिए ।

सिआइबीका डिएसपी जिसीले दिलीप विष्ट र उनको घरपरिवारसँग लिएको बयानको भिडियो बाहिरिएपछि दुर्गाले प्रहरीविरुद्ध दायर गरेको मुद्दा फिर्ताका लागि भन्दै निवेदन दिएकी थिइन् ।

आठ प्रहरीविरुद्ध परेका दुई मुद्दाबाट जिल्ला अदालत कञ्चनपुरले ५० लाख धरौटी असुल गरेको थियो । 

तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख दिल्लीराज विष्टबाट यातनाविरुद्धको मुद्दामा ६ लाख र सार्वजनिक कसुर मुद्दामा साढे चार लाख गरी साढे १० लाख, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी अंगुर जिसीबाट यातनामा पाँच लाख र प्रमाण नष्टमा चार लाख गरी नाै लाख, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका पूर्वडिएसपी ज्ञानबहादुर सेठीसँग यातना मुद्दामा पाँच लाख र सार्वजनिक कसुरमा चार लाख गरी नाै लाख, प्रहरी निरीक्षक एकेन्द्र खड्काबाट यातना मुद्दामा पाँच लाख र सार्वजनिक कसुरमा चार लाख गरी नाै लाख धरौटी माग गरेको हो ।

यस्तै सार्वजनिक कसुर मुद्दाअन्तर्गत प्रहरी निरीक्षक जगदीश भट्ट चार लाख, प्रहरी नायब निरीक्षकद्वय हरसिंह धामी तीन लाख ५० हजार, रामसिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदबाट दुई लाख पचास हजार रुपैयाँ धरौटी माग गरेको थियो ।