Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ श्रावण १५ बिहीबार १०:४२:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

लमजुङमा ‘दाम्राङ-लिपेलेक’ चक्रीय पदमार्ग निर्माण

Read Time : > 1 मिनेट
२०७७ श्रावण १५ बिहीबार १०:४२:००

लमजुङको दोर्दी गाउँपालिकाअन्तर्गत ‘दाम्राङ लिपेलेक’ चक्रीय पदमार्ग निर्माण गरिएको छ । दोर्दी र दूधपोखरी गाउँपालिकाका विभिन्न क्षेत्रलाई समेटेर चक्रीय पदमार्ग निर्माण गरिएको हो ।

लिपेलेकसहित अन्य पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न चक्रीय पदमार्ग निर्माण गरिएको बताइएको छ । 

पदमार्ग निर्माणका लागि प्रदेश सरकारअन्तर्गत भू तथा जलाधर व्यवस्थापन दमौलीले ५५ लाख रुपैयाँ विनियोजन गरेको पर्यटन व्यवसायी युवराज अधिकारीले बताए ।

अधिकारीका अनुसार गण्डकी प्रदेश सरकारको ४० लाख लागतमा दूधपोखरी गाउँपालिकाअन्तर्गत इलमपोखरीबाट पदमार्ग ट्रयाक खोल्ने काम भएको छ भने प्रदेश सरकारकै पर्यटन मन्त्रालयको तर्फबाट आएको थप १५ लाख रुपैयाँले इलामपोखरी–जोर्नी–लिपेलेक हुँदै दाम्राङ र नौथरसम्मको पदमार्ग ट्रयाक खोल्ने काम गरिएको छ । 

सोही रकममध्ये पाँच लाख रुपैयाँ सो पदमार्गको डिपिआरका लागि छुट्याइएको थियो । लिपेलेक पदमार्ग प्रवर्द्धनका लागि अघिल्लो आर्थिक वर्षमा १५ लाख विनियोजन भएकोमा सो रकमबाट एक हजार दुई सय मिटर ट्रयाक निर्माण भएको थियो । 

तीनदेखि चार दिनसम्मको पदयात्रा गर्न सकिने गरी सो चक्रीय पदमार्ग निर्माण भएको हो । सडक पहुँचका कारण ओझेल पर्दै गएको अन्नपूर्ण पदमार्गको विकल्पको रूपमा उक्त पदमार्गलाई प्रवर्द्धन गर्न सके निकट भविष्यमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायीहरू बताउँछन् ।

दोर्दीको नौथर शेराबाट सुरु गरिएको सो चक्रीय पदमार्ग दोर्दीकै श्रीभञ्ज्याङ, दूधपोखरीको ओखरी, गौडा, जोर्ने र दोर्दीको इलमपोखरी चेर्ने, लिपे, गौथली, टउ, मस्प्रो, रप्रो, दाम्राङ हुँदै नौथर शेरामा टुंगिने अधिकारीले बताए । पदमार्गसँगै दाम्राङमा रहेको जीर्ण ऐतिहासिक दाम्राङ पोखरी पनि पुनर्निर्माण भएको छ । 

पोखरी पुनर्निर्माणका लागि चार लाख रुपैयाँ खर्च भएको बताइएको छ । उक्त ठाउँमा पाण्डे गढी, घले गढी , खुलल (गुरुङ) गढी र गोरुजुरे गढी रहेको छ । यसअघि दोर्दी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि लिपेलेक पदयात्रा गरेको थियो । गाउँपालिकाभित्रका पर्यटकीय सम्पदाहरूको प्रवर्द्धन गर्न अघिल्लो वर्ष मात्रै लिपेलेक अध्ययन तथा अवलोकन पदयात्रा गरेको हो ।

 

पदमार्गको बाटोका अवस्था, वास बस्न सक्ने सम्भावित ठाउँहरू, पदमार्गअन्तर्गतका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक सम्पदाहरूको अध्ययन तथा अवलोकन गरिएको पदमार्ग निर्माण भएको गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बताए । उनका अनुसार उक्त पदमार्ग लिपे हुँदै मेमेपोखरी, बाह्रपोखरी हुँदै अन्नपूर्ण पदमार्गअँतर्गत मर्स्याङ्दीमा जोडिनेछ । 

लिपेलेकसहितको सो क्षेत्र धार्मिक, ऐतिहासिक र प्राकृतिक रूपमा निकै सुन्दर र भरिपूर्ण भएकोले स्वदेशी तथा विदेशी आकर्षित हुने गाउँपालिकाको विश्वास छ । 

दाम्राङ–लिपेलेक पदमार्गबाट आठ हजार मिटर उचाइका मनास्लु र अन्नपूर्ण हिमाल नजिकबाट हेर्न सकिने, सोबाहेक अन्नपूर्ण हिमशृंखला, मनास्लु हिमशृंखला, लमजुङ हिमाल, हिमचुली र बाैद्ध हिमाललगायतका दृश्य अवलोकन गर्न सकिन्छ ।