मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ श्रावण १५ बिहीबार ०९:३३:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

तिजगीतमा पुरुष हस्तक्षेप

पुरुषका बजारमुखी गीतले तिजगीतको भावना र सौन्दर्य बिगारेको गुनासो

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ श्रावण १५ बिहीबार ०९:३३:००

एक साताअघि एउटा गीत युट्युबमार्फत् सार्वजनिक भयो । ‘बीच्च बीच्चमा ३’ बोलको गीतको गायक हुन्, दुर्गेश थापा । गीतमा गायक थापालगायत अन्य कलाकारले साडी लगाएका छन् । पुरुषले साडी लगाएर गाएका कारण गीत चर्चामा रह्यो । गीत युट्युब ट्रेन्डिङमा पनि आयो । तीन साताअघि यही गीतको सिक्वेल ‘बीच्च बीच्चमा २’ सार्वजनिक भएको थियो । यसको पहिलो सिक्वेल भने गत वर्ष सार्वजनिक भएको थियो । थापाले गाएका पछिल्लो गीत तीजको सौन्दर्य र अर्थभन्दा बाहिर रहेको भन्दै आलोचना भइरहेका छन् ।

यस्तै अर्को गीत सार्वजनिक भएको छ, ‘बोका’ । तिजगीत भनिएको यसमा कमल बिसी माल्दाइ र शर्मिला रायमाझीको स्वर छ । हरेक वर्ष तीज लक्षित गीत आइरहेका छन् । कतिपय गीत अश्लील भएको प्रतिक्रिया दर्शक स्रोताबाट आएका छन् । तर, तीजको गीतमा पुरुष कलाकारको उपस्थितिमा कुनै कमी आएको छैन ।

पहिले पहिलेका तिजगीतमा महिलाका पीडा, व्यथा, दुःख समेटिन्थे । तर, अहिलेका तिजगीतमा त्यस्तो भाव पाइन छाडेको छ । पशुपति शर्मा, बद्री पंगेनी, रामजी खाँण, प्रकाश सपुत, तिलक वली, खुमन अधिकारी, मनसिंह खड्का, विनोद बजुराली, दुर्गेश थापालगायतका गायकले हरेक वर्ष तिजगीत निकालिरहेका छन् । उनीहरूका कारण गायिकाहरूका गीत ओझेलमा परेका छन् । अहिले युट्युबमा सर्च गर्ने हो भने महिलाको भन्दा पुरुषका तिज गीत अधिक मात्रामा छन् ।

पछिल्लो समयका तिजगीत कुन उद्देश्यले आइरहेका छन् भन्ने यकिन गर्न गाह्रो भइरहेको बताउँछन् गायक बद्री पंंगेनी । गीत संगीतको लामो यात्राभन्दा पनि ‘भाइरल’ हुने अभिप्राय हाबी भएपछि यस्ता मौसमी गीतहरू आइरहेको उनको आँकलन छ । 
...

पुरुषले गीत ल्याउनुको पछाडि बजारमुखी र उपभोक्तावादी संस्कृतिलाई कारक देख्छिन्, प्रा.डा. सुधा त्रिपाठी । भन्छिन्, ‘कसरी पैसा कमाउने भन्ने अभिप्रायले पुरुषको व्यापक उपस्थिति हुन थालेको हो ।’ तर, तिजगीतमा पुरुषको उपस्थितिलाई सकारात्मक रूपमा लिन्छिन्, उनी । तिज पर्व महिलालाई दमन गर्न पितृसत्ताले निर्माण गरेको उनको तर्क छ । यसलाई पुरुषले नै उखेलिरहेको उनी बताउँछिन् ।

‘यो पर्व नै सामन्ती सोचको परिणाम हो । यसलाई पुरुषले नै उखेलिरहे पनि थाहा पाएर भने यस्तो प्रयास गरिरहेका छैनन्,’ त्रिपाठी भन्छिन्, ‘हिजोको समयमा पो महिला बोल्न सक्दैनथे र तिजको अवसर पारेर आफ्नो कुण्ठा व्यक्त गर्थे । आजका दिनमा तिज कुरिरहनु पर्दैन ।’ तर, जुन किसिमका तीज गीतहरू आइरहेका छन्, यसले महिलालाई वस्तुकृत मात्र गरिरहेको उनको बुझाइ छ । 
...

तिजगीतले बजार लिन थालेको धेरै भएको छैन । ०६४ सालयता तिजगीत बजारोन्मुख भएको देखिन्छ । बजारमैत्री गीतहरू आउँदै गर्दा त्यसले तिजगीतको सौन्दर्य र मर्मलाई मारिदिएको कलाकारहरू बताउँछन् । गीत–संगीतमा लामो यात्राका लागि नसोचेका कलाकारका कारण विकृति आएको गायक पशुपति शर्मा बताउँछन् । ‘बजारभन्दा ठूलो कुरो कति समयसम्म टिकिरहने भन्ने हो । दुई–चार दिनमै पो यात्रा सकिने हो कि या लामो हो,’ शर्मा भन्छन्, ‘अनुशासित हुनु कलाकारको पहिलो धर्म हो । र, आफूले गीत गाइरहेको क्षेत्रको मौलिकता र सौन्दर्य पनि उत्तिकै ठूलो कुरो हो ।’

अहिले तिजगीतमा मौलिकता र सौन्दर्य खोज्दा पनि भेट्न सकस पर्ने गायक शर्मा बताउँछन् । ‘लोकगीत सबै विधाका गीतको अभिभावक हो । तर, अहिले जुन तरिकाले तिजगीत बिग्रिरहेको अवस्था छ, भोलिका दिनका लागि ठूलो घाटा हो,’ उनी भन्छन्, ‘लोकसंगीत समयसँगै परिवर्तन हुनैपर्छ । पुरुषको उपस्थितिलाई पनि त्यसरी नै लिन सकिन्छ । तर, परिवर्तनका नाममा सबैलाई छाडेर परिवर्तन हुनुहुँदैन ।’ 

यसपटकको तिजलाई लक्षित गरेर गायक बद्री पंगेनीले तीनवटा गीत बजारमा ल्याए । एउटा रिलिज हुन बाँकी छ । तर, अहिले जस्तो किसिमका गीत बजारमा आइरहेका छन्, त्यसलाई हेर्दा यो ‘तिज पर्व’ नरहेर ‘भाइरल पर्व’ बनिसकेको पंगेनीको आकलन छ । यदि तिज पर्व हो भने तिजको मर्म नै तहसनहस हुने गरी जति गीत आइरहेका छन्, ती सेन्सर हुनुपर्ने बताउँछन्, उनी । ‘तिजगीतको नाममा अहिले जे भइरहेको छ, एकदम गलत भइरहेको छ । यसकारण पनि संगीत क्षेत्रमै सेन्सरको आवश्यकता छ,’ उनी भन्छन् । तर, पुरुषको उपस्थितिलाई नराम्रो भन्न नहुने बताउँछन्, पंगेनी । 

अहिलेका गीतमा विकृतिले ठाउँ पाउनुमा भाइरल हुने मोहले काम गरेको पंगेनीको निष्कर्ष छ । साथै, अर्कोचाहिँ कलाकारितामाथिको पैसाको दमन । भाइरल हुनका लागि, पैसा हुनेले नामका लागि कलाकारिता गरेकै कारण यतिका धेरै विकृति आइरहेको उनको मत छ । यसलाई नियन्त्रण नगरे भोलिका दिनमा दुर्घटना हुने उनको अनुमान छ । 

गायिका सुनीता दुलाल अहिले जस्तो परिवेश निर्माण भइरहेको छ, आफू सोच्न बाध्य भइरहेको बताउँछिन् । ‘अलिकति हामी आधुनिक त हुनैपर्छ । परिवर्तन आउँछ नै, तर यस्तो परिवर्तनले तिजगीत नै लोप भएर पो जाने हो कि ?’ तिजगीतको भविष्यमाथि प्रश्न गर्दै दुलाल भन्छिन्, ‘भाइरल गीत आए, भड्किला गीत आए, युट्युब ट्रेन्डको पछि लाग्यौँ । यसले तिजको सौन्दर्यमा आक्रमण गरेको छ । नयाँ पुस्ताले अलिकति ख्याल गरिदिनुपर्छ ।’ दुलालको अनुभवले भन्छ, दश वर्षअघि यस्तो परिवेश थिएन । 

सबैले राम्रो र सभ्य हिसाबले गीत ल्याउने गर्थे । तर, तिजगीतलाई पछिल्लो समय एकदमै हल्का रूपमा लिइदिनु गलत भएको बताउँछिन्, उनी । ‘अहिले आएर छोरा मान्छेले विभिन्न किसिमका गीत गाइदिन्छन् । साडी पनि लगाइदिन्छन्,’ गायिका सुनिता दुलाल अश्लील तीज गीतप्रति इंगित गर्दै भन्छिन्, ‘रत्यौली हो कि गाईजात्रा हो, छुट्याउनै गाह्रो छ । गाईजात्रा हो भने गाईजात्राको समयमा गाउनुपर्छ । रत्यौली हो भने त्यसका लागि पनि समय र स्थान छ । तर, तिजको समयमा यसरी आउनु भएन ।’

प्राध्यापक गीता त्रिपाठी तिजमा हुने पुरुषको उपस्थितिलाई सकारात्मक रूपमा लिन्छिन् । महिलाको विषय पुरुषले बोलिदिँदै गर्दा सांस्कृतिक रूपान्तरण चाँडै हुने उनको धारणा छ । तर, अहिले पुरुषहरू महिलालाई वस्तुको रूपमा लिएर जसरी गीत गाइरहेका छन्, त्यसले चाहिँ जटिलतातिर धकेलेको उनको आंकलन छ । ‘अहिले एकदमै हलुका रूपमा महिलाको शृंगारलाई लिएर, वस्तु ठानेर गीत आइरहेका छन् । यसरी हलुका रूपले लिँदा कालान्तरमा यसले समस्या निम्त्याउन सक्छ,’ त्रिपाठी भन्छिन्, ‘महिलालाई वस्तुका रूपमा मात्र लिने हो भने त्यो एकदमै गलत हो । त्यसले समाजलाई अग्रगमनतिर लैजाँदैन ।’