१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
डा. हितेशकुमार भट्टराई
२०७७ श्रावण १५ बिहीबार ०८:१२:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कस्तो औषधिमा विश्वास गर्ने ?

Read Time : > 5 मिनेट
डा. हितेशकुमार भट्टराई
२०७७ श्रावण १५ बिहीबार ०८:१२:००

बजारमा बिक्री भइरहँदा पनि औषधिको असर जाँच भइरहेको हुन्छ, यस्तो जाँचलाई चौथो चरण भन्ने गरिन्छ

नेपाली सञ्चारमाध्यमभरि सनसनीपूर्ण खबर फैलिएको थियो- त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान हेटौंडाका एक प्राध्यापकले कोरोना भाइरसविरुद्धको खोप बनाएको दाबी गरे । खोप जडीबुटीबाट बनाइएको दाबी गरिएको थियो । फेरि समाचार आयो, विश्व स्वास्थ्य संगठनले सोही खोपमा चासो राखेको छ र लगानी गर्न इच्छुक देखिएको छ । विज्ञहरूले खोप बन्न डेढ–दुई वर्ष लाग्छ भनिरहँदा हेटाैंडाका वैज्ञानिकले खोप बनाउने सम्भावना कति छ ? उनको अनुसन्धानको विषयलाई समाचार बनाइनु कत्तिको सान्दर्भिक छ ?

यही कोरोनाको समयमा पत्रपत्रिकामा अर्को रोचक प्रसंग पनि पढ्न पाइयो– मारवाडी संघले कोरोनाबाट बच्नका लागि होमियोप्याथी औषधि बाँड्यो । छिमेकीहरू दौडधुप गरेर वडामा औषधि लिन गएको पनि देखियो । प्रश्न आउँछ, के यो औषधिले साँच्चै मानवको प्रतिरोधात्मक क्षमता बढाएर कोरोनाबाट बचाउँछ त ? जनमानसमा के सुनिन्छ भने ‘होमियोप्याथी, आयुर्वेद र एलोप्याथी सबै आफ्नै प्रकारका चिकित्सा पद्धति हुन् । एलोप्याथीको अन्य धेरै असर हुने हुँदा बिरामीका लागि होमियोप्याथी र आयुर्वेद बढी उपयोगी हुन्छ ।’ के यी भनाइ सत्य हुन् ? कुनै पनि निष्कर्षमा पुग्नुअघि एकपटक आधुनिक औषधि तथा खोप कसरी बन्छन् भनेर बुझ्न जरुरी छ ।

आधुनिक औषधि बनाउने प्रक्रिया लामो, खर्चालु र निकै अप्ठ्यारो छ । २०-३० वर्षअगाडिभन्दा यो प्रक्रिया अहिले आएर थप जटिल भएको छ । औसतमा एउटा औषधि बनाउन १२ वर्ष लाग्ने गर्छ । आर्थिक रूपमा त्यसमा गरिने लगानी त छँदै छ । औसतमा कुनै पनि एउटा औषधि बनाउँदा एक अर्ब डलर लाग्ने हुन्छ । औषधि बनाउने प्रक्रियामा रहेका सबै औषधि सफल हुन्छन् भन्ने निश्चित पनि हुन्न । वास्तवमा एउटा सफल औषधि बन्दा हजारौँ अरू उम्मेदवार असफल हुन्छन् । के छ त औषधि बनाउने प्रक्रिया, जसले गर्दा असफलताको सम्भावना यति धेरै हुने गर्छ ? औषधि बनाउने प्रक्रिया एउटा विश्वविद्यालय अथवा औषधि बनाउने कम्पनीको प्रयोगशालाबाट सुरु हुन्छ । प्रयोगशालामा हुने अनुसन्धानको लगानी सरकारले अथवा औषधि उत्पादन गर्ने कम्पनीले गरेको हुन्छ । अनुसन्धान सर्वप्रथम त रोगमा हुन्छ । रोगमा कुन प्रोटिन, कुन रसायन, कुन प्रक्रियाको गडबडी हो पत्ता लगाउने काम हुन्छ । त्यसैलाई लक्षित गरेर औषधि बनाउनुपर्ने हुन्छ । 

लक्ष्य पत्ता लागेपछि औषधिको खोज सुरु हुन्छ । ऐतिहासिक रूपमा वैज्ञानिकहरूले औषधि वनस्पति, ढुसीजस्ता प्राकृतिक सम्पदाबाट खोज्थे । तर, हिजोआज यो खोजी बढीभन्दा बढी कृत्रिम रूपमा उत्पादन हुने रसायनतिर हुन थालेको छ । गडबड भएको रसायन अथवा प्रोटिनसँग जोडिने रसायन औषधिका रूपमा प्रयोग हुन्छन् । आजकल कम्प्युटर पनि औषधि खोज्नलाई प्रयोग हुन्छ ।

हजारौँ रसायनबाट सुरु गरेर आखिरमा ५-१० वटा सर्वोत्कृष्ट ठानिएका रसायन छानिन्छन् । आजको वैज्ञानिक युगमा रसायन मात्र नभएर प्रोटिनहरू पनि औषधिको रूपमा प्रयोग हुन्छन् । छानिएका औषधिलाई मुसा तथा अरू जनावरमा औषधि कत्तिको सुरक्षित तथा रोगमा प्रभावकारी छ भनेर परीक्षण गरिन्छ । परीक्षणमा उचित ठहरिएका औषधिलाई लामो तथा महँगो मानवीय परीक्षण (क्लिनिकल ट्रायल)मा लगिन्छ । मानवीय परीक्षण गर्नुभन्दा अगाडि जुन देशमा परीक्षण गर्ने हो, त्यस देशको सरकारी औषधि निरीक्षण विभागबाट स्वीकृति लिनुपर्छ। 

स्वास्थ्यमा कतिसम्म खराबी देखियो भने औषधिलाई अनुपयुक्त ठहर्‍याउने भन्ने रोगको प्रकृतिले निर्धारण गर्छ । अन्तिम अवस्थाको क्यान्सरलाई विषाक्त औषधि पनि उपयोगी हुन सक्छ र मधुमेहजस्तो रोगमा औषधि थोरै मात्र खराब भए पनि औषधि अनुपयुक्त ठहर्न सक्छ।

साधारणतया मानवीय परीक्षण क्रमागत तीन चरणमा हुन्छन् । चरणको क्रम बढ्दै जाँदा खर्च, लाग्ने समय र मानवीय सहभागीको संख्या पनि बढ्दै जान्छ । यस्तो हुनुका पछाडि कारणहरू छन् । औषधि पहिलो चरणमा असफल भए खर्च, स्रोत र साधन कम खेर जान्छ । यी तीन चरणमा कति स्रोत–साधन लाग्छ भन्ने कुरा रोगको प्रकारले पनि निर्धारण गर्छ । अल्जाइमर्सजस्तो धेरैलाई लाग्ने रोगको मानवीय परीक्षणमा सहभागिता ठूलो हुन जरुरी हुन्छ । साथै खर्च पनि धेरै लाग्छ । अरू कतिपय रोग हुन्छन्, जसमा ठूलो मानवीय सहभागिता जुटाउन असम्भवप्रायः हुन्छ । मानवीय परीक्षणको पहिलो चरणमा औषधि कति मात्रामा सुरक्षित भन्ने जाँच गरिन्छ ।

परीक्षण दसौँ निरोगी सहभागीमा गरिन्छ । प्रथम चरणको परीक्षणमा औषधि सुरक्षित छ कि छैन भनेर जाँच गरिन्छ । स्वास्थ्यमा कतिसम्म खराबी देखियो भने औषधिलाई अनुपयुक्त ठह¥याउने भन्ने विषय रोगको प्रकृतिले निर्धारण गर्छ । अन्तिम अवस्थाको क्यान्सरलाई विषाक्त औषधि पनि उपयोगी हुन सक्छ । मधुमेहजस्तो रोगमा औषधिमा थोरै मात्र खराबी देखियो भने पनि औषधि अनुपयुक्त ठहर्न सक्छ । साथसाथै यस चरणमा औषधिको विभिन्न परिमाण मानवमा परीक्षण गरिन्छ र कुन परिमाण दोस्रो चरणमा प्रयोग गर्ने हो पत्ता लगाइन्छ । अमेरिकन औषधि विभागका अनुसार औसतमा ७० प्रतिशत औषधिहरू पहिलो चरणमा उत्तीर्ण हुन्छन् ।

पहिलो चरणमा उत्तीर्ण भएका औषधि दोस्रो चरणको परीक्षणमा प्रवेश गर्छन् । दोस्रो चरणमा औषधि रोगविरुद्ध कत्तिको उपयोगी तथा सुरक्षित छ भनेर बृहत्तर जाँच गरिन्छ । पहिलो चरणमा भन्दा दोस्रो चरणमा सहभागी मानिसको संख्या, खर्च र समय सबै बढी लाग्छ । विभिन्न अस्पताल तथा केन्द्रमा बिरामीहरू भर्ती गरिन्छन् । अनि बिरामीलाई विभिन्न समूहमा विभाजन गरी कसैलाई परीक्षण गरिराखेको नयाँ औषधि, कसैलाई पुरानो प्रयोग भइराख्ने औषधि त कसैलाई औषधिजस्तो कुनै उपचार नहुने पदार्थ दिने गरिन्छ । यस्तो जाँचले नयाँ परीक्षणमा भएको औषधि पुराना बजारमा पाइने औषधिभन्दा कति उपयोगी छ, छुट्याउन मद्दत पुग्छ । साथसाथै औषधि सेवन गर्ने व्यक्तिलाई नराम्रो असर परेको छ कि भनेर रेकर्ड राखिन्छ । यो औषधि कत्तिको सुरक्षित छ भनेर हेर्ने तरिका हो । अमेरिकन औषधि विभागका अनुसार दोस्रो चरणमा औसत ३३ प्रतिशत औषधि उत्तीर्ण हुन्छन् । 

तेस्रो चरणमा पनि औषधि रोगविरुद्ध कत्तिको उपयोगी र सुरक्षित छ भनेर ठूलो स्तरको जाँच गरिन्छ । यस चरणमा सयौँदेखि हजारौँ रोगीलाई समूहमा विभाजन गरेर कसैलाई औषधि दिने, कसैलाई नदिने गरिन्छ । प्रायजसो परीक्षण धेरै देशका धेरै अस्पतालमा एकसाथ गरिन्छ । दोस्रो चरणबाट पाठ सिकेर तेस्रो चरण बनाइएको हुन्छ । यो चरणमा उत्तीर्ण भए औषधि बजारमा बेच्न थालिन्छ । लामो समय परीक्षण गर्ने भएकाले औषधिको खराब असर छ भने पनि त्यो यी चरणहरू पार गर्ने क्रममा देख्न सकिन्छ । यो चरणबाट औसतमा २५ देखि ३० प्रतिशत औषधिहरू उत्तीर्ण हुन्छन् । कुनै-कुनै औषधिको खराब असर धेरै लामो समयपछि देखिने हुन्छ, जुन यी तीन चरणमा देखिन्न । औषधि बजारमा बिक्री भइरहँदा पनि औषधिको असर जाँच गरिराखिन्छ । यस्तो जाँचलाई चौथो चरण भन्ने गरिन्छ । 

बजारमा पाइने एलोपेथिक औषधि प्रायः यी चरण पास गरेर आएका हुन् । कुनै पनि औषधिले परीक्षणको चरणमा कस्तो नतिजा देखाएको थियो भन्ने हेर्न चाहे प्रेस्क्रिप्सन इन्फर्मेसन खोलेर हेर्दा छर्लंग हुन्छ । एलोपेथिक औषधि निर्माण प्रक्रिया वैज्ञानिक छ भन्दा हुन्छ । विज्ञानका अनुसार कुनै पनि विषय यसो हो भन्नका लागि प्रमाण चाहिन्छ । कुनै पनि औषधि सेवनयोग्य छ भन्नुअघि प्रमाण संकलन गर्नुपर्छ । उल्लिखित तीन चरणको परीक्षण प्रमाण संकलनकै लागि गरिएको हो । जुन औषधिले यी तीन चरण पास गरेका हुन्छन्, तिनले रोगलाई केही हदसम्म फाइदा गर्छन् र सेवनका लागि सुरक्षित पनि हुन्छन् ।

अन्तिममा लेखको सुरुमा प्रस्तुत गरिएको दुइटा उदाहरणलाई वैज्ञानिक तवरले विश्लेषण गरौँ । आधुनिक खोप विकासको क्रममा हेटौंडाका वैज्ञानिकले विकास गरेको खोप मानवीय परीक्षणमा प्रवेश गरेकै छैन । त्यति मात्र होइन, यो खोपको वैज्ञानिक आधार नै पेस गरिएको छैन । यी आधारमा उनले विकास गर्न खोजेको खोपबारे पत्रिकामा छाप्न उपयुक्त समय नै आएको छैन भन्दा हुन्छ । कुनै पनि खोप मानवीय परीक्षणमा सफल भएपछि मात्र चर्चायोग्य हुन्छ । यस आधारमा अक्सफोर्ड भ्याक्सिन ग्रुपले बनाएको कोरोनाविरुद्धको खोपले मानवीय परीक्षणको दोस्रो चरण पास गरेको छ । यसैले यो विषय चर्चायोग्य छ । त्यस्तै मारवाडी संघले वितरण गरेको औषधिको नाम ‘आर्सेनिकम एल्बम ३० सी’ हो । यो औषधि पानीमा आर्सेनिक घोलेर बनाउने गरिन्छ । आर्सेनिक कहिलेकाहीँ जमिनमुनिको पानीमा भेटिन्छ, जुन हानिकारक हुन्छ भन्ने ठहर छ । यो औषधिले काम गर्छ भन्ने कुनै पनि वैज्ञानिक प्रमाण छैन ।

अमेरिका बसाइका क्रममा विज्ञान र वित्तीय क्षेत्रमा काम गर्दा आधुनिक वैज्ञानिक औषधिहरू कसरी बन्छन् भनेर सिक्न पाइएको थियो । अमेरिकामा प्रायजसो वैज्ञानिक औषधिको विकल्प खोजिँदै छ । बरु कुनै रोगको राम्रो औषधि छैन भने त्यस रोगको अनुसन्धानका लागि औषधि विकासमा लगानी गरौँ भन्ने चलन छ । सायद अमेरिकामा नै धेरैजसो औषधि विकास हुने भएकाले विज्ञानमा यस किसिमको विश्वास भएको होला । नेपालमा पनि विज्ञानमा विश्वास बढ्दो छ, तर विकसित देशकोभन्दा केही फिका अनुभव हुनु स्वाभाविक हो । एक वैज्ञानिकका रूपमा आशा गर्छु, आगामी दिनमा विज्ञानप्रतिको विश्वास नेपालीमा बढ्दै जानेछ ।

(लेखकले मोलेक्युलर बायोलोजीमा अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्)