मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १५ बिहीबार ०४:०३:००
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेकपा–विवाद शक्ति परीक्षणतिर : केन्द्रीय कमिटी बैठक बोलाउन प्रचण्ड–नेपाल समूहका १५२ केन्द्रीय सदस्यको लिखित माग 

Read Time : > 5 मिनेट
२०७७ श्रावण १५ बिहीबार ०४:०३:००

सचिवालय र स्थायी कमिटी अनिर्णयको बन्दी भएपछि सत्तारुढ दल नेकपा–विवाद अब औपचारिक रूपमै केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएको छ । बैठक बोलाउन माग गर्दै नेकपाका एक सय ५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कार्यालयमा पत्र दर्ता गराएका छन् ।

नेकपाको विधानको धारा ५९ को उपधारा ४ मा कुल संख्याको २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेको खण्डमा एक महिनाभित्र बैठक बोलाउनुपर्ने व्यवस्था छ । जसअनुसार चार सय ४४ सदस्यीय अहिलेको साबिक केन्द्रीय कमिटीका एक सय ११ केन्द्रीय सदस्यले माग गरेको खण्डमा माग गरेको एक महिनाभित्र नेतृत्व बैठक बोलाउन बाध्य हुनेछ । शीर्ष नेतृत्वबीच सहमति भए वा नभए पनि विधानतः माग भएको केन्द्रीय कमिटी बैठक टार्न अब कठिन हुनेछ । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहनिकट स्थायी कमिटीका बहुमत सदस्यको बैठकलगत्तै त्यही समूहका एक सय ५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गरेका छन् । ‘नेकपालाई एकताबद्ध र झनै सुदृढ बनाएर लैजानुपर्ने वर्तमान परिस्थितिमा पार्टीभित्रको विवादले हामी केन्द्रीय सदस्यहरूलाई चिन्तित बनाएको छ । हाल देखिएका सबै विवाद र समस्याको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि–पद्धतिबमोजिम समाधान गरिनुपर्दछ भन्ने हाम्रो ठहर छ । यसर्थ पार्टी विधानको धारा–५९, (क) ४ बमोजिम यथाशीघ्र केन्द्रीय कमिटीको बैठक बोलाइयोस्,’ बैठक माग गर्दै पेस गरिएको मागपत्रमा छ । 

बैठक बोलाउन माग गर्दै प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यले हस्ताक्षरसहित बुधबार पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा कार्यालयसचिव श्रीराम ढकालमार्फत लिखित माग दर्ता गराएका छन् । केन्द्रीय सदस्यहरू डा. विजय पौडेल, ठाकुर गैरे, जगन्नाथ खतिवडा, हिमाल शर्मा, दिलु पन्त, रामकुमारी झाँक्री, निरज आचार्यलगायतको अगुवाइमा उनीहरूले मागपत्र दर्ता गराएका हुन् । त्यसलगत्तै अध्यक्ष प्रचण्डलाई साँझ खुमलटारस्थित निवासमा भेटेर उनीहरूले पत्र दर्ता गराइएको विषयमा जानकारी गराउँदै बैठक छिटो बोलाउन माग गरेका छन् ।

‘पार्टी अध्यक्ष प्रचण्डलाई भेटेर हामीले केन्द्रीय कार्यालयमा मागपत्र दर्ता गराएको जानकारी गराएका छौँ’ केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘उहाँले पार्टीभित्र उत्पन्न विषम परिस्थितिमा केन्द्रीय सदस्यहरूले चासो व्यक्त गरेर पार्टी एकतालाई बलियो बनाउन बैठकको आवश्यकता महसुस गर्दै पहल लिएको कुरालाई सकारात्मक रूपमा लिनुभएको छ ।’ गैरेले बैठक मागका विषयमा प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी ओलीसँग सल्लाह गरेर निष्कर्षमा पुग्ने जानकारीसमेत गराएको बताए । ‘तपाईंहरूले दर्ता गराउनुभएको मागपत्रका विषयमा के गर्ने भन्नेबारे अर्का अध्यक्षसँग सल्लाह गरेर निष्कर्षमा पुग्ने बताउनुभयो,’ गैरेले नयाँ पत्रिकासँग भने । 

नेकपाको विधानमा ६ महिनाभित्र केन्द्रीय कमिटी बोलाउनुपर्ने व्यवस्था छ । यसअघि १५ देखि १९ माघसम्म राष्ट्रिय सभागृहमा नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठक बसेको थियो । विधानअनुसार बैठक बोलाउनुपर्ने समयावधि गुज्रिनै लाग्दा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यहरूले बैठक बोलाउन माग गरेका हुन् । यसअघि गत १० वैशाखमा प्रचण्ड–नेपाल समूहकै २० स्थायी कमिटी सदस्यले पनि स्थायी कमिटी बैठक माग गर्दै पार्टी नेतृत्वलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाउने गरी समय तय भए पनि अन्तिम समयमा कार्यव्यस्ततालाई कारण जनाएर अनुपस्थित भएपछि पार्टी कार्यालयमा कार्यालयसचिव ढकालमार्फत लिखित ध्यानाकर्षणसहितको मागपत्र दर्ता गराइएको केन्द्रीय सदस्य दिलु पन्तले जानकारी दिइन् ।

‘महासचिव अन्तिम समयमा अनुपस्थित हुनुभएका कारण केन्द्रीय कार्यालयमा कार्यालयसचिवमार्फत मागपत्र दर्ता गरिएको छ,’ पन्तले भनिन्, ‘स्थायी कमिटी बैठक एक महिनादेखि रोकेर पार्टीलाई अनिर्णयको बन्दी बनाइएका कारण निकासका लागि छिटो केन्द्रीय कमिटी बैठक बोलाउन मागपत्र बुझाइएको हो, अब विधानअनुसार ढिलोमा एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने हुन्छ ।’ 

त्यस्तै, अर्का केन्द्रीय सदस्य डा. विजय पौडेलले स्थायी कमिटी अनिर्णयको बन्दी बन्दा केन्द्रीय सदस्यहरूमाथि पनि जनताले प्रश्न उठाउन थालेका कारण छिटो बैठक बोलाउन माग गरिएको बताए । ‘स्थायी कमिटीको म्याराथन बैठक छिटो सकेर कि त केन्द्रीय कमिटी बैठक तोक्नुपर्‍यो, छलफल छिटो सकिँदैन भने कि सीधै एजेन्डा लिएर केन्द्रीय कमिटीमा आउनुपर्‍यो,’ पौडेलले भने, ‘यो अवस्थामा जनताले हामीलाई पनि के हेरेर बसेको जस्ता प्रश्न गर्न थालेकाले बैठक छिटो बोलाउन माग गरेका हौँ ।’ उनले अहिलेको अवस्थामा सकभर एक साताभित्रै बैठक बोलाउँदा उपयुक्त हुने आफूहरूको माग रहेकोसमेत स्पष्ट पारे ।

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाडेर सहमतिका लागि निकास दिनुपर्ने माग गर्दै आएको छ । त्यही मागका कारण विवाद उत्कर्षमा पुगेपछि नेकपाको नेतृत्व तहमा सहमति नहुँदा १० असारमा बोलाइएको स्थायी कमिटी बैठक अझै सुचारु हुन सकेको छैन ।

यद्यपि, अध्यक्ष ओलीको असहमतिको बाबजुद प्रचण्ड–नेपाल समूहले मंगलबार बालुवाटारमा स्थायी कमिटी बैठक गरेको दाबी गरेको छ । बैठकमा ४४ मध्ये २८ स्थायी कमिटीका नेता सहभागी थिए । तर, प्रधानमन्त्री ओली र उनीनिकट नेताहरूले भने त्यसलाई बैठकको मान्यता दिएको छैन । परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले मंगलबार बालुवाटारमा प्रचण्ड–नेपाल समूहले दाबी गरेको बैठकलाई ‘समूह भेला’को संज्ञा दिएका छन् । 

क–कसले माग गरे बैठक ?

१. विजयकुमार पौडेल २. जगन्नाथ खतिवडा, ३. भाष्कर काफ्ले, ४. रविन कोइराला, ५. नागेन्द्रप्रसाद चौधरी, ६. कृष्ण केसी, ७. विश्वनाथ प्याकुरेल, ८. मुक्तिनारायण प्रधान ९. हिमाल शर्मा, १०. कुमारप्रसाद पौडेल, ११. बलावती शर्मा, १२. विजय गुरुङ, १३ गोपीबहादुर सार्की अछामी, १४. गोपाल ठाकुर, १५. दलजित बिके श्रीपाइली, १६. ठाकुरप्रसाद गैरे, १७. नीरजप्रसाद आचार्य, १८. शिवकुमार मण्डल, १९. सरलाकुमारी यादव, २०. लेखनाथ न्यौपाने, २१.    मेटमणि चौधरी, २२. रामकुमार शर्मा, २३. रामचन्द्र झा, २४. पासाङ शेर्पा, २५. दिलीपकुमार प्रजापति, २६. कमानसिंह लामा, २७. उर्मिला अर्याल, २८. दिलकुमारी पन्त, २९. खगराज भट्ट, ३०. कल्याणीकुमारी खड्का, ३१. झपटबहादुर रावल, ३२. रवीन्द्र अधिकारी (पूर्वी नवलपरासी), ३३. ममता गिरी, ३४. जगप्रसाद शर्मा, ३५. श्रीमाया थकाली, ३६. दिनेशकुमार राई, ३७. तुलबहादुर गुरुङ, ३८. चूडामणि जंगली, ३९. श्रीप्रसाद साह, ४०. प्रेमलकुमार खनाल, ४१. कृष्णप्रसाद खनाल, ४२. श्रीनाथ बराल, ४३. सीता गिरी ओली, ४४. प्रह्लाद बुढाथोकी, ४५. डाचाराम वाग्ले, ४६. तिलकुमार मेयाङ्बो, ४७. यदुवंश झा, ४८. प्रतापलाल श्रेष्ठ, ४९. रचना खड्का, ५०. रत्नेश्वर गोइत, ५१. सुधीर शाह, ५२. जगतप्रसाद यादव, ५३. महेश रेग्मी, ५४. राजेन्द्रकुमार राई, ५५. बलदेव चौधरी, ५६. राजेन्द्र कार्की, ५७. सुदन किराँती, ५८. टंक आङ्बोहाङ, ५९. जयन्ती राई, ६०. युवराज भट्टराई, ६१. पार्वती थापा, ६२. वामदेव क्षत्री, ६३. लक्ष्मण पौडेल, ६४. चन्द्रबहादुर शाही, ६५. राजन दाहाल (लेखनाथ दाहाल), ६६. शत्रुघ्न महतो, ६७. अजयशंकर नायक, ६८. झकबहादुर मल्ल, ६९.    नरबहादुर विष्ट, ७०. रामकुमार ज्ञवाली, ७१. बिन्दमान विष्ट, ७२. भरत शाह, ७३. अशोक मण्डल, ७४. अञ्जना विशुंखे, ७५. सुमिता कार्की, ७६. धर्मशिला चापागाईं, ७७. रामचन्द्र साह तेली, ७८. केदार न्यौपाने, ७९. हरि दाहाल, ८०. जोगकुमार बरबरिया यादव, ८१. राजु खड्का, ८२. प्रकाशहरि पोखरेल, ८३. दीपबहादुर योञ्जन, ८४. रामदीप आचार्य, ८५. प्रकाश ज्वाला, ८६. पशुपति चौलागाईं, ८७. लक्ष्मण पौडेल, ८८. विजय भण्डारी, ८९. निर्मल आचार्य, ९०. रवीन्द्र बैठा धोबी, ९१. मदनकुमारी शाह (गरिमा), ९२. हरि राई, ९३. युवराज चौलागाईं, ९४. देवशंकर पौडेल, ९५. विरोध खतिवडा, ९६. शारदाप्रसाद सुवेदी, ९७. माधव अर्याल, ९८. राजबहादुर बुढा, ९९. दिलीप महर्जन, १००. सुरेन्द्र मानन्धर, १०१. जीवन गौतम, १०२. जगप्रसाद शर्मा, १०३. रामप्रीत पासवान, १०४. श्यामकुमार श्रेष्ठ, १०५. वसन्तप्रसाद मानन्धर, १०६. दावा तामाङ, १०७. रामप्रसाद सापकोटा (दीपशीखा), १०८. माधव सापकोटा (सुबोध), १०९. गणेशकुमार पहाडी, ११०. सोम मिश्र, १११. नरेन्द्र कुँवर (विजयसुन्दर), ११२. घनेन्द्र बस्नेत, ११३. उमा कोइराला, ११४. खगेन्द्र चुँडाल, ११५. जीवनराम श्रेष्ठ, ११६. प्रमेश हमाल, ११७. शेरबहादुर तामाङ, ११८. अरुणप्रसाद नेपाल, ११९. तुलाराम घर्तीमगर, १२०. महादेव यादव, १२१. युवराज दुलाल, १२२. धर्मराज निरौला, १२३. शेरबहादुर केसी, १२४. परशुराम तामाङ, १२५. कालीबहादुर मल्ल, १२६. राजेन्द्रप्रसाद पाण्डेय, १२७. धर्मदत्त देवकोटा, १२८. भागवत नेपाली विश्वासी, १२९. गौरा प्रसाईं कोइराला, १३०. दामा शर्मा, १३१. नारायणप्रसाद पौडेल, १३२. रामकुमारी झाँक्री, १३३. सोमप्रसाद पाण्डेय, १३४. अजम्बर राई काङमाङ, १३५. हेमराज भण्डारी, १३६. विष्णु रिजाल, १३७. गंगालाल तुलाधर, १३८. सुरेशकुमार राई, १३९. यज्ञराज सुनुवार, १४०. शालिकराम जमकट्टेल, १४१. नारायणप्रसाद पौडेल, १४२. हितबहादुर तामाङ, १४३. प्रकाशबहादुर शाह, १४४. कृष्णप्रसाद सापकोटा, १४५. विमला सुवेदी, १४६. मो. महफुज अन्सारी, १४७. जयपुरी घर्ती, १४८. सत्य पहाडी, १४९. केशव नेपाल, १५०. देवी खड्का, १५१. धर्मनाथप्रसाद साह, १५२. लालबहादुर विक 

वामदेवलाई पछि हट्न निकट नेताहरूको सुझाब 

नेकपाका उपाध्यक्ष वामदेव गौतमले सहमतिका लागि अगाडि सारेको ६बुँदे प्रस्तावले अहिलेको अन्तर्विरोध समाधान नगर्ने भन्दै निकट नेताहरूले ‘ब्याक’ हट्न सुझाब दिएका छन् । बुधबार गौतमनिवास पुगेर केन्द्रीय सदस्यहरू ठाकुर गैरे, रामकुमारी झाँक्री, डा. दीपकप्रकाश भट्ट, रविन कोइराला, जीवनराम श्रेष्ठ, सुरेन्द्र मानन्धरलगायत तेस्रो तहका युवा नेताले ६बुँदे प्रस्तावले अहिलेको अन्तर्विरोध समाधान नगर्ने भन्दै ‘ब्याक’ हट्न सुझाब दिएका हुन् ।

‘हामी सबै पार्टी एकता बचाउनुपर्छ र तपाईंले त्यसमा महत्वपूर्ण योगदान पुर्‍याउनुहोस् भन्ने चाहन्छौँ, तर तपाईंले मंगलबार ६बुँदे सहमतिको प्रस्ताव भनेर जे पेस गर्नुभयो त्यसले अहिले उठिरहेका नीति, विधि र प्रक्रियाका मुद्दा सम्बोधन हुने गरी अन्तर्विरोध पनि समाधान गर्दैन, सबैलाई विन–विनका लागि स्पेस पनि दिँदैन,’ भेटमा सहभागी एक नेताले नयाँ पत्रिकासँग भने । 

गौतमले भने विगतमा प्रधानमन्त्री ओलीलाई साथ दिएर धेरै गल्ती गरेको अनुभूति भए पनि पार्टी विभाजन रोक्ने उद्देश्यले बाध्य भएर त्यस्तो प्रस्ताव सारेको जवाफ फर्काएका थिए । ‘विगतमा केपीजीलाई साथ दिएर मैले जे गरेँ, त्यो ज्यादै गलत कदम थियो । तर, अहिलेको परिस्थितिमा पार्टी विभाजन रोक्नैपर्ने अवस्था देखिएकाले प्रस्ताव अघि सारेको हुँ,’ गौतमको जवाफ उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘प्रस्तावका विषयमा सचिवालय र स्थायी कमिटी बैठकमा छलफल होला, तर मलाई अहिलेका लागि त्यही ६ बुँदा नै उपयुक्त तरिका हो भन्ने लाग्यो, त्यसैले अब ब्याक हुन्नँ ।’ 

प्रचण्ड–नेपाल समूहका बहुमत स्थायी कमिटी सदस्यहरूको मंगलबारको बालुवाटार बैठकमा गौतमले प्रस्तुत गरेको ६बुँदे प्रस्तावमा प्रधानमन्त्री र अध्यक्षमा ओलीलाई निरन्तरता दिने उल्लेख छ । त्यस्तै, प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा काम गर्ने र पार्टी सचिवालयको परामर्श र निर्णयअनुसार सरकारले महत्वपूर्ण निर्णय गर्नेलगायत विषय समेटिएका छन् । 

उच्च स्रोतका अनुसार गौतमले एक साताअघि नै वक्तव्य जारी गरेर सहमतिको प्रस्ताव अगाडि सार्ने तयारी गरेका थिए । त्यसपछि उनी खुमलटारमा हुने प्रचण्डनिकट सचिवालयका नेताहरूसँगको सामूहिक छलफलमा सहभागी हुन छाडेका थिए । यसबारेमा वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत भेटेरै उनले जानकारी गराएका थिए ।