मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ श्रावण १४ बुधबार २०:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

कैलालीमा ६ हजार परिवार डुबानबाट प्रभावित 

Read Time : > 1 मिनेट
२०७७ श्रावण १४ बुधबार २०:०८:००

लगातारको वर्षाका कारण कैलालीमा ६ हजारभन्दा बढी परिवार डुबानबाट प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार बुधबार साँझसम्ममा बाढीमा बगेर तीनजना बेपत्ता भएका छन् भने ६ हजार २३ परिवार प्रभावित भएका छन् । 

घर डुबेका कारण करिब दुई हजार परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए । मंगलबार रातिदेखिको अविरल वर्षाका कारण नदीहरूमा आएको बाढी पसेपछि कैलालीको पूर्वी र दक्षिण क्षेत्रका दर्जनौँ बस्ती डुबेका हुन् ।

जोशीपुर गाउँपालिका र भजनी नगरपालिका बाढीबाट सबैभन्दा बढी प्रभावित भएका छन् । जिल्ला प्रशासनका अनुसार भजनीमा दुई हजार एक सय ८० परिवार प्रभावित भएका छन् । साबिकको थापापुर गाविसमा पर्ने वडा नम्बर ८ पूरै डुबेको छ । यस वडामा मात्रै एक हजार एक सय ७० परिवार प्रभावित भएको नगरपालिकाले जनाएको छ । तीमध्ये विस्थापित भएका करिब दुई सय परिवारलाई स्थानीय गोड्चौरा माविमा राखिएको छ । घरमा बाढी पसेपछि वडा नम्बर ५ का १६ परिवार हुलाकी राजमार्गमा पाल टाँगेर बसेका छन् । 

भजनीकै वडा नम्बर १, २, ३, ६, ७ का अधिकांश बस्ती डुबानमा परेको नगरप्रमुख शेरबहादुर चौधरीले बताए । स्थानीय काँडा, पथरैया, कान्द्रा र मोहना नदीको बाढी बस्तीमा पसेपछि भजनीका अधिकांश क्षेत्र डुबानमा परेका हुन् । विस्थापितलाई हुलाकी राजमार्ग र स्थानीय विद्यालयमा राखिएको छ । बाढी पसेकाले विद्यालयको तल्लो तलामा समेत बस्न सक्ने अवस्था छैन । बाढी पसेका क्षेत्रमा पुग्नै मुस्किल भइरहेको र  विस्थापित परिवार संख्या यकिन गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।  कतिपय विस्थापितहरू आफन्तको शरणमा पुगेको वडा नम्बर ७ का स्थानीय गणेश बुढाले बताए । कतिपय अझै उद्धारको पर्खाइमा रहेको उनले बताए । 

जोशीपुरका तीन सयभन्दा बढी घर प्रभावित
जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ घर डुबानमा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जोशीपुरका अधिकांश वडा जलमग्न भएका छन् । कान्द्रा र काँडा नदीको बाढीले जोशीपुरको वडा नम्बर १, ३, ५ र ७ का अधिकांश बस्ती डुबानमा परेका स्थानीय पदम बोहराले बताए । विस्थापित परिवार विद्यालयमा बसिरहेका उनले बताए । जोशीपुरमा दिउँसो विस्थापित भएका हजार परिवार बेलुकी बाढीको सतह घटेपछि घर फर्केका प्रमुख जिल्ला अधिकारी बोहराले बताए । 

जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा आठ सय २५ घर डुबानमा परेका छन् । टीकापुरमा बाढीले ३० घर भत्किएका छन् । शिवनगर, चमेलीपुर र विजयनगर मुक्तकमैया शिविरमा बाढी पसेपछि घरहरूमा क्षति पुगेको नगरपालिकाले जनाएको छ । घरमा क्षति पुगेपछि विस्थापित परिवारलाई विद्यालयमा राखिएको छ । कर्णाली नदीमा पानीको सतह बढेपछि टीकापुरका अधिकांश क्षेत्रमा डुबानको जोखिम बढेको छ ।

उद्धारमा सशस्त्र र सेना परिचालन
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि धनगढीबाट बुधबार दिउँसो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पठाइएको छ । कैलालीमा मंगलबार रातिबाट लगातार वर्षा भइरहेको छ । धनगढी उपमहानगरपालिकाको बैय्याबेहडीलगायत क्षेत्र डुबानमा परेको छ । खोलानाला अतिक्रमणका कारण वर्षाको पानी निकास हुन नपाएपछि उपमहानगरका धेरैजसो क्षेत्र जलमग्न भएका हुन् ।