उपत्यकाको पूर्वी नाका काभ्रेको सँगा हुँदै काठमाडौं प्रवेश गर्ने हरेक यात्रुको स्वाब संकलन भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समुदायमा कोरोना संक्रमण फैलिए–नफैलिएको जानकारी लिन सडकमै स्वाब संकलन सुरु गरेको हो । मन्त्रालयले उपत्यका प्रवेश गर्ने हरेक नाकामा यसरी नै स्वाब संकलन गर्दै आइरहेको छ ।
काभ्रेको साँगामा विशेषगरी देशका पूर्वी जिल्लाहरूबाट यात्रुहरू आउने गरेका छन् । साँगा स्वास्थ्य चौकीका प्रमुख कृष्णगोपाल विष्टका अनुसार मन्त्रालयको निर्देशनअनुसार नै स्वाब संकलन भइरहेको छ । विष्टले भने, ‘स्थानीय तहमार्फत पनि स्वाब संकलनका लागि सहयोग भइरहेको छ ।’ स्वाब संकलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रयोगशालाविज्ञ समितिले प्रत्यक्ष सहभागिता जनाइरहेका छन् ।
चौध सयभन्दा बढी यात्रुको स्वाब संकलन
साँगा नाकामा मन्त्रालयले आइतबारदेखि स्वाब संकलन सुरु गरेको हो । आइतबारदेखि बुधबारसम्ममा एक हजार चार सय ३८ जनाभन्दा बढीको स्वाब संकलन भइसकेको विष्टले जानकारी दिए । एक दिनमा लगभग पाँच सयजनाभन्दा बढीको स्वाब संकलन भइरहेको उनले बताए ।
पहिलो दिन ६२ जनाको स्वाब संकलन भएको साँगा स्वास्थ्य चौकीको प्रमुख विष्टले जानकारी दिए । पूर्वी तराईबाट काठमाडाैं प्रवेश गर्न आउने यात्रुहरूलाई विशेष प्राथमिकताका साथ स्वाब संकलन गरिएको उनले बताए । पूर्वी तराईका जिल्लाहरूबाट बिपी राजमार्ग हुँदै काभ्रेको साँगा नाकाबाट उपत्यकामा दैनिक सयभन्दा बढी सवारीसाधन भित्रिने गरेका छन् ।
एकै दिनमा रिपाेर्ट
पिसिआर परीक्षणका लागि लिएको स्वाबको रिपोर्ट लगभग एक दिनमा आउने विष्टले जानकारी दिए । स्वाबको रिपोर्ट उनीहरूकै मोबाइलमा पठाउने व्यवस्था भएको विष्टले जानकारी दिए । रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ आए म्यासेज पठाउने र पोजेटिभ आए गाडी लिएर लिन जाने गरेको विष्टले जानकारी दिए । ‘स्वाबको पिसिआर रिपोर्ट नेगेटिभ भए मोबाइलमा म्यासेज आउँछ, पोजेटिभ भएमा गाडीले लिन आउँछ,’ विष्टले भने । स्वाब परीक्षणका लागि टेकु प्रयोगशाला पठाउने गरेको विष्टले बताए ।