मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १४ बुधबार १७:०३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा विवाद शक्ति परीक्षणतिर : केन्द्रीय कमिटी बैठक बोलाउन प्रचण्ड–नेपाल समूहका एक सय ५३ केन्द्रीय सदस्यको लिखित ध्यानाकर्षण  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १४ बुधबार १७:०३:००

नेकपाका बहुमत स्थायी कमिटी सदस्यको बैठकलगत्तै अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका एक सय ५३ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गरेका छन् ।

केन्द्रीय कमिटी बैठक माग गर्दै प्रचण्ड–नेपाल समूहका एक सय ५३ केन्द्रीय सदस्यले हस्ताक्षरसहित बुधबार पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा कार्यालयसचिव श्रीराम ढकालमार्फत लिखित ध्यानाकर्षणपत्र दर्ता गराएका छन् । ज्ञापनपत्र बुझाउन केन्द्रीय सदस्यहरू ठाकुर गैरे, जगन्नाथ खतिवडा, डा. विजय पौडेल, दिलु पन्त, हिमाल शर्मालगायत धुम्बाराहीस्थित कार्यालय पुगेका थिए । 

पूर्वनिर्धारित कार्यक्रमअनुसार महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाउनेगरी समय तय भए पनि अन्तिम समयमा कार्यव्यस्ततालाई कारण जनाएर अनुपस्थित भएपछि पार्टी कार्यालयमा कार्यालयसचिव ढकालमार्फत लिखित ध्यानाकर्षणसहितको मागपत्र दर्ता गराइएको केन्द्रीय सदस्य दिलु पन्तले जानकारी दिइन् ।

‘महासचिव अन्तिम समयमा अनुपस्थित हुनुभएका कारण केन्द्रीय कार्यालयमा कार्यालय सचिवमार्फत मागपत्र दर्ता गरिएको छ, पन्तले भनिन्, ‘स्थायी कमिटी बैठक एक महिनादेखि रोकेर पार्टीलाई अनिर्णयको बन्दी बनाइएका कारण निकासका लागि छिटो केन्द्रीय कमिटी बैठक बोलाउन मागपत्र बुझाइएको हो, अब विधानअनुसार ढिलोमा एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने हुन्छ ।’ 

प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाडेर सहमतिका लागि निकास दिनुपर्ने माग गर्दै आएको छ । त्यही मागका कारण विवाद उत्कर्षमा पुगेपछि नेकपाको नेतृत्व तहमा सहमति नहुँदा १० असारमा बोलाइएको स्थायी समिति बैठक अझै सुचारु हुन सकेको छैन ।

यद्यपि, अध्यक्ष ओलीको असहमतिको बाबजुद प्रचण्ड–नेपाल समूहले मंगलबार बालुवाटारमा स्थायी कमिटी बैठक गरेको थियो । बैठकमा ४४ मध्ये २८ स्थायी कमिटीका नेता सहभागी  थिए । तर, ओली समूहले भने त्यसलाई बैठकको मान्यता दिएको छैन । परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले मंगलबार बालुवाटारमा प्रचण्ड–नेपाल समूहले दाबी गरेको बैठकलाई ‘समूह भेला’को संज्ञा दिएका छन् । 

नेकपाको विधानमा ६ महिनाभित्र केन्द्रीय कमिटी बोलाउनुपर्ने व्यवस्था छ । यसअघि १५ देखि १९ माघसम्म नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठक राष्ट्रिय सभागृहमा बसेको थियो । विधानअनुसार बैठक बोलाउनुपर्ने समयावधि गुज्रिनै लाग्दा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यहरूले बैठक बोलाउन माग गरेका हुन् । यसअघि गत १० वैशाखमा प्रचण्ड–नेपाल समूहकै २० स्थायी कमिटी सदस्यले स्थायी कमिटी बैठक माग गर्दै पार्टी नेतृत्वलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।

नेकपाको विधानको धारा ५९ को उपधारा ४ मा कुल संख्याको २५ प्रतिशत केन्द्रीय सदस्यले बैठक माग गरेको खण्डमा एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने व्यवस्था छ । 

त्यस्तै, धारा ६० मा बहुमतको निर्णय पार्टी निर्णय हुने व्यवस्था छ । विधानको धारामा भनिएको छ, ‘एकताको राष्ट्रिय महाधिवेशन, अधिवेशन र बैठकमा सबै विषयमाथि छलफल गर्दा जनवादी प्रक्रिया अपनाइनेछ । निर्णय प्रक्रियामा मत विभाजन भएमा बहुमतको निर्णय पार्टी निर्णय हुनेछ ।’