१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ श्रावण १४ बुधबार १६:१७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कैलालीमा बाढी र डुबानले साढे नौ सय परिवार विस्थापित (तस्बिरसहित)

Read Time : > 1 मिनेट
२०७७ श्रावण १४ बुधबार १६:१७:००

बाढीले घर डुबानमा परेपछि कैलालीमा नौ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । 

मंगलबार रातिदेखि परिरहेको वर्षाका कारण नदीहरूमा आएको बाढी पसेपछि कैलालीको पूर्व र दक्षिणका अधिकांश भेग डुबानमा परेका छन् ।

भजनी नगरपालिका बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ । भजनीमा अहिलेसम्म साढे चार सय परिवार विस्थापित भएका रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । 

विस्थापितहरुलाई हुलाकी राजमार्ग र स्थानीय विद्यालयहरुमा राखिएको छ ।

भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीले भने विस्थापित परिवारको संख्या पाँच सयभन्दा बढी रहेको बताए । 
साबिकको थापापुर गाविस पर्ने वडा नम्बर ८ पुरै डुबानमा परेको चौधरीले जानकारी दिए । 

यस्तै वडा नम्बर २, ३, ६, ७ मा पनि अधिकांश बस्ती डुबानमा परेकाे नगरपालिकाले जनाएको छ । 

स्थानीय काँडा, पथरैया, कान्द्रा र मोहना नदीको बाढी बस्तीमा पसेपछि भजनीका अधिकांश क्षेत्र डुबानमा परेका हुन् ।

विस्थापितलाई हुलाकी राजमार्ग र स्थानीय विद्यालयहरूमा राखिएको छ । बाढी पसेकाले विद्यालयको तल्लो तलामा पनि बस्ने अवस्था नरहेको नगर प्रमुख चौधरीले बताए ।

‘हामी उद्धारमै खटिएका छौँ, कति परिवार विस्थापित भए अहिले भन्न सकिने अवस्था छैन,’ चौधरीले भने, ‘ठाउँको अभावले विस्थापितलाई राख्न पनि समस्या छ । डुबान क्षेत्रका विद्यालय भवनका तल्लो तलामा पूरै पानी पसेको छ ।’

भजनी वर्षायाममा जिल्लामै सबैभन्दा बढी डुवान हुने क्षेत्र हो । 

यस्तै जोशीपुर गाउँपालिकामा तीन सय ८४ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जोशीपुरको वडा नम्बर ३, ८ र ४ मा डुबान भएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए । बर्दगोरिया गाउँपालिकामा ८० घरधुरी विस्थापित भएका रिपोर्ट स्थानीय प्रहरी कार्यालयहरूबाट आएको विष्टले बताए । 

टीकापुर नगरपालिका वडा नम्बर १ मा मुक्त कमैया बस्तीका २२ घर विस्थापित भएका छन् । कर्णाली नदीमा पानीको सतह बढेपछि टीकापुर नगरपालिकाका केही बस्तीहरू जोखिममा परेका छन् । कैलारी गाउँपालिकामा बाढीले एउटा घर भत्केको प्रहरीले जनाएको छ । जोशीपुर र जानकी गाउँपालिकाका कतिपय बस्ती पनि डुबानमा परेका छन् ।

यता धनगढी उपमहानगरपालिकामा पनि अधिकांश क्षेत्र डुबानमा परेका छन् । धनगढीको पार्कमोड, एलएनचोकलगायत बजार क्षेत्र जलमग्न भएका छन् । 

यस्तै धनगढीको विशालनगर, बैय्याबेहडीलगायत क्षेत्रमा डुबान भएको छ । खोलानाला अतिक्रमणका कारण वर्षाको पानी निकास हुन नपाएपछि उपमहानगरका धेरैजसो क्षेत्र जलमग्न भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले विस्तापित परिवारको तथ्यांक लिने कार्य भइरहेको जनाएको छ । 

प्रशासनका सूचना अधिकारी शिवराज जोशीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली डुबान भएका क्षेत्रमा उद्धारमा खटिएका बताए । 

भजनी, टीकापुर, जोशीपुरलगायत बाढीबाट बढी प्रभावित क्षेत्रमा पीडितको उद्धारमा खटिनका लागि धनगढीबाट नेपाली सेना र सशस्त्र प्रहरीको सयजनाको टोली पठाइएको प्रशासनले जनाएको छ । 

मंगलबार रातिबाट सुरु भएको वर्षा बुधबार दिउँसोसम्म रोकिएको छैन ।