सवा चार लाख घनमिटर नदीजन्य पदार्थ उत्खनन प्रस्ताव
बाँकेका स्थानीय तहले विभिन्न नदी र खोलाबाट सवा चार लाख घनमिटर नदीजन्य पदार्थ संकलनका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइई) तयार पारेका छन् । राप्तीसोनारी गाउँपालिकाले कूल तीन लाख ५९ हजार सात सय ६७ घनमिटर ढुंगा, गिटी र बालुवा र डुडुवा गाउँपालिकाले कूल ६७ हजार पाँच सय घनमिटर ग्राभेल र बालुवा संकलनका लागि आइई तयार पारेको छ ।
दुवै गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र रहेका विभिन्न नदी, खोलाबाट नदीजन्य पदार्थ संकलनका लागि आइई तयार पारेर जिल्ला समन्वय समितिमा बुझाएका छन् । प्रतिवेदनअनुसार राप्तीसोनारी गाउँपालिकाअन्तर्गत राप्ती नदी तथा मुगुवा, खैरी, झिझरी र परुवा खोलाबाट वार्षिक रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने प्रस्ताव छ । वडा नम्बर ६ र ७ स्थित राप्ती नदीको ५८ हजार चार सय ६५ वर्गमिटर क्षेत्रफल, वडा नम्बर २ स्थित मुगुवा खोलाको ५१ हजार वर्गमिटर संकलन गर्ने प्रस्ताव छ ।
वडा नम्बर २ कै खेरी खोलामा नौ हजार तीन सय ८९ वर्गमिटर, वडा नम्बर ८ र ९ को झिझरी खोलामा ३३ हजार ८६ र वडा नम्बर ८ को परुवा खोलामा १४ हजार आठ सय आठ वर्ग मिटर क्षेत्रफलमा उत्खननको प्रस्ताव छ । सो प्रतिवेदनको वैधानिकता आइई स्वीकृत भएको मितिले दुई वर्षसम्म वा नदी तथा खोलाको भौगर्भिक आवश्यकताअनुसार एक वर्षमा पनि गर्न सकिने उल्लेख छ ।
त्यसैगरी, डुडुवा गाउँपालिकाले वडा नं. २, ३, ४ र ५ को रमपुरवा, कटैहिया, दासपुरवा, सिधनियाघाट र खजुरा गौढीबाट तथा डुडुवा खोलाअन्तर्गत गाउँपालिकाको वार्ड नं. १ र ३ को खडैचा तथा पिप्रहवाबाट बालुवा संकलन गर्न क्षेत्रफल प्रस्ताव गरिएको छ । प्रतिवेदनको वैधानिकता आइई स्वीकृत भएको दुई वर्षसम्म बालुवा संकलन गर्न सकिनेछ ।